पूर्वखोला गाउँपालिकाले सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको छ । बैशाख २३ गते बिरकोटलाइ पूर्णा संस्थागत वडा घोषणा गर्दै अन्तिम वडा नं. १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे संगै गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा भएको हो ।

छ वटा स्वास्थ्य चौकी र तीन स्वास्थ्य एकाईबाट सेवा प्रदान गर्दै पूर्वखोला गाउँपालिकाले बच्चा जन्माउनले आमाहरुलाई स्वास्थ्य संस्थाबाटै सेवा दिने गरि पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाएको छ । नेपाल सरकारबाट सुत्केरी हँुदा २ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । जसमा नियमित ४ पटक गर्भ परिक्षण गर्दा सुत्केरीले थप आठ सय रुपैयाँ प्रदान गर्दछ । पूर्वखोला गाउँपालिकाले ति महिलाहरुका लागि एक क्यारेट अण्डा र छ सय रुपैयाँ रकम समेत प्रदान गर्दै आईरहेको छ ।

प्रदेश नं. ५ का सांसद युवराज खनालले बुधबार वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । उनले आमा तथा बच्चाको सुरक्षाको लागि स्थानीय तहले चालेको कदमको प्रशंसा गर्दै घोषणा संगै निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताए ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वडा नं. १ का वडा अध्यक्ष भोग बहादुर थापा र सिलुवा स्वस्थ्य चौकी प्रमुख बसन्ता केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाले संभवत प्रदेश नं. ५ मै पहिलो पटक सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सफल भएको बताए उहाले गत बर्ष सवै वडामा बर्थिङ सेन्टर घोषणा गरेको बताउदै यस पाली पूर्ण संथागत सुत्केरी घोषणा गर्न सफल भएको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्य, स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकाल, सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदिप आचार्य, लगायतले शुभकामना व्यक्त गरे ।

पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी मोहन ढकाले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाबाट एक सय ६९ जनाले सेवा लिएर संस्थागत सुत्केरी भएको बताए । उनी भन्छन्, ‘यस गाउँपालिका भित्रका एक सय ४१ जनाले अन्य स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिनुभएको छ । हामीले हाम्रो गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन गरि शून्य होम डेलिभरी गाउँपालिका बनाएका छौं । यसलाई औपचारिकतामात्र दिन बाँकी हो ।’