तिनाउ मिशन डेभलपमेण्ट बैंक नेपाल कम्यूनिटी डेभलपमेन्टसँग एक्विजिसन हुँदै
पाल्पा, भदौ ९
नेपाल राष्ट्र बैंक नेपालको सर्वोच्च बैंक भएकोले त्यसको निर्देशन पालना गर्न वित्तिय संस्थालाई गभर्नर डा. चिरञ्जिवी नेपालले निर्देशन दिएका छन् । उनले मौद्रीक नीतिको विकल्प अन्य कुनै पनि कुरा हुन नसक्ने भएकोले त्यसको पूर्ण पालना गर्न आग्रह गरेका हुन् ।
आईतबार पाल्पाको तानसेनमा तिनाउँ मिशन डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन गर्दै गभर्नर डा. नेपालले मौद्रीक नीति अवलम्बन गरेर अगाडी बढ्न बैंक तथा वित्तिय संस्थालाई अनुरोध गरे । ‘नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंक जुन निर्देशन निकाल्छ, त्यसलाई मान्नुपर्दछ, गभर्नर डा. नेपालले भने, अरु कसैले केही भनेर त्यसको पछाडी लाग्न जरुरुी छैन । जुन भन्यो मौद्रिक नीति मार्फत्, राष्ट्र बैंकले त्यो मान्नु नै पर्छ । नेपाल राष्ट्र बैंक नियमनकारी निकाय हो । उसले बोलेपछि बोल्यो, अरु बोले भनेर आश्चर्य मान्नु पर्दैन ।’ डा. नेपालले वित्तीय क्षेत्रमा देखिएका विद्यमान समस्यामध्ये जटिल र प्रमुख समस्याका रूपमा रहेको लगानीयोग्य साधन अभाव र कर्जाको उच्च लागतलाई मौद्रीक नीतिमा सम्बोधन गर्न खोजिएको बताए ।
आईतबार नै गभर्नर डा. चिरञ्जिवी नेपालले तानसेनको युनाईटेशन मिशन अस्पताल अगाडी नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर र रैनादेवी छहरा गाउँपालिका–४ मा नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थाहरू विकास निर्माणका सम्भाहक भएकोले बैंकहरूले उत्पादन बढाउने क्षेत्रहरूमा लगानी बढाउनुपर्ने बताए । उनी भन्छन्, ‘आफूसँग भएको पैसाको उपयोग पनि नगर्ने र काम पनि नगर्ने परिपाटीको विकास भएकोमा दुःख लाग्छ । लगानीलाई बैंकको पूर्ण उपयोग गर्दै प्रतिफल लिन आवश्यक छ ।’
नेपाल बैंक लि. सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले बैंकलाई साहुको रूपमा नहेरी साथीको रूपमा हेर्न आग्रह गरे । उनले नेपाल बैंकले गुणस्तर र सेवामा प्रतिस्पर्धा गर्दै प्रकावकारी कार्यसम्पादन सहित पारदर्शी सेवा दिने विश्वास दिलाए । तिनाउँ मिशन बैंकका अध्यक्ष टिकाराम घिमिरेले आफुहरुले उत्पादन हुने क्षेत्रहरुमा ऋण प्रवाह गर्न पहाडी जिल्ला पाल्पामा शाखा विस्तार गरेको बताए । ‘हामी केही दिनमा लघुकर्जा, विपन्न वर्ग कर्जा, नारी कर्जा प्रवाह गर्छौं । दुई बैंक मर्ज गरेर हामी अगाष्डी बढ्यौं, राष्ट्रिय स्तरको वाणिज्य बैंक हामी बनाउँदैछौं, अध्यक्ष घिमिरेले भने, जहाँ बेरोजगार, विपन्न र महिला छन्, त्यहाँ उद्यमशीलताको विकास गर्ने गरि हामी काम गर्छौं ।’ तिनाउ मिशन बैंकको अधिकृत पुँजी ३ अर्ब छ । चुक्ता पुँजी एक अर्ब १४ करोड रहेको छ । तिनाउ र मिशनमा अब कम्यूनिटी विकास बैंकको झण्डै ६० करोड पुँजी थपिँदैछ । निकट भविष्यमै २ अर्ब ५० करोड पुँजी पु¥याएर राष्ट्रिय स्तरको बैंक बनाउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
तिनाउ मिशनका प्रमुख कार्यकारी अधिकृत प्रदिप श्रेष्ठले मर्जर प्रक्रिया असार ३१ गते सकेर आईतबार ८ गतेबाट औपचारिक रुपमा दुई बैंक एक भएर काम अगाडी बढाएको बताए । उनी भन्छन्, ‘नेपाल कम्यूनिटी डेभलपमेन्टसँग एक्विजिसन गर्ने गरि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेका छौं । असोर भित्र दुई बैंक पूनः एक हुन्छ । हामी ५ नम्बर प्रदेशको बैंक नपुगेको ग्रामीण क्षेत्रमा केन्द्रीत छौं ।’
तिनाउ मिसन बैंकको एकिकृत कारोबार विधिवत
तिनाउ मिसन डेभलपमेण्ट बैंकको रुपमा एकिकृत कारोबार विधिवत सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले बैंकलाई औपचारिकता प्रदान गर्दै बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणका सम्भावक भएकोले उत्पादन बढाउने क्षेत्रहरुमा लगानी बढाउनु पर्ने बताए । सो कार्यक्रममा प्रदेश न.५ का योजना आयोग उपाध्यक्ष डा. ईश्वर गौतमले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले संस्थागत हित विपरित काम हुने सक्ने बताएका थिए । बैंकको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी एक अर्ब १४ करोड ४१ लाख र चुक्ता पूँजी सोही बराबर रहेको छ । बैंकको जगेडा तथा अन्य कोषहरु २६ करोड छ लाख, निक्षेप संकलन १० अर्ब २० करोड, कर्जा प्रवाह आठ अर्ब ९२ करोड, संचालन मुनाफा १९ करोड ७६ लाख र खूद मुनाफा १२ करोड ५६ लाख रुपैयाँ रहेको छ । ३९ वटा शाखा सञ्जाल मार्फत करिब एक लाख सेवाग्राहीलाई सेवा दिँदै आएको जनाएको छ ।
तिनाउ मिशन डेभलपमेन्ट बैंकको शाखा उद्घाटन गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल ।