पाल्पा, १८ कात्तिक
तानसेन युवा परिषदको आयोजनामा सञ्चालन भएको पुरुष भलिबल प्रतियोगिता सोमबार तानसेनमा सम्पन्न भएको छ ।

वडा स्तरीय प्रतियोगितामा तानसेन नगरपालिका वडा नम्बर १३ छेर्लुङले उपाधि हात पार्न सफल भएको छ । भने तानसेन–१४ अर्गली उपविजेता बनेको छ।

छेर्लुङले सोझो ३ सेटमा अर्गलीलाई पराजित गरेको हो । २५–१३, २५–१४ र २५–१८ स्कोरमा लगातार वडा नम्बर १३ ले वडा नम्बर १४ लाई पराजित गरेको हो ।

प्रतियोगितामा विजेता टिमले नगद ७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता टिमले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडी राष्ट्रको गहना भएको र खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने उहाँले बताउनुभयो ।

यहाँका युवालाई राष्ट्रिय खेलाडीको रुपमा स्थापित गर्न नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको युवा परिषदका पाल्पाका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।

सोही अवसरमा प्रतियोगितामा सहभागी विभिन्न टिमका उत्कृष्ट खेलाडीहरु छनोट गरिएको छ । जुन खेलाडी नगर स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । छनोट हुनेमा वडा नम्बर १३ का विमल सारु, विनोद थापा, श्यामलाल राना, प्रविन बराल, बमबहादुर सारु, वडा नम्बर १४ का हुमबहादुर सारु, निर्मल गाहा, वडा नम्बर १२ का टुकबहादुर राना,, कृष्णबहादुर राना, वडा नम्बर १० का विरेन्द्र रश्मी रहेको जिल्ला भलिबल संघ पाल्पाका सदस्य नारायण सारुले बताउनुभयो ।

यस्तै प्रतियोगितामा मिनबहादुर गाहा, वीरेन्द्र रेश्मी, ओमबहादुर सिंजाली, बसन्त सारु, प्रविन बराल म्यान अफ द म्याचको रुपमा पुरस्कृत भएका छन् ।

दुइ दिनसम्म चलेको प्रतियोगितामा ९ वटा वडाका खेलाडीहरुको सहभागिता रहको थियो ।

परिषदका उपाध्यक्ष पवित्रा गैरेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव धनेन्द्रराज घिमिरेले गर्नुभएको थियो ।