खै के झिक्न खोज्दै थिए प्रेमराज आफ्नो निजी संग्रहालयबाट— फ्यात्त पुरानो डायरी झर्‍यो र सन् २०११ मार्च २३ को पाना पल्टियो । आँचल डायरीबाट सजीव बनेर प्रकट भइन् । त्यो दिन प्रिया सुतिसकेकी थिई । आँचल उग्रचण्डीजस्तै चक्रबात बनेर अपार्टमेन्टमा पसिन् र सरासर किचेनमा पेग बनाउन छिरिन् । प्रेमराजले ‘आज पनि प्युँछ्यौ र ?’ के भनेका थिए— ‘मेरी मामु पनि त सोसल ड्रिंकिङ गरिसिन्थ्यो, तिमी पाखे बाहुन को हौ मलाई रोक्ने ?’ आँचल मैनालीले यत्ति भनिन् र एक शट टकिला स्वाँट्ट पारिन् ।

प्रेमराजले मनमनै भने, “यिनलाई असफल हुँदै गर्दाको, अनाहकको तुजुकले निख्रिँदै गरेको जीवनको कुण्ठा छ । हिजो रूपको, वैंशको, धनको, बाबामामुको, विद्याको, ओहोदाको सबै–सबैको तुजुक थियो । त्यो तुजुक आज क्रमशः चौकीदारी जागिरसँगै यो टोरन्टो, नर्थयोर्कको सत्ताईसौं तलाको अपार्टमेन्टमा टाक्सिँदै जानु परेपछि मनको भँडास त निस्किन्छ नै । तर, क्यानडा आउने निर्णय पनि त उनैको हो । मैले त सहमति जनाएको सम्म न हुँ । मैले रोकेर रोकिने वेग कहिले पो थियो र यिनको ? उनलाई लाग्छ– उनको प्रगतिको बाधक म हुँ र मैमात्र हुँ । मैले यिनलाई घृणा गर्न सकिनँ, त्यसैले यिनी मसँग सहयात्राको यो उन्नाइसौं वर्षसम्म पनि असन्तुष्ट छिन् र लिसो बनेर बसेकी छन् । अझै कतिन्जेल असन्तुष्ट नै रहिरहने हुन्— राम जाने ! म यिनीसँग आजित त छु, माया गर्थें, अचेल त दयासम्म गर्न थालेको छु ।”

यस्तै केही गुन्दै थिए, आँचल पड्किइन्, “दुई चौटा मासु भुटेरसमेत दिन सक्दैनौ सितनलाई ? तिमी पो सात्विक हौ त, म त होइन नि !”

प्रेमराजले पुलुक्क आँचलको अनुहारमा हेरे र भने, “तिमी–हामीले कमाएको पैसाले दिनहुँ रक्सी र मासु खान पुग्दैन नि आँचल । मलाई लाग्दै छ— तिमीमा यो बानी कुलत बनेर घुस्दै छ । ऊ हेर त प्रियालाई, उसलाई तिमीले उसको मामु दिन पर्दैन ?”

आँचल कुनै मायामोहभन्दा निकै पर पुगिसकेकी थिइन् त्यसताका । हरेक कुरामा झर्किने, फर्किने गर्थिन् र प्रियाको अगाडि पर्न चाहन्नथिन् । किनभने, ‘मामु, हजुरको सासमा रक्सी गनाउँछ र हजुरको अनुहार रक्सीले फुलेको छ’ भन्न सक्ने भइसकेकी थिई प्रिया । आँचललाई लाग्थ्यो— यो प्रेमराजले छोरीलाई यस्ता आदर्शका कुरा सिकाएर मलाई भावनात्मक दोहन गर्न चाहन्छ । म प्रेमराजभन्दा उपल्ली हुँ । यसलाई मैले अनुग्रहका साथ क्यानडा ल्याएकी हुँ र यसले मैले भनेको मान्नुपर्छ ।

प्रेमराज त्यस्तो सोच्दैनथे । उनलाई आँचलको सुदूर विगत थाहा छैन । यति थाहा छ— चालीसको दशकको छात्रामात्र पढ्ने एक नामुद विद्यालयमा पढेकी हुन् उनले, काठमान्डूमा । त्योअघि खर्साङतिर पनि पढिन् क्यारे ! जतिखेर आँचलको कुरो आयो, त्यो बेला उनी यूएसएडको फिल्ड अफिसर भएर मध्यपश्चिममा कार्यरत थिइन् । महिलाअधिकार, अल्पसंख्यकका अधिकार, घरेलु हिंसा आदिका क्षेत्रमा काम गर्थिन् । आँचललाई चिन्नुभन्दा अघि कुनै एक शनिबार त्यतिखेरका कानुन मन्त्रालयका सहसचिव अम्बिकानाथ मैनालीले घरैमा बोलाए प्रेमराजलाई । प्रेमराज त्यतिखेर मानवाधिकार फाँट हेर्ने गरी भर्खर शाखा अधिकृतमा नियुक्त भएका थिए । लगनखेल महालक्ष्मीथान पछिल्तिरको डेराबाट मट्टीतेलको धूवाँ बसाउने एक गिलास चिया र ह्वास्स तेल गनाउने दुई वटा डोनट खाएर हतार–हतार निस्केका हुन् उनी, स्पेसल जान । धेरैलाई थाहा नहुन सक्छ, काठमान्डूमा स्पेसल नाम गरेको ठाउँसमेत छ ।

