अमेरिका र इरानबीच तनाव, ७ नेपाली फर्किए

0

काठमाडौं । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पसभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् ।

‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेका छ’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रुपमा कार्यरत सुरज तामाङले फोनमा भने, ‘आ–आफ्नो लकेज प्याक गरेर राखिसकेका छौ ।’ १२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारी आफूहरु रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ, उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।