पाल्पा, जेठ ३२
माथागढी गाउँपालिका–३, ओलेश पाल्पामा लगाईएको किवीले फल दिन थालेपछि किसान हर्षित भएका छन् । तीन वर्ष अगाडी ओलेश गाउँमा लगाईएको ८० बिरुवामा लटरम्म फल फलेपछि किसान उत्साहित भएका हुन् ।
माथागढी गाउँपालिका–३, ओलेशका कृष्ण रानाले १८ बोट किवी लगाएका थिए । उनको अधिकांश बिरुवामा लटरम्म फल लागेको छ । चार बोट भने भाले भएको कारण फल नलागेको रानाले बताए । राना भन्छन्, ‘पर्वतबाट ल्याएर बिरुवा रोपेको हो । हामीलाई यो फलका विषयमा जानकारी पनि थिएन । अहिले फल लागेपछि धेरै स्थानमा बुझ्यौं । यसका फाईदा अनेक छन् । फल महङ्गोमा बिक्रि हुने रहेछ ।’ उनले एउटै रुपमा २० किलोसम्म फल लागेको हुनसक्ने बताए । हामी यहाँ व्यवसायिक रुपमा किवीलाई विस्तार गर्ने सोंच बनाएका छौं, रानाले भने । हिरामाया सारु भन्छिन्, ‘किवी भनेको के हो ? भन्ने हामिलाई जानकारी समेत थिएन । अहिले बोटमा लटरम्म फल लागेको छ । यो महङ्गोमा बिक्रि हुन्छ भनेर एसआरडिसीको सहयोगमा लगाएका हौं ।’
सामाजिक स्रोत विकास केन्द्रले ओलेशमा किवि खेती गर्नका लागि १९ हजार रुपैयाँको बिरुवा खरीद गरि ५० प्रतिशत अनुदानमा किसानलाई प्रदान गरेको हो । केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरीले स्थानीय अधिकार कार्यक्रमबाट किसानलाई नयाँपनको अनुभूति दिनका लागि परीक्षण गरिएको बताए । उनी भन्छन्, ‘हावापानीको हिसाबले अत्यन्तै उत्तम ओलेशमा किविलाई व्यवसायिक विस्तार गर्न सकिए विपन्न जनताको आर्थिक स्थितीमा सुधार हुने थियो ।’
जिल्लामा लहरा प्रजातिको ‘किवी’ फलको खेतीले व्यावसायिक सफलता पाएको छ । माथागढीमा जस्स्त्र जिल्लाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा पनि किवीले सफलता पाएको छ । स्वादिलो र गुणकारी फल किवीको व्यावसायिक उत्पादन बढाउन कृषक आकर्षित भएका छन् ।
रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका कृषक दलबहादुर बगालेले गरेको परिक्षण खेती सफल भएपछि कृषकहरु उत्साहित भएका छन् । दलबहादुरले इलामबाट तीन वर्ष अगाडी ल्याएर रोपेको ६ बोटले फल दिन थालेका छन् । उनी भन्छन्, ‘परीक्षकको रुपमा आँफैले प्राविधिकहरुको सल्लाहमा किवीको बिरुवा ल्याएको हुँ । प्राविधिक घरमै आएर सफल भयो भन्नुभएको छ । अब व्यावसायिक रुपमा यसको खेती विस्तार गर्ने तयारी गरेका छौं ।’
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले आफ्नो गाउँपालिकाभित्र किवीको व्यावसायिक सम्भाव्यता देखिएको बताए । ‘परीक्षणका लागि देबबहादुरले ल्याएको किवीमा राम्रो फलहरु लागेको छ । गाउँपालिकामा यसको खेती विस्तार गर्न सकिने सम्भाव्यता देखिएको छ । हामी यहाँका व्यावसायिक कृषकहरुसँग कार्ययोजना बनाएर के कसरी गर्दा हुन्छ । छलफल अगाडी बढाउँछौं, जिसीले भने, गाउँपालिकाका कबुलियती वन क्षेत्रमा हुन सक्ने टिमुर तथा अन्य सम्भावित खेतीहरुका लागि हामी नर्सरी बनाएर धेरै चिज उत्पादन गर्ने सोंचमा छौं ।’
बजार मूल्य र माग अत्याधिक भएपछि कृषकको किवी खेतीतर्फ आकर्षण देखिएको छ । एक बोटमा सय किलोसम्म किवी फल्ने र वर्षदिन अगावै किवीले फल दिने गर्दछ । समुन्द्र सतहदेखि एक हजार ३ सय मिटर माथिको उचाइँमा किवी खेती हुने गरेको छ । नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किवी हो । डिभिजन वन अधिकृत मोहनप्रसाद पौडेलले जिल्लाका विभिन्न क्षेत्रमा किवी खेती विस्तार गर्न सकिने बताए । उनी भन्छन्, स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च रहेको छ । फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ ।
किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको खेती गर्न सकिन्छ नेपाली बजारमा प्रतिकिलो पाँच सय भन्दा बढीमा बिक्रि हुँदै आएको छ । नेपालमा किवीको विरुवाको माग बार्षिक २५ देखि ३० हजारसम्म रहेको छ । रोपेको ५ देखि ७ वर्षमा किवी फल्न थाल्दछ । यसले लगातार ५० वर्षसम्म फल दिन्छ ।
किवीफल सवै फलफूल भन्दा पोषिलो र औषधिय गुण समेत भएकोले धेरै महगोमा बिक्री हुने गरेको छ । यो फलमा भिटामिन सि र खाद्यरेसा अन्य फलफूलमा भन्दा धेरै छ । मुटुरोग, प्रेसर, पेट सम्वन्धि रोग तथा दमरोगको लागी उपयोगी फल हो । राम्ररी पाकेको फल खादा मिठो पनि छ । मानव शरिरलाई धेरै फाईदा हुन्छ भन्ने जानाकारी पाए पछि स्वतः यसको खपत दर वृद्धि हुदै जानेछ र जनताको पोषण स्थितिमा सुधार पनि हुनेछ । प्रति १०० ग्राम विभिन्न फलफूलले दिने खाद्य शक्तिको दाँजो गरिएको पिरामिड देखिाईएको छ । जस अनुसार अन्य फलफूलले दिने शक्ति भन्दा १६ गुना वढी किवीफलले दिएकोे अध्यायनवाट पुष्टी भएको छ । किवीफल नेपालका पहाडी कृषकहरुको लागि आर्थिक उन्नति र पोषण सुधार गर्ने राम्रो अवसर हो ।