२०७६भाद्र ६,चितवन ।
भरतपुर महानगरपालिकाको विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले २५ प्रतिशतभन्दा नबढ्ने गरी निजि बिद्यालयको शुल्क वृद्धि गर्न सिफारिस गरेको छ ।


शुल्क बढेपछि शिक्षक कर्मचारीको तलब सरकारी स्केलअनुसार हुनुपर्ने र महँगी भत्ताको समेत व्यवस्था हुनुपर्ने सर्तमा शुल्क बढाउन लागिएको हो।


विद्यालयको ग्रेडिङ फर्म, नेपाल सरकारले तोकेअनुसार शिक्षक कर्मचारीको तलब, नियुक्ति पत्र, सबैको अनिवार्य पान नम्बर, छात्रवृत्ति वितरणको प्रमाण, भौतिक पूर्वाधार र बैंकमार्फत तलब भुक्तानीको विवरण आएपछि बल्ल शुल्क वृद्धि गर्न अनुमति दिइने भएको छ।

भरतपुर महानगरपालिकाले बनाएको शुल्क निर्धारण मापदण्ड निर्देशिकाअनुसार ‘ग’ वर्गका विद्यालयहरुको पूर्वप्रावि (नर्सरीदेखि केजी) को मासिक शुल्क एक हजार १५० रूपैयाँ तोकिएको थियो । कक्षा एकको एक हजार २३०, दुई कक्षाको एक हजार २८०, तीन कक्षाको एक हजार ३६०, चार कक्षाको एक हजार ३९०, पाँच कक्षाको एक हजार ४५०, छ कक्षाको एक हजार ५५०, सात कक्षाको एक हजार ६३०, आठ कक्षाको एक हजार ७००, नौ कक्षाको एक हजार ९३०, दस कक्षाको २ हजार ९० रूपैयाँ तोकिएको थियो । वार्षिक शुल्क पनि मासिक शुल्कको डबल शुल्कभन्दा बढी लिन नपाउने व्यवस्था थियो ।

‘ख’ वर्गका विद्यालयहरुले यो शुल्कमा २५ प्रतिशतसम्म वृद्धि गर्न पाउने व्यवस्था थियो । ‘क’ वर्गका विद्यालयहरुले ‘ख’ वर्गका विद्यालयको तुलनामा अझ २५ प्रतिशत व्यवस्था गर्न पाउने थिए । चितवनमा ‘क’ वर्गको विद्यालय छैनन् ।