पाल्पा, मंसिर ६
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको मृत्यु भएको छ । ६८ वर्षीय बस्यालको उपचारको क्रममा बिहिबार काठमाण्डौंमा निधन भएको हो ।
२००९ सालमा बगनासकाली गाउँपालिका– ६, यम्घामा जन्मिएका बस्याल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत हुन् । मधुमेह र उच्च रक्तचाप समस्यामा रहेका बस्यालको फोक्सोमा पानी जमेर समस्या भएको थियो । बस्याललाई एक हप्ता तानसेनको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार पछि थप उपचारका लागि काठमाण्डौं लगिएता पनि उपचारकै क्रममा मृत्यु भएको बताईएको छ ।
शैक्षिक पेसागत आन्दोलनबाट राजनैतिक आन्दोलनमा होमिएका दयाराज बस्याल स्थानीय तहको निर्वाचनमा वगनाशकाली गाउँपालिका–६ को वडा सदस्यमा निर्वाचित भै जिल्ला समन्वय प्रमुखमा नियुक्त भएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको २०३७ सालमा सदस्यता लिएर कम्युनिष्ट आन्दोलनमा होमिएका बस्याल २०४१ सालमा दर्लमडाँडा माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेका थिए । सोही समयमा तत्कालिन श्री ५ को सरकारले उनलाई आन्दोलनमा हिँडेको भन्दै शिक्षकबाट बर्खास्त गरेको थियो ।
शिक्षक पदबाट बर्खास्त भएपछि राजनीति तथा सामाजिक आन्दोलनमा क्रियाशील बस्यालले २०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा जनपक्षीय उमेदवार भएका थिए । २०४४ को निर्वाचनमा पञ्चायतको उपसभापति निर्वाचित भएका बस्याल २०४५ मा उपसभापति पदबाट बर्खास्त भए । उनी २०४८ को प्रतिनिधि सभा सदस्य पदमा तत्कालिन नेकपा(एमाले) उमेदवार, २०५४ मा नेकपा (एमाले) को जिल्ला सचिव भई २०७४ को निर्वाचनमा जिल्ला समन्वय समितिको सभापति बनेका व्यक्ति हुन् ।
बस्यालको शवलाई शुक्रबार श्रद्धाञ्जली दिई पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा अन्त्येष्ठी गरिएको छ । उनलाई प्रदेश ५ का भौतिक योजनामन्त्री बैजनाथ चौधरी, संघीय, प्रदेश सांसद साथै जिल्लास्तरीय सबै राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिए । मृतक जिसस प्रमुख बस्यालका २ छोरा र २ छोरी छन् ।
जिल्लाको शिक्षा समितिका अध्यक्षको मृत्यु भएकोले जिल्लाका सरकारी तथा नीजि विद्यालयमा विदा दिईएको छ । जिसस प्रमुखको निधनमा जिल्लाका सबै स्थानीय तह र शिक्षणसंस्थाा बिदा दिइएको छ ।