पाल्पा, साउन २५
धनबहादुर सुनारीको परिवारलाई मृत्यु दावी अन्तर्गत दश लाख त्रियानब्बे हजार पाँच सय रुपैयाँ भुक्तानी गरिएको छ । पाल्पाको सिद्धबाबामा असार २८ गते गएको पहिरोमा परि धनबहादुरको मृत्यु भएको थियो ।
निस्दी गाउँपालिका–४, मित्यालका धनहादुर सुनारी मगर माथीबाट खसेको पहिरोसँग परि सिद्धबाबामा मृत्यु भएको थियो । नेशनल लाईफ इन्सुरेन्स कम्पनीमा जीवन बीमा गरेका सुनारीलाई दावी भुक्तानी गरिएको हो । कम्पनीका शाखा प्रबन्धक उमापती गैरेले मृतक धनबहादुरको धर्मपत्नी बिष्णुमाया रुचाललाई चेक हस्तान्तरण गरेको हो ।
पाँच लाखको विमा गरेका सुनारीले सावधिक विमा अन्तर्गत तीन किस्ता रकम तिरेका थिए । शाखा प्रबन्धक गैरेले विमा आवश्यक भएको बेलामा गर्न नसकिने र विमा गर्नु अत्यावश्यक रहेकोले विमा गर्न आम नागरिकमा आग्रह गरे ।