किसानलाइ बाँदर धपाउने यन्त्र वितरण

सीता डोटेल

पाल्पा, असार १३

पाल्पा जिल्लाको रामपुर नगरपालिकाको माथिल्लो भाग तथा फाँटको कालीगण्डकी नदी किनार जंगल संग जोडिएका बस्तीका किसानका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ ।
कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थालेपछि समस्यामा रहेका कृषकहरुको सहजताको लागि नगरपालिका र वडाहरुमा समन्वय गरी फाउण्डेशनले उपकरण वितरण गरेको हो । रामपुर ५ बेझाँडका जायश्वर पाण्डे र तिर्थराज पाण्डे (दाजुभाई) ले तयार गरेको उपकरण फाउण्डेशनले बाँदर प्रभावित टोलमा एक /एक वटाको दरले वितरण गरेको हो ।

पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर तयार गरेको उपकरण एकहप्ता अघि नगरपालिकाले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको रहोबरमा परीक्षण गरेको थियो । परिक्षण पश्चात थप निर्माण गर्न लगाई फाउण्डेशनले नगरपालिका संग समन्वय गरी कृषकहरुलाई वितरण गरेको हो । पहिलो चरणमा शुक्रबार फाउण्डेशनको कार्यालय रामपुर ५ नहर अफिसमा कार्यक्रम गरी वडा नं. १, ३, ४, ५ र ७ का कृषकहरुलाई वितरण गरिएको छ ।

कृषकहरुलाई यन्त्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगतका वर्ष देखि बाँदर आतंक रोक्न नगरले बजेट विनियोजन गरे पनि उपयुक्त सामाग्री खरिद गर्न नसकिएको बताए । उनले स्थानीय युवाहरुले तयार गरेको यन्त्रले कृषकहरुलाई राहत मिल्ने विश्वास लिए । फाउण्डेशनले गरेका कामको प्रशंसा गर्दै नगर प्रमुख थापाले कृषकहरुलाई यन्त्रको सहिसदुपयोग गर्न आग्रह गरे । थापाले नगरपालिकाले यन्त्रहरुको प्रयोगको अवस्था, प्रभावकारीता बारे नगरले निगरानी राख्ने बताए । साथै थापाले बाँदर आतंक नियन्त्रणका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताए ।
कार्यक्रममा डिजिटल माध्यमबाट जोडिएका कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दिप रानाले पुस्तौ देखि झेल्दै आएको समस्या समाधानमा केही हद सम्म राहत मिल्ने बताए । उनले विदेश पलायन भैरहेका युवा पछिल्लो समय गाउँ फर्किने क्रम बढेको भन्दै उनीहरुलाई कृषिमा व्यवसायिक बन्न यन्त्र उपकरणले थप उत्प्रेरणा जगाउने बताए ।
नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले कृषकहरुले विगत देखि पशु चौपायाको सिङ, पाईप फुकेर वा भाँडा बजाएर धपाउने प्रयास गरेकोमा यस उपकरणले थप टेवा पुग्ने बताए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले युवाहरुले कृषकहरुको सहजताको लागि गरेको प्रयास अति सह्रानीय रहेको बताए ।
कार्यक्रममा यन्त्र निर्माण गर्ने युवा जायश्वर पाण्डेले उपकरणको प्रयोग र प्रभावकारीताका बारेमा बताएका थिए । रामपुर ७ का कृषक कर्ण बहादुर लुईटेलले माथिल्लो भागको बस्ती पातलिदै जाने र बनहरु बढ्दै जाँदा बाँदर लगायत अन्य वन्यजन्तुले निकै सास्ती दिने गरेको बताए । उनले उपकरणले केही भए पनि राहत मिल्ने विश्वस लिएको बताए । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने विश्वास लिईएको छ ।

Check Also

भवानी माबिका बिद्याथीेहरूलाइ रेडियाे बितरण

बिष्णु खनाल रिब्दिकाेट गाँउपालिका ५ कुसुमखाेलामा रहेकाे भवानि माबिका बिद्याथीेहरूलाइ रेडियाे बितरण गरिएकाे छ । …

error: Content is protected !!