२ असार, काठमाडौं । बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । ठूलो वर्षा र हावाहुरी चलेका कारण उद्धारमा कठिनाई भएको घटनास्थलमा रहेका डीएसपी सुर्यबहादुर केसीेले बताए ।

उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरिरहेको छ । उद्धारका लागि हेलिकोप्टरको प्रतीक्षा गरे पनि मौसम खराब भएकाले पुग्न सकेको छैन ।

मानिसहरु सहजै जान नसक्ने भीरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाइ भइरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

मृत्यू हुने धेरैजसो मष्टा गाउँपालिका १ कोटदेवलका रहेको हुन सक्ने स्थानीयले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।