पाल्पा, भदौ ९
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि माथागढी गाउँपालिका–२, रुप्सेका किसानहरु व्यवसायिक कृषिमा लाग्न थालेका छन् । उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन् ।
माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्ती ३ वर्ष अगाडीसम्म भारतमा इलेक्ट्रिसियनको रुपमा काम गर्थे । अहिले उनी गाउँमै फर्केर व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । उनले विदेशमा भन्दा स्वदेशमै सानो कामबाट राम्रो फाईदा लिन सकिने बताए । उनी भन्छन्, ‘गाउँका सबै खेतबारीमा अन्नबालीमात्र लगाउदै आएका थिए । मलाई भारतबाट घरमै केही गर्ने सोच आएर फर्किए । पहिले भएको बारी तथा खेतमा सबै तरकारीमात्र लगाएको छु । अन्नबाली लगाएरभन्दा तरकारी खेती गर्दा आनन्द पनि आएको छ । कमाई पनि राम्रै भएको छ ।’ रुप्से कृषी सञ्जालका अध्यक्ष समेत रहेका घर्तीले गत वर्ष आफूले पाँच लाख रुपैयाँ आम्दानी गरेको र चालु आर्थिक वर्षमा आम्दानी दोब्बरले वृद्धि हुने अपेक्षा राखेको बताए । बोडी, काँक्रा, करेला, लौका, घिरौला, सिमी लगायतका तरकारी सात रोपनीमा लगाएका घर्तीले यसको बजार व्यवस्थापनमा भने कठिनाई रहेको बताए ।
रुप्सेमा दामोदरमात्र एक्ला किसान होईनन् । रुप्सेकै मीना कोईरालाले पनि तरकारी खेतीबाट आत्मनिर्भर हुन मद्दत पुगेको बताईन् । ‘हामीजस्ता महिलालाई घरखर्च चलाउन तरकारी एउटा माध्यम बनेको छ । सुरुसुरुमा त हामीले घरका लागिमात्र तरकारी लगाउँथ्यौं । अहिले हामीले तरकारी फलाएरै छोराछोरीलाई बोर्डिङ्ग पढाएका छौं, कोईरालाले भनिन्, गाउँमा विभिन्न तालिमहरु भए । हामीले नर्सरी व्यवस्थापन, बिरुवा हेरचाह, व्यवसायिक योजना निर्माण तालिमहरु लियौं अहिले तरकारी नजिकैको बजारमा पु¥याउँछौं ।’ उनीजस्तै गाउँमै तरकारी खेती गर्दैछन्, टोपराज पौडेल । पौडेलले अहिले बारीमा टनेल बनाएर टमाटर खेती गरेका छन् । उनी भन्छन्, ‘हामीले मकै, कोदो हुने बारीमा अहिले राम्रो टमाटर फलाएका छौं । सिजन अनुसारका मात्र नभएर बेसिजनका तरकारी पनि बिक्रि गर्छौं जसले हामीलाई आत्मनिर्भर हुन मद्दत गरेको छ ।’ उनले गाउँपालिकाले विभिन्न तालिम तथा अनुदानका कार्यक्रमहरु ल्याउँदा कृषि कार्य गर्न सहज बनेको बताए ।
उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएकोले तरकारी खेतीमा आकर्षित भएको किसानहरुले बताएका छन् । अर्का किसान आत्माराम कोईरालाले तरकारी खेतीले जीविका चलाउन सहयोग पुगेपछि अन्य अन्नबालीभन्दा तरकारी खेती नै राम्रो भएको बताए । उनी भन्छन्, ‘गाउँमा विभिन्न जातमा तरकारी लगाईएको छ । दुई चार लाख कमाउन युवाहरु वैदेशिक रोजगारमै जानु पर्दैन ।’
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रुप्सेका झण्डै ५० जना किसानहरुले तरकारी खेतीलाई रोजेको माथागढी गाउँपालिका–२, रुप्सेका वडाध्यक्ष जनक रिजेलले बताए । समय समयमा निशुल्क प्राविधिक परिक्षण, तालिम तथा विउ वितरण, तालिम तथा छलफल कार्यक्रम चलाउँदै आएको रिजेलले बताए । उनी भन्छन्, ‘गाउँमा रहेका धेरै किसानहरु अहिले तरकारी खेती गरि आत्मनिर्भर भएका छन् । उनीहरुको प्रमुख आम्दानीको स्रोत तरकारी खेती बनेको छ ।’ तरकारी खेतीका लागि माथागढी गाउँपालिकाले यान्त्रिकरणका लागि हाते ट्याक्टर, बिउबिजन, टनेल निर्माण र पोखरी निर्माणका लागि प्लाष्टिकमा अनुदान प्रदान गर्दै आईरहेको छ । माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार नेपालीले ८ थान प्लाष्टिक मल्चिङ, १६ थान टनेल, २ सय थान टनेल, ३७ हातेट्याक्टर वितरण गरिएको बताए ।
तस्वीर ः
१. तरकारी स्याहार्दै माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोदर घर्ती र उनकी श्रीमती ।