राजविराज- ह्याकिङ गरी आन्तरिक खाताबाट रकम चोरी भएको विषयले कृषि विकास बैंक यतिबेला चर्चामा छ। असोज ५ गते बैंकको लहान शाखामार्फत ४ करोड ८८ लाख रुपैयाँ चोरी भएको थियो।

ह्याकिङ प्रकरणमा तत्कालीन लेखा अधिकृत सुनील साह पक्राउ परेका छन्। बैंकको आन्तरिक खाताको रकम चोरी भएको पुष्टि भएलगत्तै असोज ८ गते नै उनी केन्द्रीय कार्यालय तानिएका थिए। उनीसँगै लहान शाखाका तत्कालीन प्रबन्धक रामसेवक यादव र ऋण अधिकृत डम्बरकुमार केसीलाई पनि केन्द्रमा तानिएको छ।

तीनजना कर्मचारीले मात्र चलाउने कम्प्युटरबाट आन्तरिक खाताको युजर र पासवर्ड लिक भएपछि कर्मचारीकै संलग्नता रहेको आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

‘विना कमिसन फाइल नै बढ्दैन’
कृषि विकास बैंकको चर्चा यतिमा मात्रै सीमित छैन। ऋण लगानीमा कमिसन लिने परम्पराले पनि यो बैंकको चर्चा हुने गरेको छ। लहान शाखाको ह्याकिङ प्रकरण सेलाउन नपाउँदै यतिबेला सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर शाखा कमिसनकै कारण चर्चामा छ।

बैंकको कल्याणपुर शाखामा कमिसनको विषय नौलो भने होइन। पीडित र जानकारहरुका अनुसार कर्मचारीले केही समयदेखि ऋणीसँग कमिसन लिँदै आएका छन्। ऋण लगानीको प्रक्रिया सुरु गर्नुपूर्व नै कमिसनको दर निर्धारण गरिन्छ। ‘कुरा मिले फाइल अगाडि बढ्छ, अन्यथा विभिन्न बहाना बनाएर फाइल अड्काइन्छ। कमिसनमा चित्त बुझाउन सकिएन भने ऋण लिने आशा मार्दा हुन्छ,’ पीडितहरु भन्छन्, ‘अफ्ठेरो परेपछि अलिकति दिएर पनि ऋण उठाउनु पर्ने बाध्यता छ।’

‘कमिसनको पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु’
यिनै पीडित मध्येका एक हुन्- सप्तरीको शम्भुनाथ नगरपालिका-४ का शम्भु राम। उनले दुईपटक कल्याणपुर शाखाबाट ऋण लिएका छन्, दुवैपटक कमिसन दिएर। ‘ऋण माग्ने धेरै हुन्छन्, मैले नदिए अर्कोले दिन्छ,’ उनी भन्छन्, ‘तर, मागेजति दिएन भने पैसा पाइँदैन।’

पहिलोपटक लिएको ६ लाख रुपैयाँ ऋण उनले गत असारमा चुक्ता गरे। पैसाको अभाव भएपछि उनले दोश्रोपटक पनि ऋण लिने सोचमा बैंकमा १० लाख रुपैयाँ माग गरे। तर, कर्मचारीले १० लाख रुपैयाँ मिल्दैन भन्दै ५/६ लाख रुपैयाँसम्म ऋण दिन सकिने संकेत देखाए।

शम्भु रामसँग कमिसन वापतको रकम लिएपछि गन्दै वेचन भण्डारी।

रामले ७ कठ्ठा जग्गासहितको घर धितो राखेर असार पहिलो साता ऋणका लागि बैंकमा फाइल पेस गरे। फाइल पेस भएसँगै कमिसनको कुरा मिलाउन बलान बिहुल गाउँपालिका निवासी वेचन भण्डारी उनको पछि लागे। भण्डारी कार्यालयका कर्मचारी हुन् वा विचौलिया?, शम्भुलाई जानकारी छैन। तर, ऋणीसँग कमिसनका लागि उनले नै ‘डिल’ गर्ने गरेको उनको भनाइ छ। भण्डारीको यो काममा कार्यालय प्रमुखसहित प्रमोद चौधरी, ऋण फाँटका प्रमुख सञ्जय नायक लगायतका कर्मचारीको मिलेमतो रहेको उनले दावी गरे।

दुई/तीन दिनको छलफलपछि ५० हजार रुपैयाँ कमिसन दिने सर्तमा शम्भुको ६ लाख ५० हजार ऋण स्विकृत हुने भयो। फाइल अघि बढेपछि उनी काम विशेषले काठमाडौं पुगे। सोही क्रममा भदौको पहिलो साता वेचनले नै फोन गरेर ऋण स्विकृत भइसकेको जानकारी गारउँदै पैसा लान शम्भुलाई बोलाए। आफू काठमाडौंमा भएकाले आमा (कोशीला देवी)लाई पैसा उपलब्ध गराइदिन शम्भुले आग्रह गरे। उनको आग्रहमा कर्मचारी पनि तयार भएपछि भदौ ६ गते (शुक्रबार) कोशीलादेवी बैंक पुगिन्। तर, कमिसनको कुरा नबुझेकी उनले पैसा दिन नमानेपछि कर्मचारीले रकम दिन मानेनन्।

शनिबार साँझ नाइट बस चढेर आइतबार बिहान उनी कल्याणपुर झरे। दुईवटा चेकमार्फत उनले ऋण वापतको रकम बुझे। पहिलो चेकमार्फत झिकेको २ लाख २६ हजार रुपैयाँबाट आफूले कमिसन वापतको ५० हजार रुपैयाँ वेचनलाई उपलब्ध गराएको शम्भुको दावी छ। ‘पैसा लिएपछि मैले उसैलाई नियाली रहें,’ उनी भन्छन्, ‘त्यो पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु।’

शम्भु मात्र होइन, तत्कालीन कल्याणपुर गाविसका एक जनप्रतिनिधि समेतले कमिसन दिएर आफूले ऋण लिएको बताए। उनले कल्याणपुर शाखाबाट गत वर्ष कपडा व्यापारका लागि ७ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणवापत आफूले ७० हजार रुपैयाँ कर्मचारीलाई बुझाएको उनको दावी छ।

उनका अनुसार ह्याकिङ प्रकरणमा हाल पक्राउ परेका सुनील साह त्यसताका बैंकको म्यानेजर थिए।

कार्यालयभित्र कमिसन लिने/दिने हुँदैन, बहिर के हुन्छ भन्न सक्दिनँ : म्यानेजर चौधरी

बैंक म्यानेजनर चौधरीले भने एक वर्षदेखि शाखामा कमिसनको चलखेल नभएको बताए। ‘म आउनुभन्दा अगाडि थियो होला, तर म आएपछि त्यस्तो छैन,’ उनले भने, ‘कार्यालयभित्र कमिसन लिने/दिने हुँदैन।तर, बाहिर कसले के गर्दैछ त्यो चाहिँ म भन्न सक्दिनँ।’ कर्मचारीले कमिसन लिएको विषयमा आफूलाई पनि २/३ ठाउँबाट गुनासो आएको भन्दै उनैले त्यस्को पुष्टि पनि गरे।

सर्वसाधारणको गुनासो आएपछि बैंकमा विचौलियाको काम गर्ने २/३ जनालाई ६ महिना अघिनै आफूले हटाएको दावी समेत गरेका चौधरीले व्यक्तिगत समस्याका कारण फसाउन त्यस्तो आरोप लगाइएको हुनसक्ने जिकिर गरे।

वेचन भण्डारी नामका व्यक्ति आफ्नो कार्यालयका कर्मचारी नभएको म्यानेजर चौधरीले स्पष्ट पारे। ‘उनी गाउँका ऋणीहरुको किस्ता र ब्याज संकलन गरेर बैंकमा बुझाउँछन्, त्यसवापत उनले के पाउँछन् थाहा छैन,’ उनले थपे, ‘बैंकलाई नै फाइदा पुर्‍याइ रहेकाले उनको बारेमा हामीले नराम्रो सोचेको छैन।’ https://www.nepallive.com/story/153591