Wednesday , August 5 2020

कहिले बन्छ विद्यालय ? भत्किए १३०, बने ४३ मात्र

पाल्पा, पुस ११
भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तिव्रता दिईएको छ । पाँच वर्षको समयसीमा लिएर अगाडी बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले पूनर्निर्माण कार्यलाई तिव्रता दिएको हो ।
पाल्पामा भूकम्पबाट १ सय ३० विद्यालयका ६ सय ५० कक्षाकोठाहरु क्षति भएका थिए । आर्थिक वर्ष २०७३÷०७४ देखी पाँच वर्षको समयसीमा लिएर अगाडी बढेको आयोजनाको कार्यालयले चार वर्षको अवधिमा ४३ विद्यालयका १ सय ८ कक्षाकोठा निर्माण कार्य सम्पन्न गरेको हो । पुनर्निर्माण आयोजना कार्यालयका इकाई प्रमुख लक्ष्मण देवकोटाले आव २०७३÷७४ मा १२ भवनका ३४ कक्षाकोठा र आव २०७४÷७५ मा १० विद्यालयका २८ कक्षाकोठा निर्माण सम्पन्न गरेको बताए । उनले गत आव २०७५÷७५ को पहिलो चरणमा २१ विद्यालयका ४६ कक्षाकोठा निर्माण सम्पन्न भएको बताए । उनी भन्छन्, ‘२०७५÷७६ मा दोस्रो चरणमा पनि थप ४८ विद्यालयमा पुनर्निर्माणका लागि स्वीकृती भएकोमा ६३ विद्यालय निर्माणधिन अवस्थामा छन् । ४५ शौचालय पनि निर्माणाधिन छन् ।’ आयोजना प्रमुख देवकोटाले चालु आर्थिक वर्ष २०७६÷७७ मा २ कोठे ३२ वटा, ३ कोठे ५ वटा र ४ कोठे ६१ वटा भवन निर्माण र १ सय ४५ शौचालय निर्माणका लागि सिफारिस गरिएकोमा बजेट प्राप्त नभएको बताए ।
दिव्यज्योती माध्यमिक विद्यालय, माथागढी गाउँपालिका–३, सराईका अध्यक्ष रेखिराम रानाले विद्यार्थी संख्या अत्याधिक भएका विद्यालयमा थप कक्षाकोठा सहितका भवन बनाउन आवश्यक रहेको बताए । उनी भन्छन्, ‘अहिले अन्य क्षेत्रबाट विद्यालयमा भवन निर्माणका लागि बजेट आउँदैन । प्राधिकरबाट बनेका भवन बलिया छन् । हाम्रो विद्यालयमा चार कोठे भवन निर्माण सम्पन्न गरेका छौं । हामीले ५६ लाख रुपैयाँ भुक्तानी पायौं । यसको फाउन्डेशनमा बढी खर्च हुँदो रहेछ ।’ नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले विद्यालयको तुलनामा निजी आवास निर्माणको काममा सुस्तता रहेको बताए । उनले ठेकेदारहरु मार्फत् नभई सोझै विद्यालयले काम लगाउँदा गुणस्तर सुनिश्चितता भएको र अनुगमन प्रभावकारी बन्ने देखिएको बताए ।
शिक्षा कार्यालय, अनुदान व्यवस्थापन कार्यालय हुँदै पछिल्लो समय छुट्टै स्वायत्त कार्यालयको रुपमा काम गर्न पाउँदा आफूहरुलाई सहज अनुभूती भएको कार्यालयका सव इञ्जिनियर राकेश बहादुर साउदले बताए । उनले आफूहरु १० जना कर्मचारीले जिल्लाका विद्यालय पुनर्निर्माण गर्न तदारुपताका साथ लागि पर्दै आएको बताए । भवन निर्माणका लागि शिक्षातर्फको पुनर्निर्माण आयोजना कार्यालयले ४ कोठाको औषतमा ७० लाख ४० हजार, ३ कोठाको ३५ लाख ८० हजार, २ कोठाको २३ लाख ९० हजार र शौचालय निर्माणका लागि १५ लाख रुपैयाँसम्मको बजेट विनियोजन गर्दै आएको जनाएको छ । जिल्लामा भूकम्पमा परि १ सय ३० बाहेकका अन्य विद्यालय पनि क्षति पुगेकोले तथ्याङ्क अद्यावधिक हुँदै गरेको इञ्जिनियर गुन बहादुर मल्लले बताए । पाल्पामा ४ सय ३७ विद्यालय सञ्चालनमा छन् ।
विद्यालय पुनर्निर्माणको क्रममा अभिलेख पुस्तिका अनिवार्य प्रयोग गर्न, सूचना पाटी राख्न, गुणस्तरीय निर्माण सामाग्री राख्न तथा सार्वजनिक सुनुवाईको व्यवस्था गरिएको कार्यालयको दावी छ ।

Check Also

रिडि खोलाले बगाउदा एकजना बेपत्ता

पाल्पा साउन ३ पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका …

error: Content is protected !!