नारायणगोपाल चोकबाट उत्तर लागेपछि बूढानीलकण्ठ जाने बाटोमा पहिले बाँसबारी आउँछ, बाँसबारी गंगालाल कटेपछि अलि भिरालो बाटो आउँछ । त्यो भिरालोको पिँधमा गल्फुटार आवासक्षेत्रतिर मोडिने दोबाटो आउँछ । त्यो पनि छोड्यो, अनि आउँछ हात्तीगौंडा । हात्तीगौंडा नपुग्दै हो वा कटेर अलि अघि बढेपछि हो— बायाँ पस्ने बाटो आउँछ र त्यो बाटोले स्पेसल भन्ने ठाउँ पु¥याउँछ । ठाउँको नाम किन रह्यो त थाहा भएन तर त्यहाँ त्यतिखेरका स्पेसल मान्छेहरू बस्ने गर्थे । नेपाली वाम आन्दोलनका सर्वाधिक श्रद्धेय नामको निजी आवास पनि त्यहीँ थियो, अचेल पनि उनका सन्तति त्यतै हुँदा हुन् ।

खैर, सहसचिव मैनाली सरको घर पनि त्यहीँ थियो । प्रेमराजलाई प्रष्ट सम्झना छ— त्यतिखेर त्यो ठाउँ पुग्न कि आफ्नै सवारी साधन चाहिन्थ्यो या जमलबाट बूढानीलकण्ठ छुट्ने हिप्पीहरूले ल्याएर बेचेका मर्सिडिज बेन्जका ‘हरनबाहेक सबै बज्ने’ मिनीबस चढ्नुपथ्र्यो । नयाँ–नौलो जागिर, कहाँ पाउनू निजी सवारी साधन ? प्रेमराज लगनखेलबाट रत्नपार्कसम्म साझा बसमा गए । रत्नपार्कमा ओर्लेर सोह्रहाते गणेशलाई दायाँ पारेर रानीपोखरीको डिलैडिल जमल पुगेर बूढानीलकण्ठ जाने बस चढेर गएको प्रेमराजलाई भर्खरैजस्तो लाग्छ । जबकि, त्यतिखेर पञ्चायती व्यवस्थाको बरखीसमेत सकिएको थिएन र अधिकांश निजामती कर्मचारीहरु अझै जुठो बारेझैं देखिन्थे । त्यसको कारण थियो । नयाँ ऐन–कानुन बन्ने प्रक्रियामा थियो । प्रेमराजलाई लागेको थियो— शायद कार्यालयसम्बन्धी कुरा गर्न सहसचिवज्यूले डाकिबक्सेको हो । त्यस्तै ११ बजेतिर स्पेसल पुगेका प्रेमराज त्यतिखेर हक्क न बक्क भए, जब मैनाली सरले अचम्मको प्रस्ताव राखिबक्स्यो । बूढालाई पनि कुरो पगार्न हम्मे–हम्मे नै परेको हो तथापि प्रेमराजले सम्झेसम्म यस्तो थियो वार्ता—

“दाहालजी ! घर कहाँ रे तपाईंको ?”

“सर, घर त आश्रङ हो । अहिले लगनखेलमा एउटा कोठा भाडामा लिएर बसेको छु ।”

“कता हो यो आश्रङ भनेको ? अहिलेसम्म सुनेको थिइनँ मैले त ।”

“सर, बागमतीको उत्तर किनार ।”

“कता त उत्तर किनार ? टेकु ? त्रिपुरेश्वर ? बुद्धनगर ?”

“हैन नि हजुर ! दक्षिणी ललितपुर, मकवानपुरको साँधमा ।”

“ओहो ! त्यतातिर ? आउजाउ कसरी गरिन्छ त दाहालजी ?”

“कान्तिपथ पञ्चायतको कोपभाजनमा नपरेको भए चापागाउँबाट डेढ–दुई घण्टाको बाटो थियो त नि सर । के गर्नू— अहिले त लेले भट्टेडाँडासम्म जिप जान्छ, त्यसपछि आधा दिनको हिँडाइ ।”

“ओहो ! दुःख पो रहेछ त । अनि जग्गा–जिमिन ? परिवार ?”

“अलिअलि छ, मुद्दा–मामिला छ । बा त्यसैको पीरले जानुभो । ठूल्दाजुलाई बिहे गरेकै वर्ष सैंतीस सालको बागमतीको भेलले खायो । आमा र ठूली भाउजूले भैंसी पालेर मलाई सेक्सन अफिसर बनाउनुभयो । आजन्म आमाको र भैंसीको दूधको ऋणी रहने भएँ सर । इमानको जग्गामा नैतिकताको परिवार, यही हो सर मेरो आफ्नो ।”

“लायकको हुनुहुँदोरहेछ । मलाई मन प¥यो । मेरो ज्वाइँ बन्ने हो ?”

