पाल्पा, असार १३

पाल्पामा हुने दलित पत्रकारहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा असार १४ र १५ गते तानसेनमा हुन लागेको सम्मेलनको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । देशभरका दलित पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा देशभरबाट झण्डै एकसय भन्दा बढी पत्रकारको सहभागिता रहने पत्रकार महासंघ पाल्पा शाखाले जनाएको छ ।

सम्मेलन सफल पार्नको लागि पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।  सम्मेलनलाई सफल पार्न गठित विभिन्न उपसमितिहरुले पत्रकार सम्मेलनमा तयारी बारे जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा  पत्रकार महासंघ केन्द्रिय सदस्य मधु शाहीले पाल्पामा हुन गइरहेको यो सम्मेलन ऐतिहासिक भएको बताइन ।  देशभरबाट जम्मा हुने पत्रकारहरुले पाल्पामा २ दिन बिताउनेछन । आगन्तुकहरुका लागी पाल्पाका ऐतिहासीक र पर्यटकीय गन्तव्यहरुमा भ्रमणका लागी समेत पत्रकार महासंघ पाल्पा शाखाले व्यस्था मिलाएको छ ।