रामचन्द्र रायमाझी
पाल्पा, असार २२

ग्रामीण भेगमा निर्वाहका लागि पालिने स्थानीय जातका कुखुरा क्रमशः लोप हुँदै जान थालेका छन् । शहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको स्थानीय जाति हराउँदै जान थालेका हुन् । लोकल कुखुराको माग बढ्दो रहे पनि उन्नत जातका कुखुराको उत्पादन बढेसँगै स्थानीय कुखुरा लोप हुन थालेपछि जिल्लाको माथागढी गाउँपालिका त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेको छ । आठ वटा वडा रहेको गाउँपालिकाले स्थानीय जातका कुखुरा प्रवद्र्धनका लागि सबै वडाका कृषकहरुलाई निःशुल्क रुपमा चल्ला वितरण गरेर रैथाने जातका कुखुरा प्रवद्र्धनमा जुटेको हो ।

उन्नत जातका कुखुराबाट छोटो समयमा धेरैं उत्पादन लिन सकिने, थोरै दानामा पनि धेरै उत्पादन हुन सक्ने र आम्दानी पनि बढी लिन सकिन्छ । तर, स्थानीय जातका कुखुराको वृद्धि निकै ढिलो हुने, बाहिर खुल्ला छाडेर पाल्नुपर्ने, अण्डाको उत्पादन पनि कम हुने हुँदा किसानहरुको रुची पनि घट्दै जान थालेपछि गाउँपालिकाले स्थानीय वस्तुको प्रवद्र्धन कार्यक्रम अन्तर्गत सबै वडाका २८ जना कृषकहरुलाई एक हजार पाँच सय वटा निःशुल्क कुखुराका चल्ला तथा औषधी प्रदान गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘लोकल कुखुराको मासुको माग अत्याधिक रहेकाले यसको प्रवद्र्धनमा गाउँपालिका लागेको छ ।’

गाउँपालिकाले लोपउन्मूख अवस्थामा रहेका स्थानीय जातका कुखुराको प्रवद्र्धन गर्दै ग्रामीण पर्यटन र व्यवसायिक उत्पादनसँग जोड्दै जाने अध्यक्ष थापाले जानकारी दिए । कृषकलाई चल्ला वितरण गर्दै उपाध्यक्ष निर्मला भट्टराईले आयातित विकासे जातका कारण गाउँघरमा पाइने स्थानीय कुखुरा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न कृषकलाई आग्रह गरिन् । उनले स्वादका हिसाबले उन्नत जातका कुखुराभन्दा लोकल कुखुरा बढी रुचाइने भएपनि यसको व्यावसायिकरण हुन नसक्दा पनि लोप हुँदै गएकाले यसको बजारीकरणमा पनि गाउँपालिकाले विशेष ध्यान दिने बताईन् ।

कृषकहरुलाई स्थानीय जातका कुखुरा प्रति आकर्षित गर्न निःशुल्क रुपमा लोकल जातका चल्ला वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपककुमार नेपालीले बताए । उनले आगामी दिनमा पनि चल्ला वितरण गर्दै जाने जानकारी दिए । गाउँपालिकाले प्रक्रिया पूरा गरी आउने कृषकहरुलाई निःशुल्क रुपमा चल्ला वितरण गर्दै आएको छ । यस वर्ष ४८ जना कृषकहरुले निवेदन दिएकोमा २८ जना कृषकहरुले मात्र प्रक्रिया पूरा गर्न सकेकाले चल्ला पाउन सकेको गाउँपालिकाले जनाएको छ । विकासे जातभन्दा स्वादिलो र पोषिलो मानिने स्थानीय जातका कुखुरा अहिले जिल्लामा देखिनै छाडेका छन् ।

गाउँघरमा उपलब्ध हुने आहाराको भरमा पाल्न सकिने, स्थानीय वातावरणमा अनुकूलन हुन सक्ने कुखुराका जातहरू हिजोआज विरलै भेटिन्छन् । माथागढी गाउँपालिकाले जस्तै अन्य स्थानीय तहहरुले पनि स्थानीय जातका कुखुराहरुको प्रवद्र्धन गरी ग्रामीण पर्यटन र व्यवसायिक उत्पादनसँग जोड्न जरुरी छ ।