“बिहेजस्तो कुरो सर, मलाई एक हप्ताको समय बक्स्योस् ।”

मोटामोटी यही, यस्तै कुरा भएको हो । दिगम्बरले पकाएको एक थाल भात, खसीको मासु, निगुरो र आलुको अचार, लोकल काउलीको तरकारी हतार–हतार हुलेर प्रेमराज निस्किए स्पेसलबाट एउटा स्पेसल किसिमको अनुभव सँगालेर ।

ऊ बेला फोन त्यति थिएनन् । फोनवाला घरको भाडै चर्को हुन्थ्यो । घरबेटीका भुराभुरी अवैतनिक टेलिफोन अपरेटर हुने गर्थे । मोहोलतको एक हप्ता प्रेमराजलाई नकटे पनि हुन्थ्यो भन्ने लागिरह्यो । तर, अर्को शनिबार घरबेटी क्याप्टेन इन्द्रहाङ लिम्बूकी छोरी एलिजाले बोलाउन आइहालिन् करिब ९ बजेतिर, “अंकल, हजुरको फोन आएको छ, आउनुहोस् अरे ।” 

“कसको रहेछ नानु ?” सोधे प्रेमराजले । नाम त बुझिन हाउ अंकल, कस्तो लेडिजजस्तो नाम रछ !” 

“अम्बिका ?” 

“ज्यु, ज्यु, अम्बिका ।”

एकमन त ‘छैन भनिदेऊ’ भन्न मन लागेको थियो प्रेमराजलाई, तर खोइ के सोचे, गए माथि, बोले । फेरि एक हप्ताको भाका मागे । थपाए र फोन राखे । र, एलिजालाई खुसुक्क भनिभ्याए, “नानु, यो लेडिज नाम भएको अंकलको फोन आयो भने प्रेमराज अंकलले डेरा छोड्नुभो भन्नू ल !”

बुधबारको दिन प्रेमराज मन्त्रालयमै सहसचिवज्यूको कोठामा पसे, नमस्कार गरे र स्प्रिङले बैठक नै बिझाउने गरी थोत्रिइसकेको सोफामा घ्याँच्च बसे । बूढालाई थाहा थिएन प्रेमराज किन आए भनेर तर अनुमान त थियो नै । तैपनि सोधिटोपले, “के कामले आउनुभयो दाहालजी ?”

“सर, मैले हजुरको परिवारको सदस्य हुन पाउनु त अहोभाग्य नै हो । तर…” 

“तर के दाहालजी ?”

“एकैपटक नदेखी, नबोली आजको जमानामा कसरी जीवनभरिको सम्बन्ध गाँस्ने कुरो यस अर नो गर्नु र सर ?”

जाडोयाममा मुक्तिनाथको १०८ धारा नुहाउन कुदेको एक बाहुनचरीले स्नान–मन्त्र पढेझैं प्रेमराजले यति बोली बिसाए र उँधोबाट बिझाइरहेको पिँध मुसारे । सहसचिवज्यूले ‘यो सोफा फेर्ने बजेट कहिल्यै आएन दाहालजी, हेर्नुहोस् त’ भनेर तत्कालीन प्रधानमन्त्रीका जस्ता रंगीन दाँत देखाए र कुरो सोझ्याए, “हो त । नानी नेपालगन्ज गएकी छे काममा, ऊ आउन टाइम लाग्ला, कि काजमा तपाईं नै जानुस् । देश पनि हेरिने, स्वाद पनि फेरिने ।”

प्रेमराजले ‘हस्’ भन्नुअघि नै उनको भ्रमण आदेश तयार भयो । उनी नेपालगन्ज जाने भए उडेर । आरेनेसीको ट्विनअटर चढेर राँझा उत्रिनुअघि प्रेमराजलाई लाग्यो— आर्मीमा सेकेन्ड लप्टन हुनु भनेकै जर्साब र कर्साबको ज्वाइँ हुनु हो । निजामतीमा पनि त्यस्तो हुँदो रहेछ त गाँठे ! उसैमाथि हाकिमकी छोरीको मुख हेर्न, बिहे गर्छु÷गर्दिनँ भन्नसमेत सरकारी काज, भत्ता ! जिन्दगीमा पहिलो फ्लाइट नै केटी हेर्न ? ओहो, भ्रष्टाचार हेरी ह्याँ’टै शुरु भएन त ?

प्रेमराज राँझा उत्रिए । राष्ट्र बैंकको गेस्ट हाउससम्म रिक्सामा गए । कुटुरो बिसाए । नुहाइधुवाइ गरेर साँझपख खाना खान निस्किए मेनरोडतिर । खासै खान मन थिएन त्यसैले ठेलाको सिंगडा चाट खाए, नेपालगन्जको नामुद राबडी खाए र चार किलोमिटर हिँडेर सुत्न गए ।

भोलिपल्ट बिहानै गेस्ट हाउसको ठिटो उनलाई जगाउन आयो, “सर, जाग्नुहोस् । एकजना मेम् हजुरलाई भेट्न आउनुभएको छ ।”

यति भन्यो र खुरुरु कुदेर गयो । आँखा मिच्दै अर्धनिद्रामा प्रेमराज तल झरे । आकाशे जिन्सको पाइन्ट, गाढा फुलबुट्टे कमिज र विदेशी निकायको क्याप लगाएर विदेशी निकायकै ब्याग बोकेकी एक अर्धनेपालीजस्ती देखिने महिला पर्खिरहेकी रहिछन् । उनैले भनिन्, “भन्नुस्, के काम छ ?”

