पाहुना बोलाउन ‘प्रिभिलेज कार्ड’
पाल्पा, असोज १०
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन ‘प्रिभेलेज कार्ड’ (सहुलियत कार्ड) बाँड्दै प्रदेश दौडाहामा निस्किएको छ । बिहिबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल सहितको टोली प्रदेश ५ मा प्रवेश गरेको छ । यस प्रदेशले नेपालकै सातवटै प्रदेशका मुख्यमन्त्री तथा अन्य निकायमा पुगेर चुल्हो निम्तो सहित सहुलियत कार्ड बाँड्दै हिँडेको हो ।
आन्तरिक पर्यटन वर्ष मनाइरहँदा बढीभन्दा बढी पर्यटक ल्याउन र आगमनका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउँदै पाल्पाको तानसेनमा कार्यक्रम गरेको छ । कार्डको माध्यमबाट गण्डकी प्रदेश सरकारसँग सहमति भएका जुनसुकै स्थानमा पनि कार्ड देखाएपछि मात्र छुट पाइने पर्यटनमन्त्री विकास लम्सालले बताए । उनी भन्छन्, ‘गण्डकी प्रदेश भित्रमा होमस्टे, होटल तथा रेस्टुरेन्ट, यातायातका साधनदेखि साहसिक खेलसम्म सहभागी हुने पर्यटकलाई कार्डबाट सहुलियत मिल्नेछ ।’ पर्यटन वर्षलाई लक्षित गर्दै सरकारले विभिन्न सेवामा निश्चित छुटसहितको व्यवस्था मिलाउन लागेको मन्त्रालयले जनाएको छ । प्रिभिलेज कार्ड ग्रहण गर्दै तानसेन नगरपालिकाका पाल्पामा नगर प्रमुख अशोक कुमार शाहीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको अपनत्वको जरुरी रहेको बताए ।
प्रिभिलेज कार्ड लिएर गण्डकी प्रदेश पुग्ने जुनसुकै पर्यटकले होटल, पर्यटकीय गाडी भाडा र टुर प्याकेजमा १५ प्रतिशत छुट पाउने छन् । यस्तै रेष्टुरेन्ट, शाहसिक खेल, ट्र्याकिङ सामाग्री खरीद र लत्ताकपडा खरीदमा १० प्रतिशत छुट हुने बताईएको छ ।
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन असोज ९ देखि १६ गतेसम्म प्रवर्द्धनात्मक अभियान सुरु गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ ।
सरकारले लिएको सो लक्ष्य पूरा गर्न करिब साढे तीन महिना मात्र बाँकी छ । यस अवधिमा १५ लाख पर्यटक भित्राउन मन्त्रालयको टोली सहित अभियानमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहेको छ ।

पोखरा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले यस प्रदेशको पर्यटन विकासमा मात्रै नभई पर्यटन विकासमा देखिने चुनौतीको पनि सरकारसँगै सामना गर्न आफूहरु तयार रहेको बताए । विश्व पर्यटन संघले यस वर्षको दिवसको नारा ‘पर्यटन र रोजगारी भविष्यमा सवैलाई लाभकारी’ सार्वजनिक गरेको छ । अभियानले सरकार र व्यवसायिक प्रतिष्ठान बीचमा व्यापारिक सहकार्य, व्यापारीहरु बीचको अनुभव साटसाट, फोटो प्रर्दशनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गरेको छ ।
यस अभियानको प्रमुख लक्ष्य आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा नेपालका प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचार प्रसार गर्न, आन्तरिक पर्यटकहरु माझ प्रवद्र्धन गर्न र पर्यटन व्यवसायी बीचमा व्यवसायिक सम्बन्ध स्थापित गर्नु रहेको बताईएको छ ।