पाल्पा, असोज ९
युनाईटेड मिशन अस्पताल पाल्पामा उपचारको क्रममा रहेको २४ वर्षीय युवतीको मृत्यु भएको छ । रम्भा गाँउपालिका–४, हुमिनकी विपिन्द्रा सुर्यबंशीको मृत्यु भएको आफन्तले बताएका छन् ।

बुधबार राती ११ बजे अप्रेशन गरेको तीन घण्टा पछि विपिन्द्रको मृत्यु भएको जेठाजु तुल बहादुर सुर्यवंशीले बताए । उनी भन्छन्, ‘रगत बगेर ७ गते हामी आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थियौं । हिजो बच्चाको मृत्यु भयो भनेर अकस्मात डाक्टरहरुले अप्रेशन गर्नुभएको थियो । राती नै बुहारी विपिन्द्राको मृत्यु भयो ।’ उनले बुहारीको मृत्यु हुँदा आफु सँगै रहेको बताउँदै बिरामीले अक्सिजनको पाईप फ्याँकेको र उक्त समय डाक्टर आउन ढिलाई भएको बताए । उनी भन्छन्, हातले जोडसँग अक्सिजन फालिन् । सिस्टरहरुले लगाउन सकेनन् । ५÷७ पटकसम्म बोलाउँदा पनि डाक्टर आएनन् । हाम्रै अगाडी बिरामी निलो भएपछि हामीलाई बाहिर निकालियो ।

युनाईटेड मिशन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले मुटुको र फोक्सोको समस्याले बिरामीको मृत्यु भएको बताए ।