प्रेमराजलाई लाग्यो— न सामान्य शिष्टाचार न परिचय, कस्ती हर्रो खाएर टर्रो भएकी केटी रहिछ ? सम्हालिएर शालीन उत्तर दिए, “मलाई एएन मैनाली सरले तपाईंलाई भेट्न पठाउनुभएको ।”

उनले भनिन्, “नाम त हुँदो हो नि तपाईंको पनि ?”

प्रेमराजको पारा चिरिक्क त चढेको हो तर फेरि सम्हालिए, “मेरो नाम त प्रेमराज दाहाल, हजुरको नामचाहिँ आँचल मैनाली होला हैन त ?”

“अँ, आँचल मैनाली मै हुँ । अरू केटीसेटीको चक्कर त छैन नि ?” आँचल टु दि पोइन्ट हुन बल गरिरहिथिन्, प्रेमराज आवरण हेरेर विवरण जोख्नु गलत होला भनेर सचेत थिए । लाग्थ्यो— आँचल हतारोमा थिइन्, प्रेमराजलाई कुनै चटारो थिएन । करिब आधा घण्टा गफिएपछि आँचल ‘यस’ भन्ने मुडमा पुगेकी रहिछिन् क्यारे, प्रेमराज ‘यस अर नो’मै अल्मलिएका देखिन्थे ।

त्यसको भोलिपल्ट प्रेमराज काठमाडौं उडे, आँचल देउखुरी गुडिन् । काठमाडौं उत्रेको भोलिपल्ट अश्रङ गए । साँझको समय, मकैका पातमा भदौरे संगीत, चिप्लिँदै, सम्हालिँदै घर पुगे । भाउजू याँमानको कुँडेमा कुराउनी घोट्दै हुनुहुन्थ्यो, आमा तल गोठमा तीन भैंसी दोएर चौथोको तयारीमा थिइन् । भाउजूले देखेर भनिन्, “ए, बाबु पो आउनुभएछ ! यो झरीमा लडिबुडी त भएन नि बाबु ? इकुडोलतिर ठूलो पैरो गएको छ भन्थे, सजिलै आउनुभो नि ?”

प्रेमराजलाई लाग्यो— मेरा दाजु हेमराज अभागी, मलाई त भाउजूले यति माया गर्नुहुन्छ । दाजु भएका भए कति माया पाउनुहुन्थ्यो होला ? यो आँगनमा शहरबाट मिठाइ ल्याइदिनुभो भन्दै बुरुक्—बुरुक् उफ्रिने घटीमा दुई प्राणी हुन्थे होला । विचरा अभागी भएरै त भेलले लग्यो । अस्तिको असार १३ गते बल्ल त कुशको लाश बनाएर बागमतीमा पोलेको । मेरी भाउजू स्नेह र ममताकी प्रतिमूर्ति । मेरी आमा निडर, बलियी, नामै भैरवकुमारी ।

सोच्दै थिए, आमा चार बाल्टी दूध बोकेर आँगनमा आइपुगिन्, “आच्या ! सान्बाबु पो आएछ यो बर्खामास । जागिरे ठिटो, छुट्टी मिलाएर आइस् कि छोडेर आइस् ? बाटामा के खाइस् कि भोकै पो छस् ?”

बाल्टीबाट दूध छचल्किएझैं आमाको स्नेह बोलीबाट छचल्किएको देखिन्थ्यो ।

“भोकै त किन हुन्थें र आमा ! इकुडोलमा काजिमानको होटेलमा दहीच्युरा र आलु केराउको तरकारी खाएको हुँ, १२ बजेतिर । अहिले जाबो सातै त बज्दै छ । अब तपाईंहरूको हातको खाना खाने हो । केही चिन्ता भएन । बरु भोलि बिहानै हिँड्नु छ । चाँडो खाएर सुत्न पाए हुन्थ्यो ।” प्रेमराजले यति भनिभ्याए ।

भाउजूले स्टोभ निभाइन् । करेसातिरबाट एक अँगालो फर्सीको मुन्टा चिमोटेर ल्याइन् । आमा आलु ताछ्न लागिन् । मुन्टा केलाउँदै भाउजूले सोधिन्, “बाबु, मैले कैले बहिनी भित्र्याउन पाउने हुँला कुन्नि ?”

प्रेमराज जवाफ दिन तयार थिए, आमाले थपिन्, “अब यो कुरौनीको व्यापार, घरबारी ठूली र मैलेमात्र सम्हालेर सकोइन, परिवारमा कान्छी बुहारी आउन बाँकी छ, त्यसको चाँजो मिला सान्बाबु ।”

यत्तिकैमा भैंसीको ताजा दूधमा पकाएको बाक्लो चिया आइपुग्यो । स्टिलको गिलासमा ओठ पोल्ने चिया सुरुप्प पारेर प्रेमराजले भने, “त्यही सल्लाह गर्न भनी आएको म आज । कुरो के भने नि हाकिमले छोरी दिन बल गर्दै छन् । मैले भेटेर, गफ गरेर आएँ । अलि ठस्सा छ उनको, शहरकी केटी, मनग्गे पढेकी छन् । गाउँ त के बस्लिन् र ! गाउँमा पोर्जेक्टसम्म ल्याउन सक्लिन् । विदेशी जागिर खान्छिन् ।”

“ए ! उसोभए सर्टपेन्ट लाएर गामबेसी गर्नेखाले हुन् ?” आमाले सोधिन् ।

“के भो र त आमा ? कालजमाना अनुसारको भएको त ठिकै हो नि,” भाउजूले कुरो डिलमा ल्याइदिइन्, ‘जेहोस्, सान्बाबुको घर गरिखान्छिन् भने हामीले सहयोग गर्नुपर्छ ।”

प्रेमराजले मनमनै भने, “शंकै त्यतिमात्र त हो नि भाउजू !”

