पाल्पा, कार्तिक २५
लुम्बिनी मेडिकल कलेज, पाल्पामा एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो ।
लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताईएको छ । उनको आईतबार लुम्बिनी मेडिकलमा अप्रेशन गरिएको थियो । मेडिकल कलेज अप्रेशन गर्दा नसाबाट ब्लिडिङ भैरहेका कारण थप उपचारका लागि भैरहवा लगिएको थियो तर उहाँलाई बचाउन सकिएन, मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले भने । कलेजका वरिष्ठ सर्जन डा. राजकुमार क्षेत्रीले अप्रेशन गरेर एपेन्डिक्स निकालिएको बताए । उनी भन्छन्, ‘उहाँको नसाबाट रगत बगिरहेको रहेछ । बाहिरी पेट खोलेर एपेन्डिक्स निकालियो । नसा फूटेको थियो जसलाई हाम्रो पहलमा भैरहवा विशेषज्ञकोमा पु¥याउँदा पनि सफल हुन सकेनौं ।’
मृतकका आफन्तहरु मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन् । उनीहरुले कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पु¥याउँदा मृत्यु भएको आरोप लगाए । मृतककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुःखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनु परेको बताईन् । उनी भन्छिन्, ‘सामान्य अप्रेशन गर्न भनेर लगेकी छोरीमा अन्य समस्या देखियो भनेर डाक्टरले लापरवाही गरेका छन् । दोषीलाई कारवाही हुनुपर्छ ।’ आफन्त टिकाराम विश्वकर्माले नसा फूटेको अप्रेशनका कारण हुनुपर्ने भन्दै पूर्व जानकारी नदिईएको बताए । ‘समस्या जटिल भएपछि भैरहवा लगियो । लैजाँदा आफन्तहरुसँगै जान दिईएन । डाक्टरहरुले नै एम्बुलेन्समा राखेर लैजानुभयो, विश्वकर्माले भने, साधारण एपेन्डिक्समा बिरामीको अप्रेशन जटिल बनाईएको छ ।’
मृतकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन् । मृतक लक्ष्मीको शव भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ । दुई पक्ष बीच वार्ताका माध्यमबाट समस्या समाधानका लागि छलफल भैरहेका लुम्बिनी मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले बताए ।
तस्वीरः मृतक लक्ष्मी रसायली ।