कालीगण्डकीसँग किनारका बासिन्दाको धार्मिक, सामाजिक, सांस्कृतिक आस्था पनि जोडिएको छ   

भन्छन् – आगोलाई जिस्क्याउनु हुन्न । जिस्क्याउन त पानीलाई झन् नहुने रहेछ । पानीको बाटो छेक्ता बेलाबेला कल्पनै गर्न नसकिने विनाश मानव जातिले बेहोरेको छ । पानीको बाटो छेकेर फाइदा लिने थोरै हुन्छन् तर विनाश भयो भने धेरैले बेहोर्नुपर्छ । अहिले पानीलाई पनि जता मन लाग्यो उतै लगे हुन्छ भन्ने मूर्खतापूर्ण सोच निकै बढेको देखिन्छ । कालीगण्डकीलाई छेकेर बाँध बनाएर तिनाहु खोलामा हाल्ने (डाइभर्सन) प्रदेश नम्बर ५ को योजना पनि यस्तै प्राकृतिक वातावरणलाई उपेक्षा गर्ने मूर्खतापूर्ण योजना हो । धन्न, गण्डकी प्रदेशका मुख्यमन्त्री त्यसमा सहमत नभएकाले कालीगण्डकीका तटवर्ती र तिनाहुका किनारमा बस्नेहरू अहिल्यै आत्तिइहाल्नु पर्ने भने भएको छैन । कालीगण्डकी फर्काउँदा बाँधभन्दा तलका गण्डकी प्रदेशका जनता मात्र हैन तिनाहु किनारमा बस्नेहरू पनि संकटमा पर्न सक्छ । नदी वा खोलालाई जिस्क्याउन नहुने ज्ञान त तिनाहु किनारका बासिन्दाले पनि पाइसकेकै छन् ।

प्राकृतिक स्रोतसाधनको प्रयोग मानव हितमा गर्नुपर्छ । तर, प्रकृतिको पनि जीवनचक्र हुन्छ भन्ने स्वीकार गरेरमात्र यस्तो प्रयोगका सम्बन्धमा योजना बनाउनुपर्छ । खोलाका किनार मिच्दा वा नदीको बहाव नियन्त्रण गर्न खोज्दा अहिले नै बर्सेनि बाढी र डुबानको कहर नेपालीले काट्नु परेको छ । एउटा नदीलाई उसको प्राकृतिक बहाव परिवर्तन गरेर अन्तै लैजाने वा सानो खोलामा ठूलो नदीको पानी मिसाउने गर्दा पक्कै पनि प्राकृतिक असन्तुलन उत्पन्न हुन्छ । यस्तो गडबडीको मार अन्ततः त्यही भेगका बासिन्दाले भोग्नुपर्छ । करिब ३० किलोमिटर सुरुङ खनेर नदीको बहाव अन्तै फर्काउने काम खोलामा स्याउला राखेर बाँध र कुलो बनाएजस्तो हैन । वातावरणका सम्बन्धमा भएका अध्ययनहरूले प्रकृतिलाई सकेसम्म कम बिथोल्नु मानव जातिको हितमा भएको पुष्टि भएका छन् । यस्ता अध्ययनहरू बेवास्ता गरेर बलमिच्याइँ गर्नु मूर्खतामात्र हैन जनताको हितमा गरिएको हेलचेक्य्राइँ पनि हो । यही कारणले कालीगण्डकीका किनारका बासिन्दाले योजनाको विरोधमा संघर्ष समिति नै बनाएको हुनुपर्छ । 

ad
ad

त्यसो त गण्डकी प्रदेशमा उत्पत्ति भएर मूलतः यही प्रदेश भएर बग्ने कालीगण्डकी प्रदेश नम्बर ५ ले एकलौटी गर्न खोज्नु पनि अर्घेल्याइँ हो । कालीगण्डकीको प्राकृति बहाव अवरुद्ध गर्दा तल्लो तटीय क्षेत्रमा त्यसको नकारात्मक प्रभाव पर्नसक्छ भने तिनाहुले पनि कालीको वेग थाम्न नसकेर मैदानी क्षेत्रमा उत्पात मच्चिन सक्छ । बगी रहेको पानी सुक्ने, बाँधले ताल बनाउने तथा खोलाले धान्न सक्नेभन्दा धेरै पानी बग्ने भएपछि त्यहाँ पानीमात्र हैन जीवजन्तु र बालीनालीमा पनि असर पर्छ । त्यस्तो असरबारे विस्तृत अध्ययन नगरी चुनावी नारा दिनु जनतालाई मूर्ख ठान्नु र बनाउनु हो । कालीगण्डकी यसका किनारका बासिन्दाका लागि एउटा नदीमात्र हैन । धार्मिक, सामाजिक, सांस्कृतिक आस्था पनि कालीगण्डकीसँग जोडिएको छ । प्रदेशको नाम नै गण्डकी राखिएकाले पनि कालीगण्डकीसँग यहाँका जनता भावनात्मकरूपमा कति निकट छन् भन्ने स्पष्ट हुन्छ । यसैले गण्डकी प्रदेशका मुख्यमन्त्रीको अडान सही देखिन्छ । कालीगण्डकीको प्राकृतिक बहावमा धेरै छेडछाड नगरौँ । नदीहरू हाम्रा जीवन रेखा हुन् तर तिनको पनि जीवन चक्र हुन्छ भन्ने योजनाकारहरूले आत्मसात् गरुन् ! बाह्रखरी सम्पादकीय साभार