अपाङ्ग धर्म निरपेक्षता पायौः वरिष्ठ नेता अशोक राई
पाल्पा, असोज १२
संघीय समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधानमा अपाङ्ग धर्म निरपेक्षता उल्लेख गरिएको बताएका छन् । उनले संघीयताको विकृत रुप अपाङ्ग धर्म निरपेक्षता रहेको बताएका हुन् ।
शनिबार पाल्पाको तानसेनमा पत्रकार अन्तरक्र्रियामा बोल्दै समाजवादी पार्टीका नेता राईले चार ‘स’ सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद पार्टीको मुख्य एजेण्डा भएको बताए । पहिचान सहितको संघीयता, भष्ट्राचार मुक्त पारदर्शी शासन, समृद्धिको न्यायपूर्ण वितरणलाई मुल मुद्दा बनाएर समाजवादी पार्टी सरकारमा गएको तर सो अनुसारको उपलब्धि हासिल हुन नसकेको बताए । उनी भन्छन्, ‘पार्टी अध्यक्ष बाबुराम भट्टराईले संविधान बनाउँदै गर्दा आधामात्र भरिएको संविधान बनाएको भन्नुभएको थियो । पछि कम्यूनिष्ट सरकारले यसलाई सच्चाएर अगाडी बढ्ने बताएका कारण हामी सरकारमा गयौं । तर अहिले देशमा कमिशनतन्त्र, असुरक्षा, भष्ट्राचार र विकृती मौलाएको छ ।’ समाजवादी पार्टी सरकारमा रहँदा पनि असन्तुष्ट छ । हामीले सरकारमा भएर यसका राम्रा कुराहरुमात्र भन्नुपर्छ भन्ने होईन । यो सरकारले राम्रो केही गर्न सकेन ।
नेपालको राजनीति अहिले कुहिरोको काग भएको छ, संघीय समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले भने, अन्यौलै अन्यौलमा सरकार चलिरहेको छ । ‘कांग्रेसलाई जनताले २००७, २०१५ र २०४८ सालमा बारम्बार मौका दिईरहे । सायद कांग्रेसबाट जनता सन्तुष्ट हुन सकेनन्, नेता राईले भने, बहुमत प्राप्त सरकारबाट जनता पनि आजित भैसके । सरकार काम गर्नभन्दा कुरा गर्नमा व्यस्त रहँदै आयो ।’
जिल्ला अध्यक्षमा मेहरमान राना
संघीय समाजवादी पार्टीको जिल्ला अध्यक्षमा मेहरमान राना चुनिएका छन् । साविक संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल पाल्पाको समायोजनबाट रानाको नेतृत्वमा २६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । पार्टीको उपाध्यक्षमा निराजन रेग्मी, तारादेवी दिशुवा र तिलक खराल, सचिवमा वसन्त कुँवर, उपसचिवमा अमरिका सोमै र कोषाध्यक्षमा सुमित्रा नेपाली रहेका छन् ।