पाल्पा, साउन ५
रम्भा गाउँपालिकाले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा खाजा तथा निशुल्क दुर्घटना उपचार बिमा कार्यक्रम सुरु गरेको छ । रम्भाले गाउँपालिका भित्रका ३७ सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरेको जनाएको हो ।

रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले पत्रकार सम्मेलन गरेर दिवा खाजा तथा निशुल्क दुर्घटना बिमा कार्यक्रम सुरु गरिएको बताए । ‘हामी कक्षा ५ सम्म अध्ययन अध्यापन हुने सबै विद्यालयमा विद्यार्थीहरुका लागि निशुल्क खाजाको व्यवस्था गर्न बजेट विनियोजन गरेका छौं । विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम गत वर्ष पनि प्रदान गरेका थियौं । यो आर्थिक वर्षदेखी सबै विद्यालयमा सुरु हुन्छ, अध्यक्ष भण्डारीले भने, ती कक्षा ५ सम्म अध्ययन गर्ने झण्डै २ हजार २ सय ४४ विद्यार्थीहरुलाई निशुल्क दुर्घटना औषधीउपचार बिमा गरेका छौं । जसबाट विद्यार्थीहरुले चोटपटक लागेमा १० हजार रुपैयाँसम्म निशुल्क उपचार गराउन सक्नेछन् ।’ उनले रम्भालाई स्मार्ट गाउँपालिका बनाउने योजना सहित योजना अघि सारेको बताए । उनी भन्छन्, ‘विभिन्न आधारहरू पूरा गरेपछि गाउँपालिकालाई स्मार्ट गाउँपालिका बनाउन सकिने रहेछ । हामील ति आधारहरु पुरा गरेर कार्यक्रमहरु पनि सञ्चालन गर्दै जान्छौं ।’
गाउँपालिकको पाँचौ गाउँसभाबाट ४० करोड बढीको योजना तथा कार्यक्रम ल्याएको छ । रम्भा गाउँपालिका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले आर्थिक वर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै टुकी रहित, बालमैत्री, खरको छानामुक्त, पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम अहिले भईरहेको बताए । आर्थिक वर्ष २०७७ को असार मसान्तभित्रमा बालमैत्री गाउँपालिका, पूर्ण सरसफाईयुक्त गाउँपालिका, टुकीरहित गाउँपालिका, खरको छानामुक्त गाउँपालिका बनाउने गरी कार्यक्रम तय गरिएको उनले बताए । उनी भन्छन्, ‘गाउँपालिकाले मासु र दुधमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । किसानलाई अनुदान दिने र आवश्यक उपकरणमा सहयोग गरेर दुध र मासुमा गाउँपालिकालाई आत्मनिर्भर गराइने छ । यस्तै महिला तथा युवालाई तालिमका लागि गाउँपालिकाले ३८ लाख बजेट विनियोजन गरिएको छ ।’
गत आर्थिक वर्ष २०७५÷७६ मा ४४ दशमलव ५ किलोमिटर नयाँ ट्राक खोलेको रम्भाले गाउँपालिकाले यो वर्ष पनि सडक निर्माण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गतवर्ष १ सय ९ किलोमिटर सडक स्तरोन्नती गरिएको थियो । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलको विकास र पर्यटक आकर्षित गर्ने पूर्वााधर निर्माण गर्ने, वडा कार्यालय देखि गाउँपालिकासम्म पुग्ने सडकको स्तरउन्नतिका लागि बजेट विनियोजन गरिएको रम्भा गाउँपालिकाले जनाएको छ । बजेट सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कार्यबहाक अध्यक्ष भरत शर्माले मदिरा नियन्त्रण गर्ने, संचार क्षेत्रलाई परिचालन गर्ने लगायतका कार्यक्रम समेट्न सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चारकर्मीहरुले विभिन्न अभियानहरु सञ्चालन भैरहने तर कुनै पनि पुरा नहुनेभन्दा ठोस योजना लिएर अगाडी बढ्न सुझाव व्यक्त गरेका थिए । मुक्ति न्याैपानेबाट