पाल्पा,असार २६

आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाडौंको वीर अस्पताको ३४५ नम्वरको वेडवामा छटपटाई रहेका व्रेन ट्युमर पीडित हरी भूषाललाई बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको पहलमा प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका ८ घिउसीवासका ३५ वर्षका भूषालको उपचारका लागि अमेरिकामा रहेका नेपाली र गाउँपालिकाका अध्यक्ष सहितका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।

बगनासकाली गाउँपालिका ९ घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल अमेरिकामा रहेका रामप्रसाद बस्याल, विष्णु बस्याल लगायतका नेपाली युवाहरु मिलेर दुई लाख एक हजार सात ७३ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनकी सञ्चालक ज्ञानु कार्कीबाट चार हजार गरी दुई लाख १० हजार सात सय ७३ रुपैयाँ सहयोग भएको हो । भुषालको उपचारमा आर्थिक अभाव भएको थाह भएपछी गाउँपालिका अध्यक्ष बस्यालले विदेशमा रहेका नेपालीहरुसँग सहयोगको पहल गरेका थिए । संकलित रकम गाउँपालिकाका अध्यक्ष बस्याल र होटल सञ्चालक कार्कीले काठमाडौं पुगेर विरामी पीडितका परिवारलाई विहिबार हस्तान्तरण गरेका छन् ।

विरामी परेर बेडमा छटपट्याई रहेको देख्दा र सुन्दा आँसुनै आयो र थोरै भएपनि उपचारमा सहयोग होस भनेर बैदेशिक रोजगारमा रहेका दाजुभाईहरुसँग सक्दो सहयोग संकलन गरी सहयोग गरेको अध्यक्ष बस्यालले बताए । रकम वुझेपछी पीडितका परिवारले आपतको वेला सहयोगको पहल गर्ने अध्यक्ष बस्याल र बदैशिक रोजगारमा रहेका अन्य सहयोगी मनहरुलाई धन्यवाद दिए ।