२० वर्षमै दुई सन्तानकी आमा

0

बालविवाह न्यूनिकरण हुन सकेन
पाल्पा, माघ ७
दुई बच्चाकी आमा अनिता घर्ती २० वर्षकी भईन् । उनको जेठो छोरा २ वर्षको पुग्यो । काखमा भएको छोरी बल्ल चार महिनाकी भईन् । विवाह भएको दुई वर्ष पुग्यो । श्रीमान् पाल्पा सिमेन्ट उद्योगको खानीमा काम गर्छन् । माथागढी गाउँपालिका–६, गोठादीकी घर्तीले श्री सातपोखरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनका क्रममा विवाह गरिन् । तर यस स्थानकी उनी एक्लीपात्र भने होईनन् ।
माथागढी गाउँपालिका–५, दमारकी सरिता रेश्मीले २० वर्ष नपुग्दै विवाह गरिन् । उनको काखमा छोरा हुर्किरहेको छ । रेश्मी बल्ल १८ वर्षकी पुगिन् । यस्तै १८ वर्षमै माथागढी–६ शारदा बाह्रघरेले छोरा जन्माईसकेकी छिन् । उनीजस्तै उमेरमा छोरा हुर्काईरहेकी छिन् अस्मिता गाहा । पढ्ने उमेरमा किशोरीहरु छोराछोरी लिएर अस्थायी बन्धाकरण शिविरमा पुगेका थिए ।
माथागढी गाउँपालिकाको प्राय सबै वडामा बालविवाहको समस्या व्याप्त छ । यहाँका अधिकांश किशोरकिशोरीहरुले साथीभाईको लहलहैमा लागेर पढ्दा पढ्दै आँफै विवाह गरेको बताउँछन् । १८ वर्षमै विवाह गरेकी एक किशोरीले भनिन्, पारिवारिक बन्धनमा बस्न निकै कठिन हुने रहेछ ।अहिले श्रीमान् बाहिर हुनुहुन्छ, बाहिर जाने मान्छेले संकाको दृष्टिकोणले हेर्दा रहेछन् उनले भनिन् । पढ्ने रहर भएता पनि विवाह पछि सबै सपना चकनाचुर भयो । अहिले आमा बनेको कारण जिम्मेवारी थपिएको महशुस भएको छ ।
पाल्पा जिल्लामा बालबिवाहको मुख्य कारण पारिवारिक दबाब, लहलहै र आर्थिक कारणहरु रहेको इन्सेकका जिल्ला प्रतिनिधी यज्ञमूर्ती तिमिल्सिनाले बताए । उनी भन्छन्, ‘लैङ्गिक विभेद, असमानता, गरिबी, अशिक्षा र संस्कारजन्य कारण जिल्लाले बालबिवाहलाई प्रोत्साहन भैरहेको छ । यसका विरुद्ध खबरदाबी सबै तह र तप्काबाट स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ ।’ पाल्पा मगर समुदायको बाहुल्यता रहेको कारण निकै कम मागी विवाह गर्ने चलन हुने गरेको छ । बालबालिकाहरुले सानै उमेरमा विवाह गरेपछि विवाहपछि उनीहरुले विद्यालय पढ्न समेत छाडेका छन् । घर परिवारको अनुमति विना नै बालबालिकाहरुको विवाह हुन्छ, अभिभावकले विवाह गरी आएका बालबालिकाहरुलाई तिमीहरु साना छौं भनेर सम्झाउने बुझाउने पनि कम हुन्छ, तिमिल्सिनाले भने । धर्म, संस्कृत र परम्परागत कारण पनि बालबिवाह हुने गरेको छ । त्यस्तै पारिवारिक दबाब, साथीहरुको लहलहै, देखासिकी, गरिबी, अशिक्षा, अन्धविश्वास, सामाजिक सञ्जालका कारण बालबिवाह बढिरहेको पाईन्छ । बालबिवाहले महिलापुरुष दुवैलाई प्रभाव पारेता पनि महिलाहरु बढी पीडित बनेको पाईन्छ । बालमैत्री स्थानीय शासनको आवाज उठीरहेको समयमा बालबालिकाको बाँच्न पाउने, विकास, संरक्षण र सहभागिताको अधिकार समेत बालबिवाहले अवरोध सिर्जना गरेको पाईन्छ ।
