पाल्पा, कार्तिक १६
खरका झुपडी भएका वगनासकाली गाउँपालिका भित्रका विपन्न घरधूरीलाई टिनका जस्तापाता वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट फुस (खर) का छाना भएका विपन्न परिवारका १ सय ७ घर परिवारलाई जस्तापाता वितरण गरेको हो ।
वगनाशकाली गाउँपालिकाको पोखराथोक, यम्घा र खानीगाउँमा रहेका १ सय ९ घरहरुलाई प्रतिघर तीन वण्डलका दरमा टिन वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । उनी भन्छन्, ‘खरका झुपडीमा बस्ने गरिब परिवारले हरेक वर्ष खर किनेर घर छाउनेपर्ने बाध्यता थियो । हिउँदमा आगो र वर्षायाममा पानीको समस्या गरिब परिवारले झेल्दै आएका थिए । टिन वितरण भएपछि दैविप्रकोपबाट हुने क्षती कम हुने विश्वास गरेका छौं ।’ उनले वगनाशकाली गाउँपालिका आगामी दुई महिनाभित्र पूर्ण रुपमा फूस रहित उज्यालो गाउँपालिका बन्ने अध्यक्ष बस्यालले बताए ।
वगनासकाली गाउँपालिकाले फुसरहित घर अभियान अन्र्तगत गत आर्थिक वर्ष २०७५।०७६ मा २५ लाख रुपैयाँ बजेटबाट २ सय ५० बन्डल जस्तापाता खरिद गरि प्रति घर ३ बन्डलका डरले ८३ घरलाई जस्ता पाता वितरण गरेको थियो । गत आवमा वगनाशकालीको चापपानी, दर्लमडाँडा, चिर्तुङधारा, नायरनम्तलेस, खानीछाप र बराङ्दी सहित ५ वटा वडा खरको छानो रहित भएका थिए । वगनाशकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले आर्थिक संकटमा परेर खरको छानोमा बस्न बाध्य समुदायले दुई महिनाभित्र वडा कार्यालय मार्फत् प्राप्त गर्ने टिनका छानामुनी बस्ने बताए । ‘जस्तापाता वितरणले पानी पर्दा ओत लाग्न गाह्रो हुने खडेरीका बेला आगोलागीबाट बचाउन धेरैलाई समस्या हुने समस्या हट्ने र पानी चुहिने र आगो लाग्ने डर हुने कम भएको छ, श्रेष्ठले भने, फूसको छाना रहित अभियानको उद्धेश्य घरहरुको सुरक्षा हो ।’
गाउँपालिकाले वितरण गरेको टिन ग्रहण गर्दै हेम बहादुर नेपालीले गाउँमा पर्याप्त खर नपाईने, पाइएपनि छाउने जनशक्तिको अभाव भएको समयमा आफूहरु टिन पाएर खुसी भएको बताए । नेपाली भन्छन्, ‘खर छाएका घरहरु पनि धेरै नटिक्ने, छिटै चुहिने हुने र हिउँदको बेला आगलागीको बढी डर हुन्थ्यो ।’
गाउँपालिकाले गरेको कार्यबाट धेरै विपन्न र आर्थिक अवस्था कमजोर भएका खुसी छन् । गाउँपालिकाले पहिलो पटक आर्थिक वर्ष २०७४÷७५ मा ५५ घरपरिवारलाई टिन उपलब्ध गराएको थियो । यससँगै वगनाशकाली गाउँपालिकाका २ सय ४७ घरपरिवारले जस्तापाता (टिन) पाएका छन् ।
तस्वीरः वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्याल जस्तापाता वितरण गर्दै । तस्वीरः नागरिक