पाल्पा, साउन २४
तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए । कोही कुर्सीमा थिए । कोही भुईमै लडिरहेका थिए । कसैको हातमा किताब थियो । कसैसँग कपी । कसैले बल खेलाईरहेका थिए । कसैले गोटी गन्दै थिए । कसैले मम्मिको काखमा लडिबुडी खेलिरहेको दृश्य निकै मर्मस्पर्धी थियो । धेरै मानिसहरुका जन्मदिन मनाउने आ–आफ्नै तरिका हुन्छन् । मन्दिर गएर भगवानको दर्शन गर्नु, अनाथ बालबालिका वा वृद्धवृद्धालाई खाना खुवाउँनु वा अन्य कुनै सामाजिक काम गर्नु पछिल्लो समय ट्रेन्डजस्तै बनिसकेको छ । यसरी जन्मदिन मनाउँदा धर्म हुन्छ भन्ने विश्वास एकातर्फ छ भने अर्कोतर्फ जन्मदिनको दिन सामाजिक काम गर्नुलाई आत्मसन्तुष्टिसँग पनि जोडेर हेर्ने गरिन्छ ।

https://youtu.be/O-uIbFZGY4I


सामान्यत विद्यालय सञ्चालनका लागि सरकारले ठूलो लगानी गरेको हुन्छ । कतै लगानीकर्ताहरुले विद्यालयका लागि लगानी गरि संस्थागत विद्यालय चलाएका छन् । तर जिल्ला सदरमुकाम तानसेन नगरपालिका–२ मेहलधारामा रहेको समुदायमा आधारित पुनस्र्थापना केन्द्र (सीबीआर) ले जन्मदिन मनाएरै विद्यालय चलाउँदै आएको छ । हिजो साउन २३ गते वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको जन्मदिन । उनले साथीभाईसँग रमाईलो गर्न छाडेर अपाङ्गता भएका विद्यार्थीको विद्यालयमा जन्मदिन मनाएका छन् । अपाङ्गता भएका विद्यार्थीहरुको पढाईका लागि केही खर्च प्रदान गर्ने, फलफूल बाँड्ने र लड्डु बाँडेर बस्यालले आफ्नो जन्मदिन मनाए । उनीमात्र यहाँका नौलापात्र थिएनन्, नारायण युवा क्लबका सचिव प्रविणराज शाक्य पनि जन्मदिन मनाउन सिबिआरको विद्यालयमा आएका थिए । उनले पनि त्यसै गरि आफ्नो जन्मदिन मनाएर फर्किए ।
तानसेन नगरपालिका क्षेत्रमा धेरै बालबालिका अपाङ्गता भएकै कारण विद्यालय जाँदैनन् । आफू जस्तै साथीहरू आफ्नै आँगनको बाटो भएर विद्यालय पोसाकमा ओहोर दोहोर गरेको टुलुटुलु हेरेर बस्नु उहाँको दिनचर्या जस्तै भइसकेको छ । अरूले जस्तै विद्यालय गएर पढ्ने मन भए पनि चिन्तित भएर घरमै रहनु बाहेक अर्को विकल्प छैन, उनीहरुसँग । यस्तै बालबालिकाहरुलाई ध्यानमा राखेर अहिले जन्मदिनमा खर्च हुने रकम छुट्याएरै जेसिसको पहलमा सिबिआरमा विद्यालय सञ्चालनमा आएको छ । गत वर्ष २०७५ देखी सञ्चालनमा आएको विद्यालयमा अहिले १० जना विद्यार्थी अध्ययनरत छन् । तर विद्यालय जन्मदिन मनाउनेहरुको सदासयतामा सञ्चालन हुँदै आएको छ ।
विद्यालयको व्यवस्थापन गरिरहेका कृष्ण गहतराज भन्छन्, मस्तीष्क पक्षघात भएका विद्यार्थीहरुको पढाई हुने फरक किसिमको विद्यालय आफुहरुले सञ्चालनमा ल्याएको बताए । ‘बहिरा, दृष्टिविहिन तथा सामान्य सुष्तमनस्थितीका बालबच्चाहरुका लागि नेपाल सरकारले पनि विद्यालय सञ्चालन गराउँदै आएको छ । विशेषगरी मस्तिष्क पक्षघात तथा न्यूरोलोजिकल अन्य समस्या भएका बच्चाहरुका लागि कसैले ध्यान पु¥याएको छैन, गहतराजले भने, जो जीवनभर आफ्नो खुट्टाले टेकेर हिड्न सक्दैनन् । आँफै सबै निर्णय गर्न नसक्ने छन् । पढेर १, २ कक्षा पास गर्न सक्दैनन् ती विद्यार्थीहरुलाई हेरेर हामीले यो विद्यालय सञ्चालनमा ल्याएका हौं ।’ मस्तिष्क पक्षघात र न्यूरोलोजिकल समस्या भएकाहरुका लागि नेपालभर विद्यालय खुलेको छैन । अन्य कुनै फण्ड छैन । जेसिसका साथीहरुले ५÷५ हजार सहयोगबाट सुरु गर्यौ । तानसेन बजारभित्रमात्र ३६ जना विद्यार्थी विद्यालय बाहिर छन् । स्रोतको अभावमा हामिले ल्याउन सकेका छैनौं, व्यवस्थापक गहतराजले भने, ‘विद्यालय अहिले जन्मदिन मनाएरै चलेको छ । कसैले आएर अक्षयकोष राखिदिनुहुन्छ । कसैले के दिनुहुन्छ । त्यसैको भरमा छौं ।’
वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले अपाङ्गता भएका बालबालिकाहरुका लागि दश हजारको अक्षयकोष स्थापना गरी जन्मोउत्सव मनाएका हुन् । बस्यालले विद्यालयमा रहेका दश जना अपाङ्ग बालबालिकाहरुलाई फलफूल समेत वितरण गरेका थिए । वगनाशकाली अध्यक्ष बस्यालले कुनै पनि बालबालिका अपाङ्गता भएकै कारण शिक्षाबाट बञ्चित हुनु दुखद भएको बताए । उनी भन्छन्, ‘शिक्षाको पहुँचमा नभएका बालबालिका भएमा स्थानीय सरकार विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्नुपर्छ ।’ समाजमा देखा परेका विकिृतिहरुलाई निरुत्साहित गर्नका लागि आफुले नयाँ र रचनात्मक कामको थालनी गरेको अध्यक्ष बस्यालले बताए । जन्मोत्सवमा हर्सोउल्लास गरी मनाइने भए पनि समाजमा केही न केही रचनात्मक काम गरेर मनाउनुपर्छ भन्ने अवधारणा अनुसार अगाडी बढेको बताए । सोही अवसरमा नारायण युवा क्लव तानसेनका सचिव प्रविन राज शाक्यले पनि आफ्नो जन्मोत्सवका अवसरमा विद्यालयमा पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयका अध्यक्ष राजनेन्द्र मुनी शाक्यले सबैको सहयमेग र साथ मिलेमा अपाङ्गता भएका बालबालिकाहरुलाई प्रभावकारी ढङ्गगले व्यवस्थापन गर्र्दै जाने बताए । उनी भन्छन्, अभिभावकहरु पनि आफ्ना बालबालिका त्यसै छोड्न चाहँदैनन् । आफूहरु पनि सँगै बस्नुहुन्छ दिनभर प्रायजसो । आउँदा दिनहरुमा हामीले ति अभिभावकहरुलाई पनि सीप सिकाउने किसिमको वातावरण बनाउँदै छौं । उनले तानसेन भित्रै रहेका ३६ जना अपाङ्गता भएका बालबालिकाहरु विद्यालय शिक्षा भन्दा बाहिरेकाले कहि कतैबाट सहयोग भएको खण्डमा उनीहरुलाई पनि विद्यालयमा समाहित गर्ने योजना सहित अगाडि बढिएको बताए । विद्यार्थीकी अभिभावक बिष्णुमाया सिंजालीले विद्यालय खुलेपछि बालबालिकाले केही सिकेको र उनीहरुको व्यवहारमा समेत परिवर्तन भएको बताईन् । उनी भन्छिन्, ‘यति वा उत्ति कक्षा भनेरमात्र पढिने होईन । म दिनभरजसो यही आएर छोरासँग बस्ने गरेकी छु । घरमा हुँदा सबै अरुका कुरा सुनेर बस्नुभन्दा हामीले पनि अब यहि केही गरेर दिन काट्ने र छोराको हेरचाह गर्ने पाउँदा खुसी भएका छौं ।’
अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक अपाङ्गता, दृष्टिविहीन अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण–दृष्टिविहीन अपाङ्गता, स्वर–बोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता र बहु–अपाङ्गता गरी ७ प्रकारमा वर्गीकरण गरिएको छ । नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या कुल जनसङ्ख्याको झण्डै २ प्रतिशत रहेको छ । यो तथ्याङ्कलाई आधार मान्दा नेपालमा अहिले ५ लाखभन्दा बढी व्यक्ति कुनै न कुनैरूपमा अपाङ्गताको जीवन बिताइरहेका छन् । अपाङ्गता भएका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको हक हुने साथै दृष्टिविहीन व्यक्तिहरूले ब्रेललिपि एवं बहिरा व्यक्तिहरूले साङ्कतिक भाषामा शिक्षा लिन पाउने भनी कानूनी रुपमा स्पष्ट उल्लेख गरिएको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र समुत्थानका लागि बनेको अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि शैक्षिक व्यवस्थाबारे केही महत्वपूर्ण प्रावधान गरिएको पाइन्छ ।