रुपन्देहीको बेलहिया नाकाबाट पोखरा सम्म सिद्धार्थ लोकमार्गले छोइएका स्थानीय तहहरुको बिकासे सम्मेलन यही मंसिर १५ र १६ गते तानसेनमा हुने भएको छ ।

सिद्धार्थ आर्थिक करिडोर बिकासका लागि मेयर फोरमको नाममा सञ्चालन हुन लागेको कार्यक्रमबारे आज तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले प्रेस बिज्ञप्ति बाचन गर्दै यो सम्मेलनले नगरपालिका र गाउँपालिकाहरु बीच अनुभवको आदानप्रदा र अनुकरण हुने, योजनाहरुको पहिचान र कार्यान्वयन हुने, सिद्धार्थ लोकमार्गलाई आधार मानेर यस क्षेत्रमा संचालन गर्न सकिने पर्यटन कृषि सूचना प्रविधि तथा उद्योगहरुको पहिचान र सम्भाब्यताको खोजी हुने, नगरपालिका र गाउँपालिकाहरु बीच समन्वयमा गर्न सकिने परियोजनाहरुको पहिचान र छनौट हुने, समन्वय र सहकार्यका लागि कार्यदलको गठन तथा समन्वय ब्यक्ति छनौट हुने, बिज्ञ समूह गठन गरिने बताए ।


सम्मेलनमा गण्डकी प्रदेश र प्रदेश नं. ५ का प्रादेशिक नीति योजनाबारे अवधारणापत्र प्रस्तुत हुनेछ । त्यस्तै योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले करिडोरको महत्वबारे प्रकाश पार्ने कार्यक्रम रहेको छ । त्यस्तै सडक बिभागबाट समेत अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा दातृ संस्थाहरुको समेत सहभागिता रहनेछ ।


सम्मेलनमा सिद्धार्थ लोकमार्ग आसपासका १७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरुको सहभागिता रहने तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले बताए । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, प्रवक्ता दामोदर प्रसाद घिमिरेले कार्यक्रमले तानसेनको समग्र बिकासका लागि टेवा पुर्याउने बताए । पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले सिद्धार्थ लोकमार्गले धेरै सम्भावना बोकेकोले अन्य स्थानीय तहहरुसितको साझेदारीमा रचनात्मक काम गर्न सकिने बताए ।

पत्रकारहरु किरण कौशल, जगदीश भट्टराई, कृष्ण पोखरेल, यज्ञमूर्ति तिमिल्सिना लगायतले सम्मेलनलाई संचार क्षेत्रसित जोड्न सके थप प्रभावकारी हुने सुझाव दिए ।