पाल्पा, मंसिर ९
‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्पामा पनि सुरू गरिएको छ । १६ दिने अभियानको क्रममा गाउँपालिकाले वडा नं. १, २, ६ र वडा नं. ७ को विभिन्न स्थानमा पीछडिएका बोटे र कुमाल समुदायमा हिंसा बारे सचेतिकरण कार्यक्रम सुरू गरेकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले महिला र पुरुष विचको विभेद अन्त्य गरेर हिंसारहित सभ्य समाजको निर्माण गर्न वगनाशकाली गाउँपालिका लागि परेको बताए । उनी भन्छन्, ‘अहिले महिलामात्र होईन, पुरुष पनि हिंसामा पर्ने गरेका छन् । र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ ।’
वगनाशकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको बताईन् । वगनाशकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले महिला, बालबालिकाहरुको मानव अधिकारको रक्षाका निम्ति हिंसा विरुद्धको अभियानले सार्थकता पाउँदै गएको बताए । महिला तथा बालबालिका शाखा प्रमुख मनोज आचार्यले अशिक्षाका कारण अहिले पनि समाजमा बलात्कार, बोक्सिको आरोपमा पीडित बन्ने अवस्थाको पूर्ण रुपमा अन्त्य गर्न नसकिएको बताए ।
कार्यक्रममा सहभागीहरुले महिला तथा बालबालिका विरुद्धको हिंसा नगर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।