पाल्पा, असार १४
बिहिबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे । उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ । पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो ।
सामुदायिक (सरकारी) विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । देववाणी जस्तै यहाँको दमकडा नमूना माध्यमिक विद्यालयका लक्ष्मण पाण्डे र प्रविण भट्टराईले ३ दशमलव ९६ जीपिए प्राप्त गरेका छन् । यस विद्यालयले पनि यी दुई विद्यार्थीलाई प्राविधिक तर्फको जिल्ला प्रथम भएको दावी गरिएको छ । सामुदायिक विद्यालय पनि संस्थागत (बोर्डिङ) विद्यालयभन्दा कम छैनन् भन्ने उदाहरण एसइई नतिजाले दिएको छ । जिल्लाका तानसेनको देववाणी माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, माथागढी कसेनीको दिव्यज्योति मावि, तानसेन मदनपोखराको दमकडा मावि, रामपुर नगरपालिकाको रामतुल्सी मावि, रामपुरकै दरैठाँटी र गंगा मावि उदाहरणीय बन्दै गएका छन् ।
विद्यालयमा शिक्षकहरुको जागिरे प्रवृत्ति नहुँदा नतिजा राम्रो ल्याउन सम्भव भएको देववाणी स्कुलका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए । उनी भन्छन्, ‘हामी २४ अ‍ैं घण्टा विद्यालयका बारेमा बोल्छौं, सुन्छौं र विद्यालयका काममा हुन्छौं । विद्यार्थीहरुलाई अतिरिक्त कार्यहरु बिहिबार हाजिरी जवाफ, विदाका समयमा टेष्ट परीक्षा, कोचिङ, साँस्कृतिक कुराहरु पनि सिकाउँछौं । बालक्लवहरु सक्रिय छन् । त्यसैले नतिजा राम्रो आउनु आवश्यक छ ।’ हामीकहाँबाट ४२ जना विद्यार्थीहरु परीक्षामा सम्मिलित भएका थिए सबै राम्रो नतिजाका साथ उत्तिर्ण भएका छन् । देववाणीबाट ३÷३ जना ए प्लस र ए, १३ जना बी प्लस, ८ जना बी, १० जना सी प्लस र ५ जनाले सी ग्रेड प्राप्त गरेका छन् ।
दमकडा नमूना माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्यले राम्रो नतिजाका लागि शिक्षकहरुको व्यवहार परिवर्तन हुन आवश्यक भएको बताउँछन् । ‘विद्यालयले असारको विदा सकिएपछि ‘डे बोर्डस’ बिहान ६ देखी साँझ ६ सम्म विद्यार्थीहरुका लागि गर्ने गरेको छ । यहाँका सबै शिक्षकका विद्यार्थी सामुदायिक विद्यालयमै अध्ययन गर्छन् । व्यक्तित्व विकासका लागि २० बढी क्लवहरु मार्फत् विभिन्न शिक्षण अभ्यास सम्बन्धी काम गर्दछन्, आचार्यले भने, रेडियो शिक्षा हाम्रो नमूना अभ्यास हो । विद्यालयकै बालबालिकाहरुले विद्यालय भित्रका कठीनाईहरु खोजी गर्ने र आफै समाधानको पहल गर्ने र नभए सम्बन्धित निकायसँग ध्यानाकर्षण गर्ने गरि रेडियो कार्यक्रम समेत सञ्चालन गरेको छ ।’ विद्यार्थीहरुलाई पढाउने तरिका घोकन्ते भन्दा पनि व्यवहारिक अभ्यासलाई कक्षाकोठामा प्रयोग गरिएका कारण राम्रो नतिजा आयो । दमकडा विद्यालयका ९ जनाले ए प्लस र १० जनाले ए जीपिए हासिल गरे । विद्यालयबाट परीक्षामा सम्मिलित ७७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जिल्लामा विगतको तुलनामा यसवर्ष सामुदायिक विद्यालयको नतिजा निकै सुधार भएको बताए । उनी भन्छन्, ‘लेजर अपलोड भएको छैन । सबै नतिजा विश्लेषण हामी आईतबारसम्म प्रस्तुत गर्ने छौं । संस्थागत विद्यालयको अहिलेसम्म सामुदायिक विद्यालय जति राम्रो नतिजा आएको यसवर्ष सुनेका छैनौं ।’
तानसेन नगरपालिकामा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अहिले झण्डै एक हजार छ सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विद्यार्थी धेरै हुने भएपछि प्रवेश परिक्षा गराएरै नयाँ विद्यार्थी भर्ना गरेको छ । जनता विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले नयाँ शैक्षिक सत्र २०७६÷७७ मा २ सय ४ जना नयाँ विद्यार्थी भर्ना गरेको बताए । उनी भन्छन्, ‘अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुन्छ । अहिले विद्यार्थी राख्न नसकिने भएकोले २ सय जनाको लागि नयाँ भर्ना खुलाएका थियौं । छात्रवृत्ति, कम्प्यूटर ल्याव, इलाईब्रेरी, कक्षा ५ सम्म छुट्टै लाइब्रेरी र अन्यको लागि छुट्टै लाईब्रेरीको व्यवस्था गरेका छौं ।’ जनता माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, विज्ञान शिक्षा, सिभिल इञ्जिनियरियको पढाई हुँदै गाएको छ । प्राधानाध्यापक पौडेलले सिभिल इञ्जिनियरिङ्ग ९ कक्षादेखी सुरु हुन्छ जसमा शिक्षण शुल्क लाग्दैन अहिले विद्यार्थीको आकर्षण बढेको छ । नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । हरेक वर्ष २ सय बढी निजी तथा अन्य सरकारी विद्यालय छाडेर यहाँ भर्ना हुन आउने गर्छन् । ‘अहिलेसम्म विद्यार्थी र अभिभावकले माया गरेको विद्यालय हो,’ विद्यालयका प्रअ मेघराज पौडेलले भने, ‘निजी छाडेर आउनेको संख्या सय भन्दा बढी नै हुन्छ ।’ तानसेनमा नाम चलेका निजी विद्यालय छाडेर कक्षा, ८ र ९ मा भर्ना हुन आउने गर्छन् ।
माथागढी गाउँपालिकाको कसेनीस्थित दिव्यज्योति माविमा यो वर्ष १ सय ५० जना नयाँ विद्यार्थी भर्ना हुन आए । विद्यालयका प्रअ नारायणप्रसाद अधिकारीका अनुसार अझै केही विद्यार्थी भर्ना हुन आउन बाँकी छन् । विद्यालयमा अहिले ९ सय ९६ जना विद्यार्थी अध्ययनरत छन् । ‘नर्सरीदेखी युकेजीसम्म अंग्रेजी माध्यम चलाउँदा भर्ना हुन आउनेको संख्या पनि धेरै भयो,’ उनले भने, ‘अर्को वर्ष कक्षा बढाउँदै लग्न पर्ने अवस्था छ ।’ निजी विद्यालयबाट भर्ना हुन आउनेहरु पनि छन् । प्राविसम्म निजीमा पढाएर अरु सरकारीमा पढाउनेहरु धेरै छन्, प्रअ अधिकारीले भने । रामपुरको बेझाडस्थित रामतुल्सी माविमा पनि विद्यार्थी संख्या जनता विद्यालयमा जत्तिकै छन् । यहाँ हरेक वर्ष झण्डै एक सय जना बोर्डिङ् छाडेर भर्ना हुन आउने गरेको विद्यालयले जनाएको छ । लेकको बस्तीबाट बसाइसराइ साथै बोर्डिङ छाडेर यहाँ आउछन् । अंग्रेजी माध्यममा नर्सरीदेखि ९ कक्षासम्म पढाइ हुन्छ । रामपुरको दरैठाँटी माविमा झण्डै १ हजार विद्यार्थी छन् । पछिल्लो एसईइको नतिजाले पनि विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या बढेको छ ।
गुल्मीको एक संस्थागत विद्यालयमा पढेका समीर क्षेत्री पाल्पा आएर सामुदायिक विद्यालयमा भर्ना भए । अहिले उनी जिल्ला प्रथम भए । अंग्रेजी माध्यमबाट सरकारी विद्यालयमै पढ्न पाउने भएपछि जिल्लाका धेरै सामुदायिक विद्यालयमा संस्थागत विद्यालय छाडेर आउनेहरु पनि बढेका छन् । जिल्लाको केही सरकारी विद्यालयमा बोर्डिङको पढाइ छाडेर भर्ना हुन आउनेको हरेक वर्ष संख्या बढदो छ ।
समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने उत्कृष्ण नतिजा ल्याउने विद्यालयको अनुभव छ । प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सामुदायिक विद्यालयले आफूहरुलाई लालायित पारेको विद्यार्थीका अभिभावकहरु बताउँछन् ।