आमाले मनमनै गुनिन्, “यसका हाकिमले कमारा नभई ज्वाइँ नै खोजेका होऊन् पर्मेस्सोरी !”

प्रेमराजले त्यही मुंसिराँ बटुक भैरवमा गएर बिहे गरे । गराइए भनुम् न । आमा र भाउजू आउन त आए, छेउछेउ लागेर बिहे हेरे र भोलिपल्टै घर गए । प्रेमराजको बिहेमा न जन्ती न बाजा न जन्ते बाख्रो भयो, न भोजभतेर । भोलिपल्ट अखबारमा भने ‘एक राष्ट्रसेवक र विदेशी निकायमा कार्यरत कर्मचारीको मितव्ययी बिहे’ भन्ने खबर छापियो । यो खबर किन छापियो ? त्यसको उद्देश्य के थियो ? वा त्यसले कसलाई नाफा–घाटा भयो ? यस्ता कुरा आफ्ना ठाउँमा होलान्, प्रेमराजलाई लाग्यो— मेरो बारेको खबर छाप्न मैलाई नसोधेको किन होला ?

भोलिपल्टदेखि नै आँचल प्रेमराजउपर हावी हुन् थालेकी थिइन् । ‘पाखेबाहुन’ले सुशोभित प्रेमराज हरेक वचनमा यो वचनविष पिउन अभिशप्त भए । आत्मसम्मानमा ठेस लाग्ने गरी प्रेमराज समाजमा देखा पर्न चाहन्नथे न त आँचलसँग छुद्रवचन गरेर समस्या गहिराउन चाहन्थे । आफ्नो घर बसोस् भन्ने उद्देश्यले त्यसका लागि बरु आफूलाई त्यति माया गर्ने भाउजू र आमालाई समेत केही समय अन्योलमा राख्न चाहन्थे । गरे त्यस्तै । बिहे गरेको सालसहित तीन दशैं प्रेमराज आफैंमात्र टीको थाप्न घर गए । हरेकपटक आमा र भाउजू अनि गाउँ–छिमेकलाई दिने रेडिमेड जवाफ थियो उनीसँग, “यसपालि पनि आँचल नछुनी भइन् ।”

पत्याउनु÷नपात्याउनु भन्दा पनि पर आमा र भाउजू केमा आश्वस्त हुन थालिसकेका थिए भने बुहारीले यो आश्रङ टेक्नेछैने । भकारो सोर्ने वा कुरौनी घोट्ने त पर जाओस् । एउटा प्रोजेक्ट लिएर गाउँमा आउने र एउटा दूध चिस्याउने कोल्डस्टोर बनाउनसमेत मद्दत नगर्ने परिछन् । एकपल्ट आमाले मुखै फोरेर सोधिन्, “तेरी स्वास्नी तँसँग सुत्न त सुत्छे ?”

प्रेमराजले घुमाउरो जवाफ दिए, “सुत्छिन् काठमान्डू भएको बेला । अरू बेलामा त के हो, कसो हो ।”

“दशैंको बेलामा भएकी मै एक्ली सासू र जेठानीका हात टीको लाउनसमेत सिक्सिक गर्ने अचम्मकै स्वास्नी पाएको रहेछस् सान्बाबु तैंले !” आमाले यत्ति भनिन् ।

प्रेमराजले आफूलाई सोडावालाको कागती निचोर्ने मिसिनमा परेको आधी फक्ल्याटो कागतीजस्तो महसुस गरे । यता आमाहरूले चेप्छन्, उता एउटी अचम्मकी स्वास्नी छे, बात्तीनपिच्छे ‘पाखेबाहुन’ भन्छे । काठमाडौं फर्केर आँचलसँग एकबाजी कुरा फोर्छु भन्ने निधो गरे प्रेमराजले ।

आँचल करेसातिर निस्किने ब्याकडोरतिर छेलिएर चुरोट पिउँदै रहिछिन् । प्रेमराजले मौकाको सदुपयोग गर्ने विचार गरे, “आँचल ! आमाले सोध्दै हुनुहुन्थ्यो बुहारी आइनन् ? भनेर । मैले पर सरेकी छन् भनिदिएँ । आमाले पत्याउनुभो, गाउँलेहरू सीधासाधा हुन्छन् ।”

“ठीक भन्यौ पाखेबाहुन, गाउँलेहरू सोझा हुन्छन् ।”

आज आँचल अधिक खुशी थिइन् । उनका आँखा त्यही बताउँथे । त्यो रात गलित प्रेमराजउपर बलात्कार नै भयो भन्दा पनि हुन्छ । प्रेमराज घुप्लुक्क सुत्न चाहन्थे, जुन आँचललाई मञ्जुर थिएन । यस्तै एकाध घटनाका कारण उनीहरूको परिवारमा एक छोरीको जन्म भयो । नाम राखियो— प्रिया ।

