पाल्पा, कार्तिक २०
वगनासकाली गाउँपालिका–६, यम्घालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । यससँगै वगनाशकाली गाउँपालिकाभित्रकाक ९ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखा र बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत एक कार्यक्रमका बीच प्रदेश नं ५ का सांसद वीर बहादुर रानाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । प्रदेश नं. ५ का प्रदेश सांसद वीर बहादुर रानाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै व्यवस्था परिवर्तनले जनताको अवस्था बदलिन नसक्ने बताए । उनी भन्छन्, मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो । स्वस्थ आमा र शिशु हुनका लागि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनु आवश्यक छ । हामी कामभन्दा धेरै कुरा गर्ने गरेका छौं । स्थानीय तहले पनि स्वास्थ्यका लागि उल्लेख्य बजेट विनियोजन गर्नु आवश्यक छ ।”
वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले पर्याप्त बजेट सहितको कार्यक्रम बनाएको बताए । अध्यक्ष बस्यालले स्वस्थ मानिस सहितको स्वस्थ समाज निर्माण नै आजको आवश्यकता भएको औल्याए । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले असुरक्षित सुत्केरी हुँदा आमा र बच्चा दुबैलाई खतरा हुने भएकोले पनि नियमित रुपमा गर्भजाँच र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने बताइन् ।

यम्घा स्वास्थ्य चौकीका प्रमुख राम प्रसाद न्यौपानेले अघिल्लो आर्थिक वर्ष वडा भित्र ४८ जना महिला गर्भवती भएको र सबै महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत महत्वपुर्ण सूचकको रुपमा पूर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रम पनि रहेको बताए । कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रमका लागि सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्ति, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य चौकीका कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले गाउँपालिकाको अभियानलाई आफूलाई दीगो बनाउन निरन्तर लागिपरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेलले पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको बताईन् । उनी भन्छिन्, ‘गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् । जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको छ । घरमा सुत्केरी हुने कार्यलाई अहिले गाउँकाले पनि जोखिमका रुपमा लिने गरेका छन् । यसले शून्य होम डेलिभरी बनाउने अभियानलाई सहयोग पुगेको छ ।’