पाल्पा – गत आर्थिक वर्षमा पाल्पा र गुल्मीमा उत्पादित कफी कोरिया निर्यात भएको छ। कफी सहकारी संस्थाले गत आर्थिक वर्षमा झण्डै एक टन कफी कोरिया निर्यात गरेको हो।

गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएको हो। बाँकी कफी स्वदेशमा खपत भएको छ।

यस्तै आव ०७४/७५ मा १९ टन पार्चमेन्ट र चार टन ड्राइचेरी कफी उत्पादन भएको थियो। आव ०७४/७५ मा गुल्मीबाट सात टन पार्चमेन्ट उत्पादन तथा बिक्री गरिँदा १.५ टन ड्राइचेरी बिक्री भएको जिल्ला सहकारी संघले जनाएको छ।

कफी सहकारी संघ, पाल्पाका व्यवस्थापक कमल खनालले जिल्लाबाट झण्डै २० टन कफी बिक्री भएको बताए। ‘पाल्पाबाट गत आव ०७५/७६ मा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी उत्पादन गरेर बिक्री गरिएको छ,’ उनी भन्छन्, ‘आव ०७४/७५ मा १९ टन पार्चमेन्ट र चार टन ड्राइचेरी कफी उत्पादन तथा बिक्री भएको थियो।’ गत आवमा असिना परेका कारण कफी उत्पादनमा कमी आएको व्यवस्थापक खनालले बताए। उनी भन्छन्, ‘कफी रोपण, हेरचाह, बिरुवा उत्पादन, प्रशोधनका लागि विभिन्न क्षेत्रबाट सहयोग हुँदै आएको छ। बिरुवामा ५० प्रतिशत अनुदान पनि दिँदै आएका छौं। गत आवमा मात्रै २९ हजार दुई सय ५० बिरुवा रोपण गरिएको छ।’

उनले जिल्लाको बराङ्दी सिद्ध कालिका कफी उत्पादक सहकारीले कफी प्रशोधन सुरुवात गरेको बताए। उनी भन्छन्, ‘स्थानीय बजारमा पनि कफीको माग उच्च हुन थालेको छ। गुल्मी र पाल्पा जिल्लामा उत्पादन भएको कफी सहजै कोरिया, जापान, जर्मन र अमेरिका निर्यात हुने गरेको खनालले बताए। पाल्पा र गुल्मी जिल्लाबाट हरेक वर्ष झण्डै एक टन नियमितजसो कफी कोरिया निर्यात हुँदै आएको जिल्ला सहकारी संघ गुल्मीका सचिव भाष्कर ज्ञवालीले बताए।

पाल्पाको तानसेन नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउँ गाउँपालिका, वगनाशकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा कफी खेती गरिँदै आएको छ। यस्तै गुल्मीको रुरु गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, सत्यवति गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका र मुसिकोट गाउँपालिकामा कफी उत्पादन हुन्छ। 

एक किलोग्राम प्रशोधित कफीको एक हजार पाँच सय रुपैयाँसम्ममा फुटकर बिक्री हुँदै आएको छ। पाल्पा जिल्लामा पार्चमेन्ट कफीको प्रतिकिलो पाँच सय ५० र ड्राइचेरीको एक सय ७० रुपैयाँमा बिक्री हुँदै आएको छ। जिल्लामा १२ कफी सहकारी संस्था लिमिटेड र २९ संकलन केन्द्र सञ्चालनमा छन्। सहकारीमा पाँच सय ५२ किसान र समूहमा एक हजार ५० किसान संस्थागत रुपमै आवद्ध भएर कफी उत्पादन गर्दै आएका छन्।

नेपालका १२ जिल्लामा कफी सहकारी संघमार्फत कफीको प्राविधिक, व्यवस्थापकीय र बिक्री वितरण कार्यमा सहयोग पु¥याइँदै आएको छ। गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, ललिलपुर, लमजुङ, गोर्खा र पर्वतमा कफीको व्यावसायिक खेती हुँदै आएको छ। कफीको माग विश्वमा चार हजार टन छ। नेपालमा वार्षिकरूपमा करिब पाँच सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा उच्च गुणस्तरको मानिन्छ।

