सुशीला रेग्मी
रामपुर (पाल्पा), असार ५

रामपुर नगरपालिका वडा नं ७ को वडा सभा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी वडा सभा आयोजना गरिएको छ । वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा सभा भएको हो । आर्थिक वर्ष २०८०÷०८१ का लागि १४ वटा टोलबाट सङ्कलन भएका १४७ वटा आर्थिक, सामाजिक, पुर्वाधार, सुशासन तथा संस्थागत विकास लगायतका योजना वडाध्यक्ष तिवारीले पढेर सुनाउनुभएको छ ।
वडाध्यक्ष तिवारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सामग्री, मल, उन्नत वीउ तथा अन्य कृषि सामग्री समयमा नै सबै किसानलाई पुग्ने गरी उपलब्ध गराउने, वीउ उत्पादन पकेट क्षेत्र छनौट गरी वीउविजन उत्पादनका लागि विशेष प्राथमिकता दिने, व्यावसायीक कृषि तथा पशुफार्मलाई प्रोत्साहन, कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रिकरणमा जोड, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था, एक वडा एक उत्पादनमा जोड दिइएको बताउनुभएको छ । त्यस्तै नगरपालिका भित्रको एकमात्र औद्योगिक ग्राम विरेन्द्रटारलाई सम्पन्न गरी उद्योग सञ्चालनका लागि आवश्यक पहल गर्ने, आन्तरिक पर्यटकलाई प्रोत्साहन गरी वन्जिजम्प, प्याराग्लाईडिङ, जिपलाईन अध्ययन गरी सञ्चालनका लागि जोड दिने, दशावतार वालनधाम संग्राहालय सहितको भवन निर्माणका लागि पहल गर्ने, वडाभित्रका धार्मिक, साँस्कृतिक र पुरातात्विक मठ मन्दिर आदिको संरक्षण र प्रचार प्रसार गरिने योजना समेटिएको छ ।
मापदण्ड पुरा भएका सडकको क्रमशः पक्की नालीसहित कालोपत्रे, वडाभित्र खानेपानीको पहुँच नभएका ठाउँमा लिफ्टिङ खानेपानीको व्यवस्था, सडकमा आवश्यकताको आधारमा कल्भर्ट तथा पुल निर्माण, संघ संस्था तथा विद्यालयहरुमा अपाङ्गमैत्री बालमैत्री संरचना निर्माण गर्ने नीति, अधुरो कर्वडहल सम्पन्न गर्न पहल गर्ने, सबै ठाउँमा स्वास्थ्य पहुँच पु¥याउने, सरसफाई, शैक्षिक गुणस्तर बृद्धि, अनाथ तथा असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, युवाहरुका लागि खेलकुदमा विशेष जोड, बालमैत्री वडा अवलम्वन गर्नका लागि आवश्यक पहल गर्ने, वडाभित्र रहेका धार्मिक, साँस्कृतिक र पुरातात्विक स्थललाई संरक्षण, संवद्र्धन गरी प्रचार प्रसार गरिने लगायतका योजना वडाले अघि सारेको छ ।
वडा नं ७ मा यस आर्थिक वर्षको साउनदेखि हालसम्म नागरिकताको सिफारिस ३७२, सुचना तथा पत्र दर्ता संख्या ६९, चलानी संख्या एक हजार ३६२ रहेको पाइएको छ । जन्मदर्ता ७२, मृत्युदर्ता २०, विवाहदर्ता ३१, सम्बन्धविच्छेद पाँच, बसाईसराई आएको १९, बसाईसराई गएको १२ रहेको वडाले जनाएको छ । वडा नं ७ मा हाल ८८५ घरधुरी रहेको छ भने चार हजार छ सय अनुमानित जनसंख्याको बसोबास रहेको पाइएको छ ।
वडा सभामा अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराई, नेपाली कांग्रेस वडा सभापति दुर्गाप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष रमेश सुनार, समाजसेवी सुकदेव पोखरेल, टोल विकास संस्थाको तर्फबाट मिलनटोल विकास संस्थाका संयोजक सुभास थापा लगायतले बोल्नुहुदै वडामा प्राथमिकताको आधारमा देखिने गरी योजना सञ्चालन गर्न सुझाव दिनुभएको छ । किसानवारीमा रहेको योगहलमा भएको कार्यक्रममा कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले स्वागत, वडा सदस्य मिठ्ठुमाया सुनारले धन्यवाद दिनुभएको सभाको सञ्चालन वडा सचिव गिता पौडेलले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय