सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ जेठ

पाल्पाको रामपुर नगरपालिका ४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बहेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा वस्ती जोखिममा परेको छ ।
खोला कटानका कारण खेतमा लगाइएका धानबालीमा बाढी पसेपछि उत्पादन नै स्याहार्न नपाउँने अवस्था रहेको गुनासो पोख्नुहुन्छ, स्थानीय चन्द्रबहादुर श्रेष्ठ । उहाँको छ रोपनी खेतखण्ड जोखिममा छ । तीनवर्ष देखि खोलाले धार परिवर्तन गरेर खेत कटान गर्न थालेपछि वर्षायाममा खोलाको बाढी पसेर धानबालीमा क्षती पु¥याउने गरेको श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पहिलाको ठाउँबाट करिव १२ मिटर दक्षिणतर्फ खोला पसेर खेतमा लगाइएको धान सबै बाढीले नष्ट गरिरहेको छ, दुख गरेर लगाइएको बाली क्षणभरमा नै बाढी पसेर नोक्सान गरिरहेको छ, एक वर्षमा ४० मुरी धान फल्ने खेत पुरै जोखिममा छ” ।
कटान रोक्नलाई उहाँ आफैले रु एक लाख ५० हजार बराबरको रकम खर्चेर तटबन्ध गरेतापनि धेरै ठाउँमा तटबन्ध गर्नुपर्दा आफ्नै लगानीमा काम गर्न समस्या भएको श्रेष्ठले बताउनुभयो । वर्षायाम सुरु भएपछि महम्मद वकिल मियाँ रातभर ढुक्कले निदाउन पाउनु हुदैन । गलमादी खोलाको ढिकमा बसोबास गर्दै आउनुभएका उहाँलाई खोलामा पानीको बहाव बढेर आउँदा कतीबेला पहिरो खसेर घर नै लैजाने हो भन्ने चिन्ताले सताउँने गर्छ ।
“खोलाको ढिकमा नै बसोबास छ, वर्षायाम लागेपछि तलबाट खोलाले कटान गरिरहेको हुदा जोखिम मोलेर बसोबास गर्नु परेको छ, सम्बन्धित निकायले यसको समस्या समाधानमा ध्यान दिनुप¥यो” उहाँले भन्नुभयो ।
मियाँको बारीखण्ड अन्तर्गत दुई रोपनी १२ आना घरसहितको जग्गा जोखिममा छ । विसं २०५४ देखि बसोबास गर्दै आएको जग्गा पछिल्लो तीनवर्ष यता बस्न जोखिम बढ्दै गएको उहाँले बताउनुभएको छ । वर्षा सुरु भएपछि पहिरो घरसम्म नै आउँछ कि भन्ने त्रासले धेरै रात उहाँको परिवार नसुतेरै बस्नुपर्छ ।
गलमादी खोलाको कटानबाट खेतखण्ड (खोला बहेको स्थान तलको भाग) र बारीखण्ड (खोलामाथिको भाग) गरी करिव ४० रोपनी जोखिममा छ । करिव एक सय ५० मिटर क्षेत्रफल खोलाले कटान गरेको छ । खोलाले मुख्य बहेको ठाउँ परिवर्तन गरी देवबहादुर आलेको छ रोपनी, मेगबहादुर आलेको छ रोपनी र चन्द्रबहादुर आलेको छ रोपनी खेततर्फ जग्गा मिचेर खोला नै बहेपछि स्थानीय समस्यामा परेका छन् ।
बारीखण्ड अन्तर्गत (माथिल्लो भाग) सूर्यबहादुर घर्तीको तीन रोपनी, पतिराम गाहाको तीन रोपनी, महम्मद वकिल मियाँको दुई रोपनी १२ आना, हुमबहादुर आलेको तीन रोपनी (घरसहित), सुमन आलेको साढे दुई रोपनी (घरसहित), यमबहादुर आलेको पाँच रोपनी (घरसहित) जग्गा सहित यहाँका करिव एक दर्जन वस्ती जोखिममा छन् ।
खोलाले कटान गरेको क्षेत्र, यस आसपासका क्षेत्रका खेतबारी तथा वस्ती जोखिममा परेपछि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बिरबहादुर रानाले स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले कटान रोक्नका लागि प्रदेश सरकारमार्फत यसअघि वजेट विनियोजन गरेर केही कामहरु भइरहेको र यसलाई पुन ः वजेट विनियोजन गरेर तटबन्धको कामलाई निरन्तरता दिइने बताउनुभएको छ ।
“कटान क्षेत्र अनुगमन गर्दा खेतीयोग्य जमिन मात्र नभई यस आसपाससंग जोडिएका (माथिल्लो भागबाट पहिरो खसेर) वस्ती जोखिममा छन्” उहाँले भन्नुभयो,“कटान गरेको ठाउँमा तटबन्ध गर्ने र पहिरो गएको ठाउँमा तारजाली लगाएर व्यवस्थित गर्नुपर्छ, यसको लागि प्रदेश सरकारबाट मैले वजेट व्यवस्थानमा पहल गर्नेछु” ।
यहाँ तत्काल कटान गरेको ठाउँमा व्यवस्थित तटबन्ध नगर्ने हो भने यसले धेरै ठाउँमा कटान गरी ठूलो क्षती पु¥याउँनेछ । आर्थिक वर्ष २०७९÷०८० मा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु दश लाख रकमले तटबन्धको काम गरेको रामपुर ४ का वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “यस खोलाले यस क्षेत्रमा तीन ठाउँमा घरवस्ती नै उच्च जोखिममा पारेको छ, यसलाई समयमा नै व्यवस्थापन र संरक्षण गर्न सकिएन भने वस्ती नै पहिरोले लैजाने अवस्थामा रहेको छ” ।
सानो रकमबाट तटबन्ध नहुने हुदा ठुलो रकमका लागि माथिल्लो निकायले नै वजेट उपलब्ध गराउनुपर्नेछ । वर्षायामको समय नजिकिदै गर्दा यस क्षेत्रका स्थानीयलाई त्रास उत्तिकै बढेको छ । रामपुरको धान उत्पादनका लागि उपयुक्त मानिएको यस क्षेत्रमा कटानको समस्याले उत्पादनमा ह«ास ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय