पाल्पा, असोज ७

नेपाली काँग्रेस पाल्पाले मंगलबार तानसेनमा विरोधसभा गरेर दास्रो चरणको जागरण अभियानलाई समापन गरेकाे छ । समापन कार्यक्रममा सरकारका हरेक रवैया गलत भएको भन्दै विराेध गरे ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रदेश सांसद वीरबहादुर रानाले लामखुट्टे मार्न नसक्ने सरकार जनपक्षीय हुन नसक्ने धारणा व्यक्त गरे । पाल्पाका सभापति समेत रहेका सांसद रानाले यस्ता धारणा व्यक्त गरेका हुन् । रानाले नेकपाको सरकारले केन्द्र, प्रदेश तथा स्थानीय सरकारमा जताततै भ्रष्टाचार गरेको, शान्ति सुरक्षा, सुशासन, न्याय हराएको, विभिन्न नाममा कार्यक्रमको नाममा राज्यको रकम कार्यकर्ता भर्ति केन्द्र बनाई भ्रष्टाचार गरेको आरोप लगाए ।

तानसेनमा गाउँ–गाउँबाट आएका हजारौं कार्यकर्ता तथा नेताले नारा जुलुस गर्दै सरकारको कार्यशैली प्रतिविरोध गरेपछि आयोजित विरोधसभामा बोल्ने वक्ताले सरकारको कार्यशैलीको खुलेर विरोध गरे । जागरण अभियानका केन्द्रीय प्रतिनिधि काजीमान श्रेष्ठले वर्तमान सरकारप्रतिका गलत क्रियाकलापको विपरोध गर्न र जनताका घर–घरमा काँग्रेसको उपस्थिति गराउन जागरण अभियान गरिएको बताए । सभामा पाल्पाको पूर्वी क्षेत्रका केन्द्रीय प्रतिनिधि दोबाटे विक, पश्चिमका केन्द्रीय प्रतिनिधि विष्णु पोखरेलले कम्युनिष्ट सरकारले जनतालाई राहत नदिएर दुःख दिएको, हत्या हिंसा बलात्कार, मही, भ्रष्टाचार, कमिशन काण्ड बढ्दै गएको, शान्ति र न्याय सुशासन हराएको आरोप लगाए ।

नेपाली काँग्रेसकी कानुनी सल्लाहकार लालकुमारी रानाले कम्युनिष्ट सरकारबाट काम नभएकोले जनता बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताइन् । कार्यक्रम नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्यको सञ्चालनमा भएको थियो । विरोधसभामा साहित्यकार फणिन्द्र बस्याल र कलाकार रामबहादुर कार्कीले सरकारले गरेका जनविरोधी कामको व्यङ्गात्मक कविता गीतको माध्यमबाट विरोध जनाएका थिए ।