पाल्पाका स्थानीय तहमा १५ गते मगर दिवसको विदा

0

पाल्पा, फागुन १४
पाल्पामा फागुन १५ गते बिहिवार स्थानीय विदा हुने भएको छ । जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकाले बिहिबार स्थानीय विदा दिने निर्णय गरेका हुन् । यस्तै पाल्पाकाे माथागढी, रम्भा र तिनाउँ गाउँपालिकाले पनि १५ गते स्थानीय विदा दिने निर्णय गरिसकेका छन् ।
३८ औं राष्ट्रिय मगर एकता दिवसको दिन जिल्लाका स्थानीय तहका कार्यालयमा विदा हुने भएको हो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १५ मा सार्वजनिक विदा दिएको जानकारी गराएका छन् । थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा नगर क्षेत्रभित्र मगर समुदायको बाहुल्यता रहेकोले नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय गरिएको बताईएको छ ।
निस्दी गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले स्थानीय तहमा विदा गर्ने निर्णय भएको र उक्त दिन निस्दी–४, मित्याल झ्यालटुङ्गमा विभिन्न झाकीहरु समेत प्रस्तुत गरिने बताए । २०६८ सालको जनगणना अनुसार निस्दी गाउँपालिका पाल्पामा ८७ प्रतिशत मगर जातिको बसोबास रहेको तथ्यांक छ । पूर्वखोला गाउँपालिकाका प्रवक्ता निर बहादुर सारुले पूर्वखोलामा ८४ प्रतिशत मगर समुदाय रहेको र उक्त दिन विभिन्न कार्यक्रम सहित मगर दिवस मनाउने गरि स्थानीय विदा दिएको बताए ।