जीवन त यसरी नै लातारिँदै थियो प्रेमराजको । अब त्यसमाथि प्रियाको बोझ पनि थपियो । प्रिया बोल्न जान्ने भइसकेकी थिई । नजिकैको बोर्डिङ स्कुल जान्थी । प्रेमराज आफैं प्रियालाई स्कुल लैजाने÷ल्याउने गर्थे । आँचल उसकी आमा त थिइन् तर सरोगेट मदरजस्ती । प्रेमराजले कहिल्यै प्रियालाई काखमा लिएर आँचलले ‘हो हो बाबा, हो हो’ गरेको सम्झना छैन । होस् पनि कसरी र ! उनको जीवनको गति, वेग, बहाव बागमतीको त्यही भेलजस्तो थियो, जसले अलि अघि उनको दाजुलाई बगाएको थियो, भर्खरैजसो आमा र भाउजूलाई । आमा र भाउजू दिदी–बहिनीजस्ता थिए । दुबैलाई पचपन्नको साउने भेलले झन्डै २ कोश तल ठूलो दुर्लुङमा लाश बनाएर पछारिदिएको थियो । देख्नेहरूले भन्थे, “भाउजूको लाशले आमा लाशको हातपाखुरा यसरी अँठ्याएको थियो कि लाग्थ्यो— बग्दै गरेकी आमालाई बल गरेर ओभानो किनारातिर तान्दै थियो ।”

त्यस्तो मिल्ती देख्ने आँचलका आँखा थिएनन् । उनलाई सासू–बुहारीका झगडा, पीडक लोग्नेका कथा टिपेर रिपोर्ट लेख्न, रनवन घुम्न, एकान्तमा चुरोट तान्न, रक्सी खान मन लाग्थ्यो । पारिवारिक जीवन भोग्न उतिसाह्रो चाख थिएन ।

अचेलको भाषामा बिन्दास आँचल अन्ठाउन्न माघको मंगलसेनको नरसंहारपछि भने करिब–करिब विक्षिप्त बनेकी थिइन् । उनको सातो गएको थियो र त्यस नरसंहारको प्रत्यक्षदर्शी विदेशी निकायको जागिरे बिन्दास एक महिला यस्तरी अत्तालिएकी थिइन् कि उनी फागुन लाग्नासाथ काठमान्डू आइन्, प्रेमराजको अफिसमै पुगिन् र भनिन्, “श्रीमानजी, आज सँगै लन्च गर्न जाऊँ ।”

प्रेमराजले केही भेउ पाउनुअघि नै उनीहरू तीनधारा पाकशालाको नाङ्लो बेकरी पुगिसकेका थिए । दुई प्लेट चिकेन मःमःको अर्डर लागिसकेको थियो र टेबुलमा एउटा काल्र्सबर्ग र एक मिल्क कफी आइसकेको थियो ।

प्रेमराज मनमनै गुन्दै थिए, “आज मेरो पदोन्नति किन भो ? म त एक पाखेबाहुन थिएँ, कसरी श्रीमानजी हुन पुगें ? सधैंको चना–चिउरा खाजा सेटबाट किन चिकेन मःमः मेरो लन्च हुन पुग्यो ? ५ रुपियाँको लोकल चियाबाट एकाएक किन मिल्क कफीमा रुपान्तरित भो मेरो भाग्य ? उसैमाथि कानुनी र सामाजिक आधारमा मेरी श्रीमतीसँग बसेर एकाध घण्टा भलाकुसारी गर्न पाउने के लेखिदिएछ नि भावीले छैंटीको दिन ?”

यत्तिकैमा आँचलले शुरु गरिन्, “यस्तो मोरो देश !”

प्रेमराजको चित्त कुँडियो, “तिम्रा कुण्ठाउपर देश नझोस न आँचल, देश त सुन्दर छ, हामी खराब भयौं होला ।”

आज आँचल अघिपछिभन्दा पनि बेसी एकोहोरिएकी थिइन् । “आफू गरिब छ, धनी मुलुकले दिएको पैसाले हामी देशका कुनकाप्चामा विकास पु¥याइरहेका छौं, हामीमाथि सरकार पनि, विद्रोही पनि खनिन्छन् । तिमी आफैं सरकारी हाकिम हौ, तिमी मंगलसेन हुन्थ्यौ भने मारिन्थ्यौ, म बाँचेर आएँ । म मरेकी भए के हुन्थ्यो तिम्रो ?”

बोल्न पाउँथे भने भन्दा हुन्, “एकथोक हुन्थ्यो र शायद राम्रैका लागि हुन्थ्यो ।” बोलेनन्, सुनिमात्र रहे । आँचल त किन रोकिन्थिन् र ? भनिन्, “यो गरिखान नदिने मुलुकमा एक बस्दिनँ, दुई बस्दिनँ, तीन बस्दिनँ ।”

फेरि मनमनै प्रेमराजले भने, “यहाँसम्म त दिएकै छन् मेडम, अन्त त हजुरको यो दिउँसै पिउने बानीले त्यस्तो केही गरिखानसमेत कठिन होला ।”

आँचल मुर्मुरिएकी थिइन् नै, भनिन्, “बुवा–मामुको तीर्थयात्राको बस सरयूले नबगाएको हुन्थ्यो भने आज म बाबाको काखमा घोप्टेर रुने थिएँ, एक्ली छोरी हुनुको व्यथा अहिले भोग्दै छु, एक्लै छु, नितान्त एक्ली ।”

“के भन्या होला ? सास्र्वाउँदो पोइ हिँ छु, त्यति मीठो बोल्ने मैना चरीजस्तो छोरी छे,” मनमनै यत्ति बोले । मुखबाट चैं ‘अरू कोही नभए पनि प्रिया त छे त !’ फुस्कियो प्रेमराजको । हो यहाँनेर दुवैको कुरो एकोहोरियो । अब दुवैले प्रियाको लागि जीवन जिउने भए, आँचलले ‘मोरो देश’ नभन्ने भइन् तर प्रेमराजले छोरीको सुन्दर भविष्यका खातिर देशको दैलो नरुँग्ने भए ।

आँचलको विदेशी जागिरले रूप देखायो । कुनै ठूलै सेमिनारको माध्यमबाट उनी क्यानडा पुगिन्, सन् २००५ तिर । उनी आफैंले मंगलसेनमा खिचेका फोटासहितका विवरण राखेर शरण मागिन्, ‘देश चुत्थो छ, राजनीतिक–सामाजिक वातावरण दुरुह छ, विदेशी निकायका कर्मचारीहरू आँखी भएका छन्’ आदि इत्यादि भनेर । र, टोरोन्टोको कुनै एक चिनजानका नेपालीको घरमा लुकेर बसिन्, डकुमेन्ट नआउन्जेल । डकुमेन्ट पनि आयो । उनी सुरक्षित भइन् । अब पालो प्रेमराज र प्रियाको थियो । प्रेमराजले एक्सप्रेस इन्ट्रीको इमिग्रेसन फाइल गरे, सन् २००७ मा प्रियासहित टोरोन्टो उत्रिए ।

जुन दिन आँचल उनीहरूलाई लिन एयरपोर्ट आइपुगिन्, प्रेमराजले बुझिहाले— जीवनको दोस्रो इनिङ पनि त्यति सुखद हुनेछैन । आँचल हन्डर खाएरै पनि बबन्डर सिर्जना गर्न सक्ने मिजासकी थिइन् र किञ्चित फेरिएकी थिइनन् । ट्याक्सी ड्राइभरसँगको उनको व्यवहारबाट यो सब बुझिन्थ्यो । ‘हाइवेको बाटो नल्याएर घुमाउरो बाटो ल्याएर तैंले मेरो धेरै पैसा र समय बर्बाद पारिस्’ भनेर चर्चरी बाझिन् । प्रेमराजलाई निको लागेन । ‘भो छोदिदेऊ’ के भनेका थिए, उनैलाई झम्टिन आइहालिन् । पैसा मागेर विचरो कुनै एक दक्षिण एसियाली मूलको ट्याक्सी ड्राइभर थकित भयो । पैसा पाएर पुलकित त भयो तर प्रेमराजको अवस्था देखेर चकित पनि भयो ।

निश्चय नै प्रेमराज टोरोन्टो आए पनि नितान्त एकल बाबु थिए प्रियाका लागि । मनग्गे संघर्ष गरे पनि आँचलका लागि एक ‘पाखेबाहुन’ भन्दा बेसी केही बन्न सकेनन् । आँचलको एटिच्युडमा कुनै परिवर्तनको लक्षण देखिएन । काम त गर्थिन् तर उनको काम उनले चाहेजस्तो थिएन । होस् पनि कसरी ! नेपालको परिस्थितिभन्दा बेग्लै, रूपको, वैंशको, धनको, बाबा–मामुको, विद्या आदिको तुजुकसमेत पाटने पालुंगोको साग गलेझैं गलाइसकेकी एक अधवैंशे कुलती महिलालाई टोरोन्टोजस्तो कस्मोपोलिटन शहरमा उनले चाहेजस्तो सपना देख्न त छुट थियो, विपनामा त्यो पाउन गर्नुपर्ने संघर्षमा उनको न एप्टिच्युड थियो न एटिच्युड । कुनै बारमा बारटेन्डर भएर कतिन्जेल काम गरिरहन सकून् ? उनको कुण्ठा त्यसैले दिन–प्रतिदिन झांगिँदै थियो । र, मदिरा अब उनको सबैभन्दा भरोसिलो साथी बनेको थियो । प्रेमराज त उनका लागि कोही थिएनन् नै, अब प्रियासमेत प्रेमराजकी छोरी भैसकेकी थिई । सन् २०११ मार्च २३ नै त्यो दिन थियो, जब प्रेमराजले मुख खोले, “आँचल तिमी सुध्रिइनौ र अब मैले प्रियाका लागि कठोर निर्णय लिनै पर्छ । हामी छुट्टिनुमा हामी तीनैको कल्याण छ । म बरु तीन ठाउँमा काम गर्छु, एक्लै प्रियालाई पढाउँछु । तिम्रो छाया पर्न दिन्नँ । यो संसारमा असल श्रीमती नहुन छुट छ आँचल, खराब आमा बन्न छुट छैन । मैले तिमीलाई निकालेको होइन, तिमीले मलाई कहिल्यै आफूसँग राखिनौ ।”

कक्षा ९ मा पढ्दै गरेकी छोरी प्रियालाई उसैको कोठामा गएर सोधे, “प्रिया, म तिम्रो मामुको बन्धनबाट मुक्त हुने भएँ । आशा छ, तिमीले मेरो निर्णयमा साथ दिनेछौ ।”

“अफकोर्स बाबा, मामु कहिल्यै मसँग थिएन, हजुर नै हो मेरो बाबा पनि, मामु पनि । आई एम विथ यु, लेट्स गो ।”

आँचललाई लाग्यो— यो धम्की हो । आजको रात कसैका शरणमा बिताए पनि भोलि फर्किनेछन् । त्यो भोलि उनीहरूको जीवनमा फेरि कहिल्यै आएन ।

० ० ०

आँखाभरि विगत छछल्काएर डायरी मुसारिरहेका प्रेमराजले अर्को पाना पल्टाए— आज २०१७ जुलाई ४ । लेखिएको थियो, “मैले नेपालबाट र क्यानडाबाट समेत कानुनी रूपमै आँचलबाट मुक्ति पाएको ठीक २ वर्ष भयो । आजै मलाई प्रियाले एक खुशी दिई । उसले विश्वविद्यालयमा ब्याचलर्स इन सोसल वर्कको तेस्रो वर्ष सकी र चौथो वर्षका लागि फुल स्कलरसिप पाएको खबर सुनाई । अनन्तसम्म खुशी छु ।”

त्यसै दिन थ्री बेडरुम बंगलोको लिभिङ रुममा प्रियाले सुझाएकी अर्को सुझावले भने प्रेमराजको आँखा थामिएन । प्रियाले भनी, “बाबा, आई ह्याभ सिन यु गोइङ थ्रु सो मेनी थिंग्स इन योर लाइफ । हजुरले मेरो लागि सबै त्याग्नुभएको छ । आफ्नो जीवन जिउन पाउनु हरेक मान्छेको हक हो । मलाई थाहा छ— हजुर जीवनको फिफ्टिजमा हुनुहुन्छ । म देख्दै छु, मैले मेरो जीवन जिउनसमेत हजुरलाई मुक्ति दिनुपर्छ । बाबा, अब बाँकी त बीस– पच्चीस वर्ष होला तर लिभ योर रिमेनिङ लाइफ इन फुल । भरपूर आफ्नो लागि बाँच्नुहोस् । अबका दिन हजुरलाई असहज होलान् । बरु म त भन्छु, बिहे गर्नुस् । सक्दा नेपाली नै गर्नुस्, नसक्दा जोसँग गरे पनि हुन्छ । यो शारीरिक वा यौनिक आवश्यकताभन्दा पनि सहाराको लागि आवश्यक छ । बाबा, मैले गर्ने सम्मानमा, स्नेहमा र प्रेममा हजुरको बिहेले कुनै अन्तर आउनेछैन, प्रमिस !”

करिब ३५ वर्षअघि नमुना मच्छिन्द्र क्याम्पस पढ्दा आँखा जुधेकी बिमला पहरीसँग प्रेमराजको फेसबुक कन्ट्याक्ट थियो । एकल आमा बिमला र एकल बाबु प्रेमराज एक–अर्कालाई साथ दिन सहमत भए । प्रेमराज नेपाल गए, सन् २०१८ जनवरी १३ मा । १६ मा बिहे गरे र २३ मा फर्किए । त्यही साल जुन २८ मा बिमला एकथान पीआर र एकमात्र छोरा बिजेश लिएर टोरोन्टो झरिन् ।

आज जुन १६, २०१९ । इन्टरन्यासनल फादर्स डे । प्रिया र बिजेश मिलेर बाबालाई लिन आए, सप्र्राइज पार्टी राखेका रहेछन् । टोरोन्टोको कर्माज किचेनमा डिनर खुवाए । मम, सुकुटी र चाउमिन भरपेट खाए प्रेमराजले । स्वाद उतैको, ‘पाटन हस्पिटल अगाडिको, छिरिङको होटेलको जस्तो लाग्यो’ भने । बिमलालाइ अचम्म लागेछ, सोधिन्, “तिमी पाखेबाहुनहरू पनि जान्थेऊ छिरिङको होटेलमा ?”

प्रियाले कोर्स करेक्ट गरिदिई, “बाबालाई कुनै शब्दसँग सबैभन्दा घृणा छ भने त्यो ‘पाखेबाहुन’ भन्ने शब्दसँग छ । त्यसले बाबालाई विगतमा पु¥याउँछ । बाबाले लुकेर रोएको देखेकी छु मैले । सानोमामु, यु आर ग्रेट बट टु बी इभन ग्रेटर, प्लिज त्यो शब्द फेरि नदोहो¥याउनु होला ।”

तत्कालै बिमलाले नदोहो¥याउने वाचा गरिन् ।

अचेल म देख्छु, प्रेमराज आइरन गरेका लुगामात्र लगाउँदैनन्, दिनहुँ दाह्री फाल्छन् । तिलचामले केशमा मेहन्दी लगाउन थालेका छन् । टाढा–टाढा हेरेर झोक्राउँदैनन् । अनुहारमा चमक फर्केको छ । सामाजिक सञ्जालमा समेत सकारात्मक कुरा लेख्ने गर्छन् । 
केही सीमित प्रेमका कथा यस्ता पनि हुन्छन् ।

(जुन १७, २०१९)