कांग्रेस पाल्पाका पूर्व सभापतीकाे निधन

0

पाल्पा — पूर्वसांसद तथा कांग्रेसका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंमा शनिबार राति निधन भएको हो । मधुमेह, उच्च रक्तचाप, मृृगौला लगायतबाट बिरामी परेका ७६ वर्षीय कार्की लामो समयदेखि उपचारमा थिए ।

प्रजातन्त्र पुनः स्थापनापछि २०४८ सालमा उनी पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निवार्चित भएकाथिए। २०५१ देखि २०५६ सालसम्म कांग्रेस जिल्ला सभापति भए।
रम्भा गाउँपालिका–५, ताँहू स्थायी घरभई तानसेन आँपटारी बस्दै आएका कार्की केही महिनाअघि मात्र उपचारका लागि काठमाडौं गएका थिए।

कांग्रेस जिल्ला सभापति बीरबहादुर रानाले कार्की सरल, सक्रिय, हठी स्वभावका साथै ठट्यौली पारामा जनताको मन जित्न सक्ने नेता रहेकाे बताए। उनका सहकर्मी ताहुँकै मोहनप्रसाद श्रेष्ठका अनुसार २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर चुनाव लडेका कार्की विजयी भएका थिए।
आइतबार दिउँसो पार्टीका शीर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर अन्त्येष्टि गरिने कार्यक्रम छ।
कांग्रेस जिल्ला समितिले विज्ञप्तिमार्फत् कार्कीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरेको छ। पार्टीका जिल्ला सचिव झपेन्द्र गहिरेले कार्कीको श्रद्धाञ्जली स्वरुप कार्यालय बन्द गर्ने, पार्टीको आधा झन्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने बताए।