हावाको बिजुलीले गाउँपालिका उज्यालो -भिडियाे सहित

0

पाल्पा, माघ १५
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङको अन्त्य बताउँने कुरा देशभर चर्चाको विषय बन्यो । हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने धेरैलाई हावादारी गफ नै लाग्छ । तर एक वर्ष भित्र लोडसेडिङ्ग अन्त्य भएपनि नभएपनि हावाबाट विजुली निकाल्न भने सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ, पाल्पाको निस्दी गाउँपालिका ।

मगर समुदायको बस्ती रहेको रुक्सेभञ्याङ्गडाँडामा तीन पङखा घुमिरहेका छन् । दुई ठूला पङ्खा र एउटा सानो पङ्खा चलेका छन् । तर यो कुनै विद्युत शक्तिले होईन । हावाले घुमिरहेका छन् । विद्युत शक्ति उत्पादन भैरहेको छ । जहाँबाट उत्पादित विद्युत समेत यहिँ प्रयोग गरिएको छ । यसबाट यहाँका स्थानीयबासी समेत दङ्ग छन् ।
निस्दी गाउँपालिका–४, मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । गाउँपालिकाको केन्द्र रहेको रुक्सेभञ्याङ्गमा हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणाली मार्फत् १० किलोवाट क्षमताको बिजुली निकालिएको छ । २०७३ मा नै यसै स्थानमा १२ सय किलोवाट हावाबाट विद्युत निकालेर प्रयोग गरिँदै आएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अध्ययनमा वायु उर्जाको प्रशस्त सम्भावना रहेको देखिएपछि पूनः २५ किलोवाट क्षमताको विद्युत निकालिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको एक करोड ८० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख १३ हजार ८ सय रुपैयाँको लागतमा हावाबाट बिजुली निकालिएको हो ।
यहाँ हावाबाट निस्केको बिजुलीबाट १ सय ५० घरले बत्ती बाल्न थालेका छन् । निस्दी गाउँपालिकाका रुक्सेभञ्ज्याङ, झ्याल्टुङ, मौलाथर, घुम्सीवर र मित्याल बजारमा विद्युत वितरण गरिएको छ । करिब साढे दुई वर्षअघिदेखि सुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ । विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए । राष्ट्रिय प्रशारणको विद्युत नभएको स्थानका ८ सय जनसंख्या लाभान्वित भएको सुनारीले बताए ।
बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ । निस्दी गाउँपालिकाको कुनै पनि स्थानमा अहिलेसम्म राष्ट्रिय प्रशारणको विद्युत भने पुग्न सकेको छैन । रुक्सेभञ्याङ्गमा पीडा नेपालको प्राविधिक सहयोगमा कापेक संस्थाले तीन वर्ष अगाडीदेखी हावाबाट विद्युत निकाल्दै आएको थियो । जसका लागि जर्मनीको विसिन्सले समेत सहयोग पु¥याएको थियो । सो विद्युत आठ लाख रुपैयाँको लगानीमा निकालिएको थियोे । पहिले निकालिएको विद्युत निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा यो विद्युत प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए ।
हावा र सौर्य शक्तिको प्रयोगबाट विद्युत उत्पादन सफल देखिएपछि अहिले २५ किलोवाटको विद्युत निकालिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनी भन्छन्, ‘निस्दीका धेरै स्थानमा हावाबाट विद्युतको सम्भाव्यता देखिएको छ । अहिले हामीले १ सय ५० बढी घरधूरीमा वायु उर्जाको प्रयोगबाट विद्युतिकरण गरेका छौं ।’ अहिलेसम्म केही ठाउँमा लघु जलविद्युतबाट विद्युतिकरण हुँदै आएको थियो, अब वायुउर्जाले सहयोग मिलेको छ, अध्यक्ष सारुले भने । उनले गाउँपालिकाको ४२ लाख रुपैयाँ र बाँकी वैकल्पिक उर्जाबाट २५ किलोवाट विद्युत निकाल्न थालिएको बताए ।
हावा र सौर्य शक्तिको प्रयोगबाट बिजुली निकालिएसँगै वडाका कामकाजमा सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए । उनी भन्छन्, ‘कम्प्युटर तथा फोटोकपि चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको कामसमेत सहज भएको छ । वडामा जतिबेला पनि विद्युत आपूर्ती भैरहेको छ ।’ निस्दीको यहि क्षेत्रमा सौर्य र वायु उर्जाको अन्य सम्भावना पनि देखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।
जिल्ला सदरमुकाम तानसेनबाट ७४ किलो मिटरपूर्व मित्यालमा हावाबाट विद्युत निकालेर प्रयोग गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वक्र्स प्रालि, विराटनगरले काम गर्ने ठेक्का लिएको थियो । एक वर्ष अगावै सक्ने गरि गरिएको कार्य बाहिरी मुलुकबाट सामान मगाउँदा केही ढिलाइ भएको काम गर्ने कम्पनीले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले वायुउर्जाले यसभेगमा बसोबास गर्ने समुदायलाई प्रत्यक्ष फाईदा पुगेको बताए ।
कसरी निस्कन्छ हावाबाट बिजुली
तिब्र गतिमा चल्ने हावाबाट धेरै विद्युत निकाल्न सकिन्छ । वैकल्पिक उर्जाको रुपमा रहेको वायु उर्जालाई हावा वहने गाउँ गाउँमा जडान गर्न सकिन्छ । सात वर्षअघि भएको एक अध्ययन अनुसार देशमा ३ हजार मेगावाट वायु उर्जा निकाल्न सकिने संभावना छ । पहाडका अग्ला डाँडा र नदीका खोंचमा निरन्तर हावा चलिरहने गर्दछ । जुन वायु उर्जा कहिल्यै पनि सकिँदैन । हावाको गति अनुसार नै विद्युत उत्पादन हुन्छ । यसका लागि वायुपंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ । वायु उर्जाले न्यूनतम शक्तिका बल्व बाल्न, टिभि हेर्न र मोवाइल चार्ज गर्न मिल्छ । अग्लो डाँडामा वायुपंखा फिटिङ्ग गर्ने जसबाट कन्ट्रोलर हुँदै व्याट्रीसम्म तार लैजान सकिन्छ । उक्त व्याट्रिबाट आवश्यकता अनुसार विद्युत प्रयोग गर्ने स्थानमा लैजान मिल्छ ।