पाल्पा, साउन ७
विकास निर्माणका लागि आएको ६६ करोड ६५ लाख रुपैयाँ बजेट फिर्ता भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाबाट बजेट फिर्ता (फ्रिज) भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा चालुतर्फ कुल ४ अर्ब ८४ करोड ८२ लाख ९९ हजार ५ सय ७ रुपैयाँ ७७ पैसा अख्तियारी आएको थियो । यस्तै ३ अर्ब १५ करोड ७६ लाख ५१ हजार रुपैयाँ पूँजिगत बजेट प्राप्त भएको थियो । संघीय सरकारबाट प्राप्त उक्त रकमको चालुतर्फ ९६ प्रतिशत र पुँजीगत तर्फ ७८ दशमलव ६३ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रण उदयराज भट्टराईले बताए । यस्तै प्रदेश सरकारबाट चालुतर्फ २३ करोड ७१ लाख ५८ हजार पाँच सय र पूँजीगतमा ७७ करोड ९९ लाख ४६ हजार रुपैयाँ जिल्लामा भित्रिएको थियो । जसमध्ये चालुतर्फ ७५ दशमलव ७२ र पूँजीगत तर्फ ७६ दशमलव ३८ प्रतिशत रकममात्र खर्च भएको हो ।
जिल्लामा अधिकांश विकासे कार्यालयले बजेट खर्च गर्न सकेनन् । प्रमुख कोष नियन्त्रण उदयराज भट्टराईले प्रदेश सरकारका कार्यालय समयमा स्थापना हुन सकेनन् । संघले समयमा ठेक्कापट्टा व्यवस्थापन गर्न सकेन, जसका कारण बजेट फिर्ता भयो । उनी भन्छन्, “समयमा ठेक्का निकाल्न नसक्नु विकासे कार्यालयको मुख्य समस्या हो । निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्नु, कर्मचारी समायोजन हुनु जस्ता विषयका कारण बजेट फिर्ता भएको छ ।” स्थानीय तह बाहेकका कार्यालयले मात्र ६६ करोड बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । स्थानीय तहको सम्पूर्ण विवरण भने प्राप्त भैसकेको छैन ।