पाल्पा, असोज १०
बिहीबार युनाईटेड मिशन अस्पताल पाल्पामा उपचारको क्रममा रहेकी आमा र उनको आठ महिनाको शिशुको मृत्यु भयो । रगत बगेर उपचारका लागि पु¥याईएकी महिला तथा उनको कोखमा रहेको शिशुको मृत्यु भयो ।
रम्भा गाँउपालिका–४, हुमिनकी २४ वर्षीया विपिन्द्रा सुर्यबंशी र उनको जन्मने अवस्थामा पुगेको शिशुको मृत्यु भएको हो । बुधबार राती ११ बजे विपिन्द्राको शिशुको मृत्युपछि गरिएको अप्रेशन सकिएको केही समयमै मृत्यु भएको जेठाजु तुल बहादुर सुर्यवंशीले बताए । उनी भन्छन्, ‘रगत बगेर ७ गते हामी आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थियौं । हिजो बच्चाको मृत्यु भयो भनेर अकस्मात डाक्टरहरुले अप्रेशन गर्नुभएको थियो । राती नै बुहारी विपिन्द्राको मृत्यु भयो ।’ उनले बुहारीको मृत्यु हुँदा आफु सँगै रहेको बताउँदै बिरामीले अक्सिजनको पाईप फ्याँकेको र उक्त समय डाक्टर आउन ढिलाई भएको बताए । उनी भन्छन्, हातले जोडसँग अक्सिजन फालिन् । सिस्टरहरुले लगाउन सकेनन् । ५÷७ पटकसम्म बोलाउँदा पनि डाक्टर आएनन् । हाम्रै अगाडी बिरामी निलो भएपछि हामीलाई बाहिर निकालियो ।
युनाईटेड मिशन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले मुटुको र फोक्सोको समस्याले बिरामीको मृत्यु भएको बताए । ‘डाक्टरहरुले प्रोटोकल अनुसार नै उपचार गरिरहनु भएको छ । उपचारका लागि अरु कुनै अप्सन थिएन बिरामी बचाउन सकिएन । पुरा केयर डाक्टरको पाएकै अवस्थामा मृत्यु भयो, भट्टराईले भने, हिजो दिउँसो गर्भवतीको पेटमा रहेको बच्चाको धड्कन अचानक रोकियो । बच्चा मरेको थाहा भएपछि कार्डियो पल्मोनरी समस्यालाई केही कम गरेर अप्रेशन गरिएको थियो ।’ गर्भवती युवती सुर्यवंशी सुत्केरी समय अगावै रगत बगिरहेको समस्या लिएर अस्पतालमा पुगेकी थिईन् । उनको सुत्केरी हुने समयको ६ हप्ता अवागै समस्या देखिएको बताईएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले प्रिएटलमसियाका कारण बिरामीको मृत्यु भएको बताए । उनी भन्छन्, ‘अस्पताल प्रशासन र डाक्टरहरु सहित हामी छलफलमा थियौं, गर्भवती अवस्थामा अकस्मात देखा पर्न जटिलता (प्रिएटलमसिया) का कारण गर्भवती महिलाको मृत्यु भयो ।’ उनलाई जटिलताको अवस्थामा स्वास्थ्य संस्थामा ल्याईएको र पल्मुनरी इरेमा (श्वास फेर्न अप्ठ्यारो) हुने कारण समस्या थपियो । अप्रेशन गरेर भेन्टिलेटरमा राखिएको रहेछ, त्यही महिलाको मृत्यु भएको न्यौपानेले बताए ।
मातृ मृत्यु घट्यो, घटेन शिशु मृत्यु
विगतको तुलनामा मातृ मृत्युदर घटे पनि नव शिशु मृत्युदरमा भने अपेक्षित रूपमा कमी आउन नसकेको तथ्यांकले देखाएको छ ।
गत अर्थिक वर्ष २०७४÷७५ मा जिल्लाभर २३ जना नवजात शिशुको मृत्यु भएकोस्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷७६ मा ९ जना नवजात शिशुको मृत्यु भएको थियो । गत आव २०७५÷७६ मा जिल्लामा मातृ मृत्यु भने एक जनाको मात्र थियो । मातृ मृत्यु दुई तीन वर्षदेखी पाल्पामा भएको थिएन फेरी यो देखिएको, जिस्वाकाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने र सुत्केरी हुनसमेत अनिवार्य स्वास्थ्य संस्थामै पुग्ने बानी आमनागरिकमा विकास भएसँगै मातृ मृत्युदर घटे पनि समयमै स्वास्थ्य संस्था नआउनु, खानपानमा ध्यान नदिनु, गर्भवास्थामा आमाले भारी बोक्नुपर्ने बाध्यतालगायत कारणले नवशिशु मृत्युदरमा भने अपेक्षित रूपमा कमी आउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख न्यौपाने भन्छन्, ‘आमा गर्भवती हुँदा गह्रौ भारी बोक्नु पर्ने, उचित स्याहार नपाउने गर्भावस्थामा खानपान लगायत कुरामा राम्रो ख्याल नगरिदाँ गर्भवती महिला र पेटमा भएको बच्चाको ज्यान जोखिममा हुने गरेको छ । बच्चा जन्मिसकेपछि पनि विभिन्न संक्रमण भएर बच्चा मर्ने लगायत कारणहरूले शिशु मृत्यु उच्च रहन्छ ।’ उनले संरचनागत रुपमा परिवर्तन भएर स्थानीय तहमा आधारभूत स्वास्थ्य सम्बन्धि क्रियाकलापहरु सञ्चालन हुन नसकेको उनले बताए । ‘नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुन आउने महिलाको संख्यामा भने उल्लेख्य सुधार आएको छ, न्यौपानेले भने, बच्चाको कम तौल । गर्भावस्था कारण हुन सक्छन् । यो तथ्याङ्क अस्पतालमा पुग्नेको हो । गाउँको रिपोटिङमै नभएको पनि हुन सक्छ । अहिले हामीले समन्वयमात्र गर्ने हो, अरु काम स्थानीय तहबाट जनचेतनामूलक गर्नु आवश्यक छ ।