पाल्पा, भदौ २८
शुक्रबार सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा गुडिरहेका दुई सवारी माथी एकसाथ ढुङ्गा खस्यो । बिहान १०ः३० मा घटनास्थल पुग्दा हिलाम्मे सडक रक्ताम्मे थियो । यात्रुहरु चिच्याउँदै थिए । सडकमा दुई सवारी थिचिएका थिए । बाटोमा सानाठूला ढुङ्गाले सडक भरिएको थियो । सुरक्षाकर्मी जोखिम मोलेरै यात्रुहरुको उद्दार गर्दै थिए । केही यात्रुले हतारहतार घाईतेलाई एम्बुलेन्समा पठाए ।
तिनाउँ गाउँपालिका–३, हेडबक्समा ढुङ्गा खस्न थालेपछि आफूहरुले चिच्याएको तर भाग्न नपाएको उद्दारकै क्रममा रहेका घाईते यात्रु बताउँदै थिए । सडकको बीच भागमा एउटा जीप र एक स्कार्पीयो ढुङ्गाले थिलाथिला पार्योे । जीपका चालक कमल परियारले घटनास्थलमै ज्यान गुमाए । अन्य चार जना घाईते भए । पाल्पामा वर्षेनी सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा ठूलो धनजनको क्षती हुँदै आएको छ ।
सिद्धबाबा सडकखण्डको सिद्धबाबामा लु १ ज २६१७ न. को जीप र लु २ च ५९३८ न.को स्कारपियोमा ढुङ्गा खसेर क्षतविच्छेद बनाइएको हो । बुटवलदेखि गुल्मीको पूर्तिघाट जाँदै गरेको जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको स्कारपियोलाई सडक माथिबाट ढुङ्गाले लागेर दुर्घटना भयो । दुर्घटनामा तिलोत्तमा नगरपालीका, रुपन्देहीका २६ वर्षीय चालक कमल परीयारको मृत्यु भयो । दुर्घटनामा परि गम्भिर घाईते भएका बुटवल उपमहानगरपालिका १२, नयाँगाउँका २० वर्षीय मिलन शाह र सोही स्थानका नरेन्द्र हमालको थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । घाईते तिलोत्तमा नगरपालिका २, रुपन्देहीका ललित मल्ल र पूर्तीघाट गाउँपालिका ९, गुल्मीका २२ वर्षीय प्रेम सुनारको लुम्बिनी अस्पताल बुटवलमा उपचार भैरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको बताईएको छ । रातभर यसक्षेत्रमा ठूलो वर्षा भएको र बिहान घाम लागेपछि पहिलो खस्या दुर्घटना भएको हो ।
सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका बिष्णु खनालले आफूहरु कतिबेला पहिरो तथा ढुङ्गाले च्याप्ने हो जोखिम मोलेर यात्रा गर्न बाध्य भएको बताए । उनी भन्छन्, ‘म गाडीको केही पछाडी बाईकमा थिए, माथिबाट ढुङ्गा खसिरह्यो । हामी हेरेको हेर्यै भयौं ।’ अर्का यात्रु मुना जिसीले आफ्नो पनि कहिले अकालमा ज्यान जाने हो भर नभएको बताईन् । बाध्यता छ, सिद्धबाबाको बाटो नहिँडी सुख हुँदैन । कतिबेला कहाँ के हुन्छ थाहा छैन, जिसीले भनिन् । तिनाउँ गाउँपालिकाका स्थानीय ओमप्रकाश पाण्डेले नेताहरुले राजमार्ग नबनाउने र वैकल्पिक सडकको नारा घन्काउने गरेको बताए । ‘नेताहरुलाई सडक मर्मतमा ध्यान छैन । वैकल्पिक बाटो बनाउँछौं भन्दै हिँड्छन् । लगातार ज्यान गुमाउने थपिँदै छन्, पाण्डेले भने, हाम्रा जनप्रतिनिधी सडकमा सुरुङ बनाउँछु, सडक मर्मत हुन्छ नत्र सडकमै अनशन बस्छु भन्नुहुन्छ । चुनावको लागि सिद्धबाबा नारा बनेको छ ।’ प्रदेश सरकार र केन्द्रीय सरकारले योजना बनाएको कथामात्र सुनाउने काम नगरेको पाण्डेले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एक किलोमिटर सुरुङ निर्माण गर्न नसक्ने तर २४÷२५ किलोमिटरको सुरुङ कालिगण्डकीमा बनाउँछौ भनेर भाषणमात्र गर्ने गरेको बताए । उनी भन्छन्, ‘अहिलेको सरकारले अध्ययन बिना भाषण गरेर जनता उचाल्नेमात्र काम गरेको छ । सिद्धबाबामा हजारौं यात्रुले पीडा बोक्दै हिँड्दै छन् । अकालमा ज्यान गुमाउनु परेको छ । अनेक बाहाना बनाएर सडक पनि बनाउँदैनन् । भाषण चर्काचर्कामात्र गर्ने गर्छन् ।’
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा वर्षेनी दर्जनौ सवारी साधनमा अकालमा ज्यान गुमाउनेको संख्या थपिँदो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पासँग वर्षेनी सिद्धबाबामा हुने सडक दुर्घटनाको छुट्टै तथ्याङ्क भने छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर काफ्लेले सिद्धबाबा क्षेत्रमा भवितव्यमा परेर अकालमा ज्यान गुमाउनेहरु बढ्दै गएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा ५४ सडक दुर्घटना भएको थियो । जसमा ४० जनाले ज्यान गुमाए । एक सय २३ जना घाईते भए । चालु आवको दुई महिना पुरा नहुँदै ५ सवारी साधन दुर्घटना भएको छ । जसमा दुई व्यक्तिको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा सवारी दुर्घटना बढ्दो छ । आव २०७३÷७४ मा ३९ सवारी साधन दुर्घटना भएका थिए । जसमा ३८ जनाले ज्यान गुमाए । ८३ जना घाईते भए । आव २०७४÷७५ मा ५९ सवारी साधन दुर्घटनामा परि ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय जना घाईते भए ।
सिद्धबाबा कटेपछि धेरैले भगवानलाई धन्यवाद दिन्छन् । परिवारलाई फोन गरेर सिद्धबाबा कटेको जाकनारी दिन्छन् । यस क्षेत्रबाट हिड्ने यात्रु सम्पर्क नहुँनासाथ ठूलो पारिवारिक तनाव झेल्दै आएको पुष्करराज रेग्मीले बताए । उनी भन्छन्, ‘पानी पर्दा हिड्नै नसकिने हिलो हुन्छ । घाम लाग्दा धुलोमात्र । सडकमा खाल्टाखुल्टीमात्र छन् । मर्मत पनि नियमित हुँदैन ।’