बगनासकालीका अध्यक्षद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा

0

पाल्पा, पुस २३

बगनासकाली गाउँपालिका ६ गुंगा माविमा अध्ययनरत बालबालिकाकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । उनले बालबालिकाहरु चिसोका कारण विद्यालय अनुपस्थित हुने भएकाले उनीहरुलाई विद्यालय शिक्षामा नियमित गराउन व्यक्तिगत रुपमा न्यानो कपडा सहयोग गरेका हुन् ।

अध्यक्ष बस्यालले ५७ जना विपन्न बालबालिकाहरुलाई एक कार्यक्रमका बीच विद्यालयमै पुगेर स्वईटर वितरण गरेका छन् । कपडा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष बस्यालले गाउँपालिकाको विकासका र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउन आफुले व्यक्तिगत रुपमा सहयोग गर्दै आएको बताए । अध्यक्ष बस्याल र सामाजिक व्यक्तित्व स्व.कमल कृष्ण कार्कीले विगत २ वर्ष अघि विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियान सञ्चालन गरेका थिए । कार्कीको निधन पछि पनि अध्यक्ष बस्यालले अभियानलाई अहिले पनि निरन्तरता दिएका हुन् । उनले विगतमा आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आएका छन् । अध्यक्ष बस्यालले निर्वाचन भए लगत्तै सरकारले उपलब्ध गराएको सेवा सुविधालाई विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेका थिए । सोही अनुरुप उनले व्यक्तिगत र गाउँपालिकाको तर्फबाट सामाजिक काम गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले गाउँपालिकाका अध्यक्षले विपन्न वर्गको क्षेत्रमा देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए । उनले गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको भन्दै विद्यार्थी, शिक्षक र अभिभावकलाई बालमैत्री अभियानमा साथ दिन आग्रह गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र प्रसाद खनालले चिसो कारण विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेका बेला सामाजिक व्यक्तित्व तथा गाउँपालिकाका अध्यक्ष बस्यालले व्यक्तिगत रुपमा न्यानो कपडा सहयोग गरेको भन्दै धन्यवाद दिए । न्यानो कपडा पाएपछि बालबालिकाहरु खुसी भएका छन् ।