पाल्पा, असार ३
माथागढी गाउँपालिकाले गाउँका आठवटै स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाएको छ । माथागढीले सुत्केरी सेवा, ल्याब सेवा, औषधी वितरण तथा उपचारात्मक तथा प्रवद्र्धनात्मक सेवालाई निशुल्क र नियमित गरेको हो ।
माथागढी गाउँपालिकाले आईतबारबाट सबै स्वास्थ्य संस्थाहरुमा ल्याब सहितको सेवा दिन सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटबाट निशुल्क सुगर, रगत तथा खकार परीक्षण गर्ने गरि जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सुरु गरेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । उनले आगामी वर्षको बजेटमा समेत जनताको स्वास्थ्य सेवालाई ध्यानमा राखेर निशुल्क सेवा गर्ने गरि नीति तथा कार्यक्रम बनाईएने बताए ।
कसेनी स्वास्थ्य चौकीको ल्याब सेवा उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले जनताको निशुल्क स्वास्थ्य सेवा पाउने मौलिक हकलाई माथागढीले सम्मान गरेको बताए । उनी भन्छन्, ‘अहिलेसम्म जनताले अनुमानका भरमा औषधी खाँदै आएका थिए । अब ल्याब परीक्षण गरेरमात्र रोग पत्ता लागेपछि औषधी वितरण हुन्छ । जसले जनतालाई अन्यौलबाट मुक्त गर्दछ ।’ यस्तै प्रदेश सभा सदस्य रमा घर्तीले स्रोत र साधनको सही सदुपयोग गर्न सके तीन तहको सबै सरकारहरुबाट जनताका मौलिक हकहरुलाई पुरा गर्न सहयोग पुग्ने बताईन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार नेपालीले गाउँपालिकाले खरीद गरेर जनताको आवश्यकता अनुसार सुगर र प्रेशरका बिरामीहरुका लागि समेत निशुल्क औषधी वितरण गर्दै आएको बताए । माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यम बहादुर चिदीले गत महिनाको ३ गतेमात्र बर्थिङ्ग सेन्टर सुचारु भएको संस्थामा ल्याब सहित सेवा स्थापना गर्न पाउँदा खुसी लागेको बताए । ‘स्वास्थ्य सेवालाई व्यवस्थित बनाउनु आवश्यक छ । हामी निशुल्क औषधी अभाव हुन दिन्नौं । जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार दिन्छौं, चिदीले भने, ल्याब सेवा स्थापना भएपछि रोग पहिचान हुन्छ र सेवाग्राही तत्काल लाभान्वित हुन्छन् ।’ रुप्से स्वास्थ्य चौकीका प्रमुख राम प्रसाद अर्यालले सुविधा सम्पन्न शहरमा जस्तै गरि कुनै पनि औषधी अभाव हुन नदिई स्वास्थ्य चौकीले सेवा प्रदान गर्दै आईरहेको बताए ।
माथागढी गाउँपालिकाले एकै दिन कसेनी, रुप्से, चिदीपानी र झडेवा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरेको छ । गाउँपालिकाले अरु बाँकी स्वास्थ्य संस्थामा पनि केही दिनमै सबै सेवा दिने तयारी भएको जनाएको छ ।