पाल्पा, भदौ ७
पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथ निकालि सिन्दूरजात्रा गरिएको छ । वि.सं. १८७१ मा नेपाल अंग्रेज युद्धमा नेपाली फैजले अंग्रेजलाई हराएको थियो । तानसेनमा शनिबार दिउँसो सिन्दूरजात्रा निकालिएको हो ।


२ सय १ औं भगवती रथयात्राको प्रधान सेनापती पूर्णचन्द्र थापाले पुजापाठ गरि दर्शन गरेर रथयात्रा अवलोकन गरेका छन् । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईन्छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गरिएको हो ।

तानसेन भगवती गुठीले २ सय १ औं भगवतीजात्रा दिउँसो १२ः४५ बजेको साइतमा भगवतीको रथ उठाई नेपाली सेनाले सलामी दिएर निकालिएको हो । रथयात्रा तानसेनका सबै चोकहरुमा पु¥याईएको थियो । दरबार परिसर हुँदै मुल ढोकाबाट निकालेर नारायणस्थान, बसपार्क, टक्सार, बसन्तपुर, कैलाशनगर हुँदै टुंडिखेल स्थित नेपाली सेनाको ब्यारेकमा पु¥याईएको थियो । सो अवसरमा नेपाली सेनाले राष्ट्रिय धुनसहित तोप पड्काएर सलामी टक्राएको थियो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए ।

नेपाली सेनाको ब्याण्डसहित सैन्य पोषाकमा जवान एवं अधिकृतहरु रथ यात्रामा सहभागी थिए । उत्तिकै संख्यामा प्रहरी र सरकारी कर्मचारी पनि सहभागी थिए । जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, गुल्मी, पर्वत, पोखरा, बुटवल, अर्घाखाँची तथा काठमाण्डौं लगायतका जिल्लाबाट भक्तजन आएका थिए । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ ।