पाल्पा, असार १४
प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरुको धर्म भएको पूर्व राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । उनले कुण्ठा र घृणाले राष्ट्र समृद्ध बन्न नसक्ने बताएका छन् ।
शनिबार पाल्पाको तानसेनमा संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पूर्व राष्ट्रपति यादवले दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका हुन् । ‘प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरुको धर्म हो । लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै हुन् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, पूर्व राष्ट्रपति यादवले भने, सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति छ । हर ठाउँमा जातिय, भाषिक तथा अन्य विभेद छन् । यसको अन्त्य हुनुपर्छ ।’


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार विधयक संसदबाट फिर्ता हुनै पर्ने भन्दै प्रेस स्वतन्त्रता विनाको लोकतन्त्र सफल नहुने बताए । महासंघ अध्यक्ष आचार्य भन्छन्, ‘प्रेस स्वतन्त्रताले कुनै राजनीतिक दल तथा अन्य पदाशिन व्यक्तिको पद खोसिने होईन । गल्ति कमिकमजोरी भए भनेर औल्याउने पत्रकारलाई कहीँ पनि सजायको व्यवस्था छैन । सञ्चार विधयक संसदबाट फिर्ता हुनै पर्छ ।’ सोही अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले विभेद सधैंका लागि अन्त्य गर्नुपर्ने बताउँदै भनाई र गराईमा भिन्नता ल्याउन नहुने बताउनुभयो । यस्तै प्रेस यूनियनका सभापति बद्रि सिग्देलले प्रेसलाई मुख थुन्ने गरि सरकारले बन्देज गराउन खोजेको भन्दै आपत्ति जनाए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलिले दलित समुदायको सवाललाइ मिडियाले प्राथमिकता दिएर राज्यको ध्यानआकृष्ट गर्ने काममा लाग्न आग्रह गरे ।
सोही अवसमार प्रदेश नम्बर ५ का सांसदहरु विरबहादुर राना, तुलाराम घर्ती तथा डा. पुरनमान बज्राचार्यले जातिय र लैगिक विभदबाट मुक्ति हुनका लागि प्रतिनिधित्वसंगै सोचमा पनि परिवर्तन हुनुपर्ने बताए । पूर्व सांसद विनोद पहाडिले नेपाल पत्रकार महासंघले दलित समुदायका पत्रकारहरको बारेमा छलफल गरेर ऐतिहासिक काम गरेको बताए । उनले अहिले मुलुकमा समावेशिता खोसिएको भन्दै दलितका मुद्दामा सञ्चारमाध्यम अझै संवेदनशिल हुन नसकेको बताए । उनले दलित समुदाय अझै पनि विभेदमा परेकाले त्यसलाई अन्त्य गर्नका लागि महासंघले नितिगत निर्णय गर्ने बेला आएको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले दलित समुदायका पत्रकारहरूको सम्मेलनले गर्ने निर्णय कार्यान्वयन गर्न महासंघ तयार रहेको बताए । उनले छुवाछुत विरूद्व सञ्चारमाध्यमको मुल मुद्वा बनाउने गरि लाग्नुपर्ने बताए । उनले सरकारले ल्याएको आमसञ्चार विधेयक जबरजस्ति पारित गर्न खोजिए त्यसका विरूद्व निषेधआज्ञा तोडेर आन्दोलन गर्ने बताए ।
जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्यालले संविधानले कसैलाई भेदभाव नगरेको तर व्यवहारमा कार्यान्वयन गर्न बाकि हुदा समाजमा भेदभाव कायम रहेको बताए । तानसेन नगरपालिकाका नगरप्रमुख अशोक शाहिले संविधानमा भएको अधिकार कार्यान्वयन गर्नमा पाल्पाबाट सन्देश दिन अनुरोध गरे । दलित समुदायका पत्रकारहरूका भौतिक र पेशागत सुरक्षाको ग्यारेन्टि गर्नुपर्नेमा जोड दिए । पाल्पाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) दण्ड गुरूङ, बरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार केन्द्रीय सचिव रेम विश्वकर्माले दलित समुदायका पत्रकारहरू पछिल्लो एक दशकमा गुणात्मक रूपमा उपस्थिति रहेको बताएका थिए ।
सम्मेलनका अवसरमा नेपाल पत्रकार महासंघ पूर्व उपाध्यक्ष उमेद बागचन्द, पूर्व केन्द्रीय सदस्यहरू विनोद पहाडि, प्रकाश चन्द्र परियार, कमल परियार, निशा विश्वकर्मा र किसान संगित नेपालिलाई सम्मान गरिएको छ । सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करीब १ सय ५० जना दलीत पत्रकारहरुको सहभागिता रहेको छ । दलित समुदायका पत्रकारहरुको भेलाबाट दलित पत्रकारहरुको मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने भएको छ । संविधानमा जातिय छुवाछुत र भेदभाव अन्त्य भएको बताईरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले यो संम्मेलनबाट भेदभाव अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईएको छ ।