सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ जेठ
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजु त्रुटीका सम्बन्धमा रामपुर नगरपालिकाले पत्रकार भेटघाट गरी जानकारी गराएको छ । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको हुदा यस विषयमा महालेखा परीक्षकको कार्यालयले सच्याएको प्रतिवेदन पत्रकार समक्ष नगरपालिकाले प्रष्ट पारेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको र सोही प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भएपछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिवार नगरमा क्रियाशिल राजनैतिक दलको सहभागीतामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बेरुजु तीन करोड ४७ लाख ७३ हजार र यस अघिको अद्यावधिक बेरुजु छ करोड ५० लाख १० हजार गरी कुल नौ करोड ९७ लाख ८३ हजार हुनुपर्नेमा यसअघि प्रतिवेदनमा कुल ६६ करोड ८० लाख ७ हजार हुन पुगेको थियो । महालेखाले प्रतिवेदनको विवरण सुधार गरे संगै नगरपालिकाले बेरुजुको अवस्थाको बारेमा पत्रकार माझ स्पष्ट पारेको छ ।
गतवर्षको तीन करोड ४७ लाख ७३ हजार बेरुजुमध्ये १० लाख १२ हजार असुल उपर गर्नु पर्ने, ८० लाख १८ हजार प्रमाण कागजपत्र पेश गर्नुपर्ने र दुई करोड ५७ लाख ४३ हजार नियमित गर्नुपर्ने बेरुजु रहेको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेले सुरु देखि नै थपिदै आएको बेरुजु र गत वर्षको बेरुजुमा अल्या गर्दा त्रुटी देखिएको , पहिला सार्वजनिक गरेको प्रतिवेदनमा त्रुटी देखिएपछि महालेखा परीक्षकको कार्यालयलाई पत्राचार गरेपछि सच्चिएर आएको बताउनुभएको छ ।
“प्रतिवेदनको माथिल्लो भाषामा तथ्याङ्क सही भए तालिकामा फरक पर्दा समस्या आएको भन्दै व्याय अनुसार बेरुजु कायम हुनुपर्नेमा अन्यथा भएकाले प्रतिवेदन र वेव साईटको सूचना संशोधन गरिएको पत्र महालेखाबाट प्राप्त भएको छ” प्रमसख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो ।
आर्थिक वर्ष ०७७÷७८ मा ५६ लाख बेरुजु समपरिक्षण भएको र अन्य बेरुजु फस्र्यौटका लागि पनि पहल गरिने प्रतिबद्धता जनाउनुभयो । आन्तरिक नियन्त्रण, आन्तरिक लेखा परिक्षण र संवैधानिक निकाय गरी बेरुजु तीन किसिमको हुने न्यौपानेले बताउनुभयो ।
नगर प्रमुख रमणबहादुर थापाले संचारकर्मीले एक पक्षीय नभई सरोकारवाला निकायसंग पनि सोधपुछ गरेर समाचार तयार पार्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयले अघिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा धेरैको अन्तर पर्ने गरी त्रुटी देखिएपछि सच्याएर आफ्नो वेवसाइटमा अपडेट गरेको नगर प्रमुख थापा बताउनुहुन्छ । विधी तथा प्रक्रियाको विषयमा ज्ञान नहुँदा सैद्धान्तिक बेरुजु बढेको देखिएको बताउँदै बेरुजुलाई शुल्यमा पु¥याउने प्रयास गर्ने नगर प्रमुख थापाले बताउनुभयो ।
“बेरुजु असुल उपर गर्नुपर्ने, कागजात पेश गर्नुपर्ने र नियमित गर्नुपर्ने हुन्छन्, तर बेरुजु भनेको सबै भ्रष्टाचार ग¥यो भन्ने मात्रै नकारात्मक टिप्पणीहरु जाने बुझेका जिम्मेवार व्यक्तिहरुबाट हुदा यसलाई सामाजिक संजालमा लेखेर टिकाटिप्पणी गर्नुभन्दा नगरपालिका कार्यालयमा आएर गल्ती औल्याएर समस्याको समाधान गर्नका लागि नगरवासीसंग सुझावको अपेक्षा छ” उहाँले भन्नुभयो ।
वजेटको प्रतिशतको आधारमा रामपुर नगरपालिका पाल्पा जिल्लाका दश पालिकामध्ये सबैभन्दा कम बेरुजु भएको पालिका भएको नगर प्रमुख थापाले पत्रकार भेटघाटमा जानकारी गराउनुभयो ।
पत्रकारहरुले राखेका जिज्ञासामाथि आन्तरिक लेखा परीक्षक हृदयश पन्थीले जवाफ दिनु भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय