पाल्पा, असार २०
उद्यमशीलता मार्फत् सिर्जनशिलताको विकास गर्दै आएका दृष्टिविहिनहरुलाई ‘गमनशीलता’ तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम तानसेनमा अपाङ्ग समूहले विद्यार्थी छात्राबास ‘होस्टेल’ सञ्चालन गर्दै आएका छन् । छात्राबासका फरक क्षमता भएका व्यक्तिहरुको समूहका दृष्टिविहिनहरुलाई एक हप्ते तालिम प्रदान गरिएको हो ।
तानसेन नगरपालिकाको सहयोगमा सिर्जनशील अपाङ्ग स्वाभलम्वन केन्द्रका २० जना दृष्टिविहिनहरुलाई तालिम प्रदान गरिएको हो । फरक क्षमता भएका व्यक्तिहरुका लागि दैनिक क्रियाकलाप सञ्चालन गर्न, हिँडडुल गर्न तथा उद्यमशील कार्यमा सहजीकरणका लागि तालिम प्रदान गरिएको केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले बताए । उनी भन्छन्, ‘यहाँका अपाङ्ग विद्यार्थीहरु भने राज्यको भर नपरि आफ्नै खुट्टामा उभिने उपायमा खोजीमा छन् । शारिरिक रुपमा पूर्ण तन्दुरुस्ती नभएता पनि विद्यार्थीहरु आम्दानी गरेर स्नातकोत्तर सम्मको अध्ययन गर्ने गरेका छन् । उनीहरुको सहजताका लागि तालिम सञ्चालन गरेका हौं ।’ जीवन डल्लाकोटीको सहजीकरणमा भएको तालिम कार्यक्रममा बोल्दै तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले दृष्टिविहीन नागरिकलाई ब्रेललिपी तथा बहिरा तथा स्वर बोलाइ सम्बन्धी अपाङ्गता भएकालाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकलाई सरकारले प्रदान गर्न नसकेको बताए । तानसेन नगरपालिका वडा नंं ७ की वडा सदस्य गंगा रोकायले आर्थिकरूपमा विपन्न, अशक्त र असहाय अवस्थामा रहेका अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षाका क्रियाकलापहरु सञ्चालन गर्न स्थानीय सरकार लागि परेको बताईन् ।
सिर्जनशील अपाङ्ग स्वाभलम्वन केन्द्रसँग अहिले ५५ जना सदस्य छन् । उनीहरु सबै कुनै न कुनै किसिमले शारिरिक रुपमा कमजोर छन् । तर उनीहरुले अहिले विभिन्न उद्यमशील कार्य मार्फत् संस्थागत आम्दानी वृद्धि गरेका छन् । तालिम असार १३ देखी १९ गतेसम्म सञ्चालन गरिएको हो । २०६७ सालमा स्थापना गरेको संस्था परिलक्षित केन्द्रको सहयोग तथा आफ्नै कामहरुबाट ६० जना अपाङगता भएका व्यक्तिहरुलाई छात्राबास राखी अध्यापनमा सहजिकरण गर्दै आएको छ । अपाङता भएका विद्यार्थीहरु डढेलधुरा, सुर्खेत, काभ्रेपलाञ्चोक, बाग्लुङ्ग, कास्की, रुपन्देही, दाङ, पर्वत, अर्घाखाँची जिल्लाबाट छात्राबासमा आएर बसेका छन् ।