जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जीसीले जिल्लाको शान्ति सुरक्षा ब्यवस्थापनमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

भर्खरै मात्र पाल्पाको प्रहरी प्रमुखको रुपमा आएका एसपि जिसीले पत्रकारहरुसितको परिचयात्मक तथा भेटघाट कार्यक्रमका अवसरमा प्रहरी र समुदायको सहकार्यमा सामाजिक अभियानहरु समेत चलाइने बताए । उनले महिला हिंसा, यौन दुब्र्यवहार लगायतका घटनामा कुनै प्रकारको सम्झौता नहुने र त्यसप्रकारका सम्झौतामा प्रहरीले संलग्न नहुने समेत बतए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, पत्रकारहरु नारन न्यौपाने, सन्तोष बस्याल, मुक्तिप्रसाद न्यौपाने, कृष्ण दर्नाल, नेत्र गैरे, सुनिल कार्की लगायतले पाल्पामा प्रहरीको भूमिका र गर्न पर्ने कामबारे आआफ्नो धारणा राखेका थिए ।

पत्रकारहरुले ८ वर्ष देखि अपहरणमा परेका किशोर न्यौपानेको खोजी नभएको, महिला हिंसा तथा यौन र्दुब्यवहारका लगायतका घटनामा प्रहरी स्वयम् मिलाउने पक्षमा लाग्ने गरेको, तानसेनको ट्राफिक ब्यवस्थापन कमजोर हुँदै गएको, टिप्पर आतंक नै फैलिएको, कहिले काहि प्रहरीले सूचनाको गोप्यता कायम राख्न नसकेको, स्थानीय तहहरुमा रहेका प्रहरी चौकीको ब्यवस्थापकीय कमजोरीहरु रहेको लगायतका विषयमा ध्यानाकर्षण गराए ।