पाल्पा, साउन ५
सधै मलिन अनुहारमा देखिने कारागारका बन्दीहरु मंगलबार भने हर्षि मुद्रामा देखिन्थे । सबै ‘टिपटप’ पोषाकमा सजिएका थिए । कारागारभित्र छुट्टै मञ्च बनाएर व्यानर टाँसिएको थियो । आय आर्जन सम्बन्धी सीप विकास तालिम । प्रमुख जिल्ला अधिकारी सहितको विशिष्ट व्यक्तिहरुको एक हुल कारागार भित्र पस्नासाथ गडगडाहट तालिले स्वागत भयो । लाग्थो ठूलो मेला महोत्सव स्थलमा सेलीब्रेटीको आवागमन भएको छ । सबै अतिथिको स्वागतमा बसेका कैदीबन्दीहरु लामबद्ध थिए । झण्डै एक घण्टा सञ्चालन भएको कार्यक्रममा तीन सय जनाको उपस्थिति रहेको कार्यक्रममा एक शब्द पनि मञ्च बाहिरबाट आवाज सुनिएन । भद्र र शान्त कार्यक्रममा पुगेका अतिथिहरु पनि आश्चर्यमा परे । कोही भन्दै थिए, कारागार सुधार गृह बनेछ । साँच्चिकै मानिसहरु यसरी अनुशासित भएर बस्न पनि सक्दा रहेछन् । पुरुष बन्दी गृहभित्रको भन्दा धेरै सफा र चिटिक्क परेको मञ्चमा ढाकाका सामाग्री सजाएर महिला बन्दीहरु अतिथिको पर्खाईमा थिए । पुरुष बन्दीहरुतर्फको सीप विकास तालिम प्रमाणपत्र बुझाएर प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव सहितको टोली महिला बन्दीगृहमा पुगेको थियो ।


अपराध प्रमाणित भएपछि कैदीलाई राखिने कारागार सुधार गृहका रुपमा विकास हुँदै गएको छ । कारागारमा रहेका बन्दीहरु पनि उद्यमशील बन्ने तथा भित्रि प्रशासनमा सुधार ल्याउन थालेपछि कारागार सुधार गृहका रुपमा विकास भएको हो ।
बन्दीहरुलाई साँधुरो स्थानबाट खुला सुविधा सम्पन्न भवनमा सारिएको छ । पुरानो जीर्ण भवन खाली गरिएको छ । साँधुरो कोठा त्यसमा पनि ठेलमठेल कैदी बन्दिहरु देखिने पाल्पा जिल्ला कारागार अहिले सुधार गृहको रुपमा विकास भएको छ । कर्तव्य ज्यान, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ, भ्रष्टाचार, अपहरण तथा शरीर बन्धक, डाँका, खोटा टक तथा टिकट चलन, विदेशी विनिमय, लागुऔषधको कारोबार, प्राचीन स्मारक र वन तथा वन्यजन्तुसम्बन्धी मुद्दाका कसुरदार अहिले पनि यहि कारागारभित्रै छन् । तर लाग्छ सुधारगृहको रुपमा विकास हुँदै गएको कारागारभित्र यस्ता मानिसहरु छैनन् । २०६३ सालदेखी कारागारमा कैद भुक्तान गर्दै आएका एक युवकले पहिले मानसिक यातना मिल्ने कारागारमा अहिले सीप विकासका तालिम पाउन थालेको बताए । ‘पहिले केही व्यक्तिहरुको दबावमा हामी बस्न बाध्य थियौं । कारागारभित्रै जथाभावी कुटाई खानुपथ्र्यो । अहिले धेरै परिवर्तन भएको छ, उनले भने, नाईकेको व्यवहार र कारागार प्रशासनको सुधारले हामीलाई राहत मिलेको छ ।’
पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले कैदी बन्दीहरु जेलबाट निस्केपछि पनि आपराधिक कर्ममा संलग्न हुने प्रवृत्ति रोक्न उनीहरूलाई गलत नजरले हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्न उद्यमशीलता विकासका कार्यक्रम प्रभावकारी हुन सक्ने बताए । उनी भन्छन्, ‘सीप विकाससँगै हामी कर्मचारी मिलन केन्द्र मार्फत् सिलाई मेशिन समेत हस्तान्तरण गरेका छौं । मेहनत गरेर खाने बानीको विकास होस् । यी मेशिनमा खीया नलागोस् ।’ उनले तालिमको सीपलाई व्यवहारमा लागु नगर्ने कैदीबन्दीहरुको सिफारिस नगर्ने बताए । कारागार कार्यालय पाल्पाकी प्रमुख भक्तिसरा रानाले विभिन्न किसिमका कार्यबाट कानून उल्लङघन गरेका कैदीबन्दीहरुलाई जिल्ला प्रशासन कार्यालय पाल्पाको बजेटबाट आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको बताईन् । उनी भन्छिन्, ‘कैद भुक्तान गरि घर फर्केपछि समाजमा घुलमिल गरेर बस्न सहज होस् । उनीहरुमा सीप विकास भए काम गरेर खान सक्छन् । कारागार भित्र सजाय भुक्तान गर्दा पनि समय बितोस् भनेर तालिम चलाईएको बताईन् ।’ कारागारका चौकीदार (नाईके) राजु आचार्यले कारागार प्रशासन भित्रको अवस्थामा सुधार ल्याउँदा कारागार सुधार गृहको रुपमा विकास हुँदै गएको बताए । उनले कारागार प्रशासनको सहयोगमा कैदीबन्दीहरुलाई जीवन उपयोगी सीप सिकाउँदै लैजाने योजना रहेको बताए ।
२०७६ असार २ गतेदेखी ३१ गतेसम्म ढाका सामाग्री उत्पादन तालिम सञ्चालन गरिएको थियो । सोही अवसरमा चुरा, पोते, ऐना, खेलौना, मुढा बनाउने सीप विकास तालिम एक हप्तासम्म सञ्चालन गरिएको थियो । उनीहरुले बनाएको सामाग्री स्थानीय विभिन्न बिक्रेताहरुसँग सम्पर्क गरि बिक्रि गरिने बताईएको छ । तालिम कार्यक्रमकी सहजकर्ता शीतम भण्डारीले अन्य स्थानमा भन्दा कारागार भित्र तालिम सिक्ने प्रशिक्षार्थीहरु उत्साहित पाएको बताईन् । तालिममा सहभागी हर्ष बहादुरले आफुहरुले सीप विकासका तालिम प्राप्त गर्दा औधी खुसी लाएको बताए । कर्मचारी मिलन केन्द्र पाल्पाका अध्यक्ष राम प्रसाद पाण्डेले आफुहरुले कारागारका कैदीबन्दीहरुमा सीकेको सीप निरन्तर रुपमा हस्तान्तरण हुँदै जाओस् भनेर सिलाई मेशिन वितरण गरेको बताए । कारागारभित्र बनेको सामाग्री बिक्रि वितरण गर्दै आएका व्यापारी बालकृष्ण अर्यालले ‘ओरजिनल’ सामाग्री बन्छ भनेर सामाग्री किन्नेहरु धेरै हुन्छन् । मैले धेरै मुढाहरु कारागारभित्र बुनिएका बिक्रि गर्दै आएको छु ।
पाल्पा जिल्ला कारागारमा स्वदेशी कैदी १ सय ८३ र थुनुवा ४५ जना रहेका छन् । यस्तै विदेशी कैदी ५ जना र थुनुवा ८ जना गरि जम्मा २ सय ४१ जना पुरुष कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । पाल्पा जिल्ला कारागारको क्षमता १७५ पुरुष र महिला १ सय ५० जनाको छ । महिलाहरुतर्फ भने ५२ जना कैदीबन्दी छन् । उनीहरुसँगै दुई जना आश्रित बालबालिकाहरु रहेको जिल्ला कारागार पाल्पाले जनाएको छ । उद्यमशीलताका लागि गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा ६० जना पुरुष तथा महिला बन्दीहरुलाई ढाका सामाग्री उत्पादन तथा सीप विकास तालिम सञ्चालन गरिएको हो ।
