पाल्पा, साउन २७
तानसेन नगरपालिकाका उत्कृष्ट २० युवा उद्यमी छनौट भएका छन् । दायित्वले सञ्चालन गरेको ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रम अन्तर्गत विभिन्न उद्यमशीलताको कार्य गर्ने १ सय ८० जना उद्यमीबाट २० उत्कृष्ट उदमीको घोषणा गरिएको हो ।
उत्कृष्ट २० उद्यमीलाई प्रमाणपत्र प्रदान गर्दै तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले उद्यमशीलता प्रवद्र्धनकालागि उत्कृष्ट २० उद्यमीको छनौट गरिएको बताए । उनी भन्छन्, ‘हामीमा विद्रोही मनोवृत्ति छ, यसलाई उत्पादनमा बदल्नुपर्छ भन्ने भावनाका साथ उत्कृष्ट २० घोषणा गरिएको हो । उनले आफू पनि उद्यमी बन्न र अरुलाई पनि प्रेरित गर्न दृढ विश्वास र भावनाको आवश्यक पर्छ ।’ ‘उद्यमशीलता व्यापारमात्र होईन । स्वरोजगारीका माध्यमबाट नयाँ किसिमको काम गरेर अरुलाई रोजगारी प्रदान गर्न सकिन्छ । हामीमा ‘दास’ मनोवृत्ति छ । बाहिर गएर अनेकथरी काम गर्छौं । आफ्नो काम गर्न कीन लजाउनु, नगरप्रमुख शाहीले भने, देशमा झण्डै ५० प्रतिशत रहेका युवाहरु उत्पादनशील जनशक्ति हुन् । विद्रोहको विज रोप्नुभन्दा उत्पादनका लागि प्रयत्नशील हुनु आवश्यक छ ।’
दायित्वका अध्यक्ष डा. पुकार मल्लले उद्यमलाई अभियानमा बदल्न युवा उद्यमीहरुलाई आग्रह गरे । ‘हामी उद्यमीहरुसँग पैरवी गर्छौं, उद्यम प्रवद्र्धन गर्छौ, उद्यमशील कार्ययोजना बनाउँछौं, डा. मल्लले भने, उद्यमशील उत्प्रेरणाका लागि दायित्वले ८९ जना दायित्व फेलोहरु मार्फत् अनुसन्धान गरिरहेको छ ।’ तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले उत्पादित सामाग्रीलाई बजारीकरणको जरुरी रहेको बताए । उनले कृषि तथा पर्यटन उद्यमका लागि उपयुक्त छ । यसलाई हामीले भिजिट नेपाल २०२० सँग पनि समन्वय गरेर अगाडी बढ्नु आवश्यक छ ।
कार्यक्रममा साहिज्य शर्माले तानसेन भित्रका १ सय ८० सहभागी उद्यमीमध्ये फारमको आधारमा २० उद्यमी छनौट गरिएको बताए । शर्मा भन्छन्, ‘एसएमएसको आधारमा उत्कृष्ठ १० छनौट गर्ने र उद्यमीको घर घरमै पुगेर अनुगमन गरेपछि उत्कृष्ठ ५ छनौट गरि प्रतिउद्यमी ५० हजारका दरले पुरस्कार उपलब्ध गराउने योजना रहेको छ ।’ उत्कृष्ट एकलाई थप एक लाख प्रदान गरिने उनले बताए । युवा उद्यमी मीनबहादुर आलेले बौघापोखराथोकमा लुम्बिनी एग्रो फर्मका नाममा तरकारी बाली उत्पादन गरेर जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याएको बताए । यस्तै श्रीकृष्ण पौडेलले कतारबाट सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरिरहेको अनुभव सुनाए ।
यता तानसेन नगरपालिकाले उद्यमशील युवाहरुलाई बिना धितो ऋण प्रवाह गर्ने भएको छ । युवालाई अभिभावकत्वको जिम्मेवारी लिँदै नगरपालिकाकाले नेपाल बैंकमा जमानी बसेर युवालाई विना धितो ऋण प्रवाह गर्न लागेको हो ।
नेपाल बैँक लिमिटेड तानसेनका प्रबन्धक सुरज घिमिरेले तानसेन नगरपालिका जमानी बसेर बिना धितो ५ प्रकारका कर्जा प्रवाह गरिने बताए । “व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजनाका लागि कर्जा रहेको छ । यसैगरी महिला उद्यमशील कर्जा तानसेन नगरपालिकाको सिफारिसमा बिनाधितो कर्जा दिन सकिने छ । दलित समुदायका लागि व्यवसाय विकास कर्जा रहेको छ, प्रबन्धक घिमिरेले भने, सहज र सरल तरिकाले ऋण प्रवाह गर्न सकियोस भनेर तानसेन नगरपालिकाको सिफारिसमा युवा स्वरोजगार कर्जा हेर्नेगरी बैंकले १ जना कर्मचारी तोकेको छ ।’
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले युवाहरुलाई उद्यमशीलता मार्फत आत्मनिर्भर बनाउन स्वावलम्वी र आत्मनिर्भर युवा बनाउने अभियानमा लागेको बताए । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) को सहजीकरणमा तानसेनका युवालाई उद्यमी बनाउने अभियान तानसेन नगरपालिकाले अगाडी बढाएको छ । जस अन्तर्गत युवा स्वरोजगारका लागि यस आर्थिक वर्ष २०७६÷७७ मा एक सय जना युवा वा समूहलाई ऋण प्रवाह गरिने भएको छ ।
तस्वीरः तानसेनका उत्कृष्ट २० उद्यमीहरुसँग तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही ।