स्याङ्जा र पाल्पा जोड्ने दुई पुल निर्माण ठप्प
पाल्पा, असार १७
गण्डकी प्रदेशको स्याङ्जा र प्रदेश नं. ५ को स्याङ्जा र पाल्पा जिल्लालाई जोड्ने दुई पुलको डिजाइन त्रुटी भएपछि पुल निर्माणको कार्य ठप्प भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ८ वर्ष अघि सम्झौता भएर निर्माण सुरु भएको पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकी नदीका दुई मोटरेबल पुलको काम रोकिएको हो ।
दुई प्रदेशका दुई जिल्ला जोड्ने पुलको वेल फाउन्डेशनको डिजाईन अनुसार काम हुन नसकेपछि पाउल फाउन्डेशन तयार गरि काम सुरु गर्ने तयारी गरिएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६, प्याकलुक जोड्ने पुलको फाउन्डेशनको काम इष्टिमेट अनुसार गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । यस्तै चापाकोट नगरपालिका–९, निर्दिम र रामपुर नगरपालिका–८, भुजात जोड्ने निर्दिमघाट पुलको काम पनि रोकिएको हो ।
एउटै दिन सुरु गरिएको दुई मोटरेवल पुलको निर्माण महाशाखाको डिजाईन फेल भएपछि निर्माणमा समस्या देखिएको हो । २०६८ साल असार २६ गते इलाईट एसबिए जेभिले दामाचौर पुल निर्माणको जिम्मेवारी लिएको थियो । कन्काई÷मिलिनीयम÷नेपाल प्रगती जेभिले निर्दिमघाट पुल निर्माणको जिम्मेवारी प्राप्त गरेको थियो । तीन बर्षमा काम सक्ने गरि सम्झौता गरिएको पुल निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दा भने समस्यामा परेका छन् । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर केदार प्रसाद नेपालले डिजाईन अनुसार जग निर्माणमा केही समस्या आएको बताए । उनी भन्छन्, ‘वैकल्पिक डिजाईन तयार गर्न, स्वीकृत गर्न र लागत स्वीकृत गर्न ढिलो हुँदा काम रोकिएको छ । संसोधित डिजाईन स्वीकृत भएर आइसकेको र लागत स्वीकृत हुन साथ निर्माण प्रक्रिया अघि बढ्ने छ ।’ अहिले वेल फाउण्डेसन सम्भव नहुने भए पछि वैकल्पिक डिजाईन पायल फाउण्डेशन डिजाईन स्वीकृत भैसकेको र संसोधित लागत स्वीकृत हुनसाथ वर्षाद लगतै काम सुरु गर्न निर्देशन दिने नेपालले बताए ।
वैकल्पिक डिजाईन अनुसार १५ देखि २० प्रतिशत लागत बढ्ने भएको छ । पुलको नयाँ टेण्डर प्रकाशन गरि नयाँ निर्माण कम्पनीलाई दिएमा हालको मुल्य बृद्धि भन्दा दोब्बर खर्च लाग्ने देखिएको छ । दामाचौर पुल निर्माण उपभोक्ता समितिका सदस्य कृष्ण कुमार अर्यालले केन्द्रबाट आउने राजनितीज्ञहरुले आउँदा पटक पटक काम अघि बढाउने प्रतिवद्धता जनाए पनि प्रक्रिया अघि नबढेको बताए । वेल फाउण्डेसनको डिजाईनमा दुबै पुलका निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउका पिलर निर्माण पश्चात नदीको मध्य भागमा पिलर बनाउने क्रममा कडा चट्टान भेटिए पछि डिजाइन अनुसारको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैया ६० पैसामा निर्माण सक्ने गरि इलाईटले जिम्मा लिएको प्याकलुक–दामाचौर पुलको ३५ प्रतिशत काम सम्पन्न भैसकेको सडक डिभिजन पाल्पाले जनाएको छ । ६०÷६० मिटरका तिन स्पाममा १ सय ८१ दशमलब ६९ मिटर लम्बाई र ८ मिटर चाडाई रहेको पुलको नदी किनारका पिल्लर बनिसकेको छ । विच भागमा रहने दुई पिल्लर निर्माणको क्रममा डिजाईन अनुसार वेल फाउण्डेसन १५÷१५ मिटर जमिन मुनी दब्नु पर्नेमा ५ मिटर भन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चात काम गर्ने प्रक्रिया रोकिएको छ । निर्माणका सम्पूर्ण सामाग्री तयारी अवस्थामा रहे पनि डिजाईन परिवर्तन गर्नु पर्ने भएकाले ३ वर्ष यता पुलको काम थप्प बनेको छ ।
यस्तै १ सय ५० मिटर लामो, तिन स्पाममा ४ पिलरको डिजाईन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको थियो । दुई छेउका पिलर र बिचको एक पिलर निर्माण पश्चात अर्को पिल्लरको डिजाईन फेल भए पछि निर्दिमघाट पुलको पनि काम अघि बढ्न सकेको छैन । डिजाईन फेल भए पछि नयाँ डिजाईन नपाउँदा काम रोकिएको बताउँदै निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले डिजाईन आएमा दुई वर्ष भित्र पुल सम्पन्न हुने बताए । उनले माटो परिक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इन्जिनियरले डिजाईनमा गल्ती गर्नाले ठुलो क्षति ब्यर्होन बाध्य भएको बताए । सडक डिभिजन पाल्पाका अनुसार निर्दिम घाट पुल ३५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।
रामपुर ६ का स्थानिय विष्णु माया ढकालले पाल्पा र स्याङ्जाका जनताको सहजताको लागि पुल माग गर्न पैसा उठाएर डेलिगेशन गएर पुल पर्दा खुशी भएका जनता अहिले काम रोकिदा निरास बनेको बताईन् । पुल बनेमा गण्डकी प्रदेश र ५ नं. प्रदेश विचको व्यापारिक चहलपहल अझ बढ्ने बताईन् । मोटरेबल पुल नहुँदा प्याकलुक दामाचौरको झोलुङ्गे पुल बाट सयौं स्थानिय मोटरसाईकल बाट ओहोर दोहोर गर्न बाध्य छन् । पुलको निर्माण भएमा स्याङ्जा लगाएत कालीनदी पारिका स्थानियहरुलाई पाल्पाको रामपुर, मित्याल, अरुणखोला, हुँदै तराई जान सहज हुनेछ । भने तराईका स्थानियहरुलाई पोखरा लगाएतका ठाउँ जानलाई सहज हुनेछ । पुलको प्रयोगबाट स्थानीय स्तरमा उत्पादीत वस्तु बुटवल, पोखरा, नारायणगढ जस्ता बजार सम्म ओसारपसार गर्न सहज हुनेछ ।