कुनै अभियोगमा मुद्दा चलेपछि सबुतप्रमाण आधारमा अदालतले दोर्षी र निदोर्षी भएको फैसला हुन्छ । दोषी ठहर भए अदालतले तोकेको कैद सजाय भुक्तान गरी कारागारबाट बाहिर निस्कन पाउनु खुसीको विषय हुनुपर्ने हो । तर कैद सजाय भुक्तान गरेर निस्केका केही मानिस समाजमा सामान्य ढंगले जीवनयापनका लागि अघि बढ्नुको साटो पुनः आपराधिक कर्ममा संलग्न हुने प्रवृत्तिले कारागार ‘सुधार गृह नभएर झन् कडा खालका अपराधी जन्माउने थलो बनेको’ समयमा पाल्पा कारागारमा उद्यमशीलता विकास भएको हो । अपराधको प्रायश्चित गर्नुको साटो जेलबाटै छुट्दा आपराधिक क्रियाकलापमा लाग्ने योजना बुन्दै निस्कनेहरु बढ्न नदिन सीप विकास तालिमले सहयोग पु¥याउने अपेक्षा गरिएको तालिम व्यवस्थापन गरेको ह््याप्पी नेपालमा कार्यक्रम संयोजक धन बहादुर रुचालले बताए । उनी भन्छन्, ‘सीप सिकेर दैनिक ५० भएपनि आम्दानी हुन्छ । सोंच नकारात्मकबाट सकारात्मक तर्फ उन्मुख हुन्छ ।’
गत भदौ १ बाट लागु हुने फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्न बनेको विधेयकले अभियोग प्रमाणित भएका कसुरदारलाई कानुन बमोजिम दुई वर्ष वा सोभन्दा कम कैदको सजाय दिनुपरेमा कसुरको प्रकृति, कसुरदारको उमेर, आचरण, कसुर गर्दाको परिस्थिति, कसुर गर्दा अपनाएको तरिका समेतलाई विचार गरी त्यस्ता व्यक्तिलाई सुधारगृहमा राख्न उचित देखिएमा सम्बन्धित अधिकृतको सिफारिसमा अदालतले सुधार गृहमा पठाउन सक्ने व्यवस्था विधेयकको दफा २५ मा छ । सो विधेकयको दफा २४९१० बमोजिम लाई भने सुधार गृहमा पठाइने छैन । एक वर्षसम्म कैद निर्धारण भएका कसुरदारलाई नियमित रुपमा कैदमा राख्न पर्ने स्थिति नदेखिएमा त्यस्ता व्यक्तिलाई सप्ताहको अन्तिम दिन वा दैनिकरुपमा रात्रिकालीन समयमा मात्र कारागार बस्न पर्नेगरी कैद निर्धारण गर्न सकिने व्यवस्था दफा २७ मा छ । यसैगरी, दफा २८ ले भने कैदको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई सम्बन्धित जिल्ला अदालतका न्यायाधीशले कारागार प्रमुखको सिफारिसमा खुल्ला कारागारमा राख्न आदेश दिन सक्ने व्यवस्था छ । यस्तै दफा २९ बमोजिम एक वर्षभन्दा बढी कैद पाई सजायको दुई तिहाई अवधि भुक्तान गरिसकेका कैदीलाई बाँकी अवधि तोकिएको सर्त पालना गरी सम्बन्धित अधिकृतको निगरानीमा ‘प्यारोल’मा राख्न (समाजमा जीवनयापन गर्न)का लागि सम्बन्धित न्यायाधीशले आदेश दिन सक्ने पनि व्यवस्था छ ।
जन्मकैदका मुद्दा, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारजस्ता मुद्दाका कसुरदारलाई भने प्यारोलमा राख्न मिल्दैन । राम्रो आचरण भएका कसुरदारलाई निजको कैद भुक्तान गर्नुभन्दा छ महिना अगावै पारिवारिक पुनर्मिलन, समाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापना, सामाजिक एकीकरण तथा पुनःस्थापना, व्यवसाय तथा रोजगारी र सीपमूलक तथा रोजगारमूलक तालिमका लागि समाजिकीकरण गर्न सक्ने व्यवस्था दफा ३० मा गरिएको छ । तीन वर्षभन्दा बढी कैदको सजाय पाएका कसुरदारले चाहेमा निजलाई कैदबापत श्रममा लगाउन सकिने तथा बिरामी भएका आफ्ना नातेदारलाई भेटेर फर्किन र आफैले सद्गत वा काजकिरिया गर्नुपर्ने, नातेदारको मृत्यु भएमा तोकिएको दिन फर्किने गरी काजकिरियाका लागि कारागार बाहिर जान सकिने व्यवस्था दफा ३१ र ३२ मा गरिएको छ ।
तस्वीरः सीप विकास तालिम लिएर प्रमुख जिल्ला अधिकारीबाट प्रमाणपत्र ग्रहण गर्दै प्रशिक्षार्थीहरु । तस्वीरः मुक्ति÷नागरिक