उत्पादन घट्दो
त्यस्तै कफी उत्पादनका लागि राम्रो जिल्ला मानिने गुल्मीमा किसानको आकर्षण घट्दै गइरहेको छ। कफीका लागि राम्रो मानिने गुल्मीमा उत्पादन घट्दो छ। गुल्मीमा मात्र होइन पाल्पा र यस आसपासका जिल्लामा पनि कफीको उत्पादन घट्दै गइरहेको छ। किसान पलायन हुँदै जानु र ग्रामीण भेगमा रहेर व्यावसायिक रुपमा कफी उत्पादन गर्न नसक्दा उत्पादन घटेको हो। कफी उत्पादन घट्दै गइरहेको भए पनि यसको माग भने उच्च रहेको स्वयं किसान बताउँछन्।

रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीका ४० घरले कफी रोपण गरेका छन्। उनीहरुले गत आवमा ५२ रोपनी जग्गामा ५३ क्विन्टल कफी उत्पादन गरी बिक्री गरेका छन्। ‘५२ रोपनीमा ५३ क्विन्टल फ्रेस चेरी उत्पादन भयो,’ पालुङमैनादीका इमानसिंह कुँवरले भने,‘मैले समूहका सदस्यले उत्पादन गरेको कफी पनि संकलन गरेर बेच्छु।’

कुँवरले १२ रोपनीमा १९ क्विन्टल कफी उत्पादन गर्न सफल भएको बताए। ‘खर्च कटाएर दुई लाख ५० हजारको कफीबाट बचत गरेको छु,’ उनले भने, ‘किसानलाई कफी उत्पादन गर्न समस्या हो, बिक्रीका लागि खास समस्या छैन त्यसैले हामीले बिरुवा थप गर्दै लगेका छौं।’ यहाँको सोमर, फेक, ढिकीचौर, बतासे, पालुङ, बजारटोल र सिटौला टोलमा कफी खेती हुँदै आएको छ। यहाँ औषतमा एक बिरुवाले पाँच किलोग्रामसम्म उत्पादन दिने गर्छ।

डबका आदर्शटोल कफी उत्पादन समूहका दोलखबहादुर कार्कीले समूहमा काम गर्दा कफी नर्सरी, नमूना बगैंचा, सेतो गबारो नियन्त्रण, सहकारी शसक्तीकरण तालिम पाएको बताए। उनी भन्छन्, ‘कफीलाई बजारको कुनै समस्या छैन। हामीकहाँ उत्पादन भएको कफी हाइल्यान्ड कफी प्रमोसन र नेपाल अर्गानिक कफी प्रडक्टले खरिद गरेर लैजाने गरेको छ।’ वगनाशकाली गाउँपालिका–३, नायरका किसान पदमबहादुर रानाले आफूले कफीको नर्सरी स्थापना गरी बिरुवासमेत बिक्री वितरण गर्दै आएको बताए। उनी भन्छन्, ‘अचेल बिरुवा लगाउन मानिस अल्छी गर्छन्। मैले उत्पादन बढाउन भनेर नै तीन हजार बिरुवा तयार गरेको छु। गाउँमा व्यावसायिक कृषि पेसामा लाग्ने बढे पनि कफीको काम गर्ने बढ्न सकेनन्।’

कफी खेतीको प्रवद्र्धन गर्न जिल्लामा हेल्वेटाँस नेपाल, जिल्ला कृषि विकास कार्यालय, चिया तथा कफी विकास बोर्ड, ब्यूटीफुल नेपाल र कफी सहकारी संघले सहयोग गरिरहेको छ। पाल्पा र गुल्मी जिल्लामा काम गरिरहेको ब्युटिफुल कफी नेपालको भने गत वर्षबाट कार्यक्रम सकिएको छ। यसले कफीको मूल्य शृंखलामा सहयोग पु-याउँदै आएको थियो।

लामो समयदेखि गुल्मीको आँपचौरमा व्यावसायिक कफी खेती गर्दै आएका परशुराम आचार्यले नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ताले किसान उत्साहित हुन नसकेको बताउँछन्। उनले सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा प्रशस्त सम्भावना रहेको बताए। उनी भन्छन्, ‘उत्पादन अझै बढाउन सकिन्छ तर, स्थानीय तथा अन्य सरकारको पनि तत्परता आवश्यक छ।’