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले मगर समुदायमा बालविवाह भएको तथ्याङ्कमा देखिएको र यसको न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताए । बालविवाहको तथ्याङ्क संकलन गरिरहेका छौं । बालमैत्री गाउँपालिकाको एउटा सूचक पनि भएकोले हामी एकीन तथ्याङ्क आईसकेपछि यसलाई निर्मूल पार्न अभियान नै चलाउँदै छौं । ‘बालबिवाह भएको भोजमा जनप्रतिनिधी तथा कर्मचारीहरु सहभागी हुने गरेका छैनौ, अध्यक्ष थापाले भने, बालबालिका तथा महिलाहरुको बजेटबाट सचेतनाका कार्यक्रम हुँदै आएको छ । स्थानीय सरकार आईसकेपछि केही कमी हुँदै गएको छ ।’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले सानै उमेरमा गरिने विवाहले छिटो बच्चा जन्मिने जसका कारण मातृमृत्युदर र शिशुमृत्युदर समेत उच्च बनेको बताए । उनी भन्छन्, ‘बालविवाहले स्वास्थ्य, सामाजिक, आर्थिक समस्या देखिएका छन् । किशोरकिशोरीहरु बिचमै पढाई छाड्ने, वैदेशिक रोजगार बढ्ने, सम्बन्ध विच्छेदका घटना बढ्ने तथा आत्महत्या हुनेजस्ता नकारात्मक असर देखा पर्ने गरेको छ ।’
जिल्लाको मगर, कुमाल र दलित समुदायमा सानै उमेरमा भागेर विवाह गर्ने चलन अहिल पनि रहेको छ । पूर्वखोला गाउँपालिका–४, देवीनगरकी रिता थापाले कलिलै उमेर विवाह गर्दा अनिच्छित गर्भधारण, अपरिपक्वता, आम्दानीको श्रोत नहुने जस्ता समस्या देखिएको बताईन् । उनी भन्छिन्, ‘सानो उमेर विवाह गर्दा घर परिवारमा समस्या हुनुका साथै जागिर नहुने र श्रीमान पनि सानै हुदाँ झनै समस्या हुने रहेछ ।’ पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कुमाल समुदायमा एक वर्ष अघिसम्म पनि १२ देखि १८ वर्षकै उमेरमा विवाह गर्नेको संख्या उच्च रहेको स्थानीय नारायण कुमालले बताए । उनी भन्छन्, ‘अतिविपन्न र पछाडी परेको समुदाय भएका हुदाँ यो समुदायमा चेतनाको कमीकै कारण शिक्षाको पहुच नहुँदा बाल विवाह हुने गरेको छ । गाउँपालिका मार्फत सचेतनामुलक कार्यक्रमले भने यसमा कमी आएको छ ।’
माथागढीमा बालविवाहका कारण किशोरीहरुले समस्या खेप्नु परेको ठहर गर्दै नेपाल परिवार नियोजन संघ पाल्पाले, स्वास्थ्य कार्यालयसँगको समन्वयमा गरेको स्थायी तथा अस्थायी बन्धाकरण शिविर आयोजना गरेको थियो । आईतबार सम्पन्न शिविरमा ४३ जना सेवाग्राहीहरुमा उमेर नपुगेका ८ बढी किशोरीहरुले सेवा लिएको बताईएको छ । संघका शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले यौन र प्रजनन शिक्षाको कमी, सामाजिक र साँस्कृतिक कारणहरुले गर्दा पनि बालविवाह भैरहेको बताए । उनी भन्छन्, ‘२० वर्ष मुनीको विवाहका कारण गर्भपतन गराउनेहरुको संख्यामा समेत वृद्धि हुने गरेको छ । सानो उमेरमा गर्भाधारण हुँदा महिलाहरुमा आङखस्ने, पाठेघर खस्ने र समग्र स्वास्थ्य प्रणाली नै बिग्रिन सक्छ । लैङ्गिक असन्तुलन बालविवाहको कारक तत्व हो ।’
जिल्लाका ग्रामीण भेगहरुमा हरेक वर्ष कलिलो उमेरमै विवाह गरि जन्मिएका १२ देखि १५ नवजात शिशुको मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । जिल्लाको कचल, कोलडाँडा, सत्यवती, बल्ढेगंढी, जुठापौवा, कसेनी, बाकामलाङ्ग, सहलकोट, मित्याल, भिरुबास, गोठादी, पोखराथोक, जल्पा, हेक्लाङ्ग लगायतका स्थानमा बालविवाह हँुदै आएको छ । सामाजिक समस्याको रहेको बालविवाह पाल्पामा पनि न्यूनिकरण हुन सकिरहेको छैन । नेपालको मुलुकी ऐन २०२० को विवाहबारी महलमा अभिभावकको मञ्जुरीमा १८ र मञ्जुरी बिना २० वर्ष नपुगी विवाह गर्नु नै बालविवाह भनि उल्लेख गरिएको छ । बालविवाहलाई कानूनले दण्डनीय मानेको छ ।